१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थापित उम्मेदवारमाथि नयाँ हाबी

प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै गर्दा ललितपुर ३ बाट प्रतिनिधिसभाका लागि राजनीतिक दल तथा स्वतन्त्रतर्फका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन्।

ललितपुर महानगर र गोदावरी नगरपालिकाका केही वडासम्म फैलिएको उक्त निर्वाचन क्षेत्रमा सत्तारूढ गठबन्धनबाट बहालवाला ऊर्जामन्त्री पम्फा भुसालले उम्मेदवारी दिएकी छन्। उनी निवर्तमान सांसद पनि हुन्। त्यस्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेका तर्फबाट अमृत खड्काले उम्मेदवारी दिएका छन्। उनी हस्तकला व्यवसायी हुन्।

प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न पार्टी तथा स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिए पनि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवार बनेकी डा. तोसीमा कार्की अहिले चर्चाको शिखरमा छिन्। मेडिकल डाक्टर तोसिमा आफूले गरिरहेको पेसा छाडेर निर्वाचनमा उठेकी हुन्। निर्वाचन आयोगले उनको उम्मेदवारी खारेजी गरिदिए पनि सर्वाेच्च अदालतले उनको उम्मेदवारीलाई निरन्तरता दिएपछि उनी चर्चामा आएकी हुन्।

चर्चाका हिसाबले तोसिमा बहालवाला मन्त्री भुसाल र एमाले उम्मेदवार खड्कामाथि पनि हाबी भइरहेकी छन्। तथापि त्यस क्षेत्रमा सत्ता गठबन्धनको उपस्थिति, उम्मेदवारी दिएका व्यक्ति स्थानीय वा बाहिरिया भन्ने पेचिलो विषय, नयाँ दल र उम्मेदवारप्रतिको आकर्षण तथा उम्मेदवारले उठाएका एजेन्डाका कारण निर्वाचन परिणाममा को हाबी हुन्छ भनेर पूर्वानुमान गरिहाल्ने अवस्था देखिँदैन।  

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी पम्फा भुसाल यसअघि २०६४ र २०७४ मा गरी दुई पटक सांसद बनिसकेकी छन्। माओवादी केन्द्रकी उपमहासचिवसमेत रहेकी उनले २०६४ मा एमाले उम्मेदवार रघुजी पन्त र २०७४ मा कांग्रेस उम्मेदवार मदनबहादुर अमात्यलाई पराजित गरेकी थिइन्। यसअघिको निर्वाचनमा एमालेसहितका वाम गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवारलाई पराजित गरेकी उनले यसपटक भने कांग्रेस नेतृत्वको सत्ता गठबन्धनका तर्फबाट निर्वाचन लड्दैछिन्।

यसपटक उनका मुख्य प्रतिस्पर्धी एमाले उम्मेदवार खड्का छन्। भुसाल आफू संसद्मा निर्वाचित भएर गएपछि ललितपुर ३ मा धेरै राम्रा काम गरेकाले अहिले पनि त्यस क्षेत्रका जनताले आफूलाई विजयी गराउने दाबी गर्छिन्। आफू सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार भएकाले निर्वाचन माहोल आफ्ना पक्षमा रहेको उनको तर्क छ। निर्वाचन प्रचारका क्रममा सम्बोधन गर्ने क्रममा उनले ललितपुर ३ का जनता आफूसँग खुसी भएकाले तेस्रोपटक पनि आफ्नै जित हुने बताउने गरेकी छन्।

एमालेका तर्फबाट उम्मेदवार बनेका अमृत खड्का पेसाले हस्तकला व्यवसायी हुन्। रोजगारीको सुनिश्चितता र अर्थतन्त्र सुधारलाई प्रमुख मुद्दा बनाएका उनी राजनीतिलाई व्यवसाय ठान्ने प्रवृत्तिविरुद्ध आफ्नो उम्मेदवारी परेको बताउँछन्। आफ्नो निर्वाचन क्षेत्रमा रहेका खानेपानी समस्याको समाधान, युवा पलायन रोक्ने, भ्रष्टाचार अन्त्य तथा स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका खड्का आफूले उठान गरेका निर्वाचन अजेन्डाको प्रस्ट खाका पनि तयार पारेको बताउँछन्। उनी निर्वाचनबाट विजयी भएपछि त्यसलाई कार्यान्वयन गर्ने बताउँछन्।

‘म दूरदृष्टि राख्ने मान्छे हुँ। त्यसका अलावा मसँग नीति निर्माणसम्बन्धी विज्ञता पनि छ। जनताबाट निर्वाचित भए पनि मैले आफ्नो ज्ञान र क्षमतालाई कसरी प्रयोग गर्न सकिन्छ भन्ने प्रस्ट खाका तयार पारेको छु,’ उनले भने। खड्का आफ्ना प्रतिस्पर्धीहरूमध्ये कतिपयले राजनीतिलाई नै व्यवसाय बनाएको र कतिपयले आफूसँग भएको पेसालाई पनि छाडेर राजनीतिमा लागेको तर आफू भने व्यवसायमार्फत युवाहरूलाई रोजागारीका अवसरहरू प्रदान गरिरहेका कारण अरूभन्दा फरक रहेको बताउँछन्। ‘मसँग रोजगारीका अवसर कसरी सिर्जना गर्न सकिन्छ। अर्थतन्त्रको सुधार, शिक्षा, स्वास्थ्य क्षेत्रमा कसरी सुधार गर्न सकिन्छ भन्ने अनुभव र योजना छन्। त्यसैले म अरूभन्दा फरक छु,’ उनले भने।

निर्वाचन आउनुअघि पनि आफ्नै खर्चमा विभिन्न सामाजिक काम तथा सम्पदा संरक्षणका काम गरिरहेको बताउँदै उनले निर्वाचित भएर गएपछि व्यवस्थित ढंगले काम गर्ने बताउँछन्। आइटी पार्टको निर्वाणदेखि नेवार संस्कृतिको संरक्षणलगायत विषय पनि आफ्नो प्राथमिकतामा रहेको उनी बताउँछन्। खड्का पछिल्लो समय हरेक क्षेत्रमा निराशा बढ्दै गएको र योजनाबद्ध रूपमै निराशा फैलाउने प्रतिस्पर्धा भइरहेको बताउँदै त्यसलाई चिर्दै आशा जगाउन आफूले काम गर्ने बताउँछन्।

निर्वाचन आयोगले दर्ता खारेज गरिदिए पनि अदालतले निरन्तरता दिएपछि चर्चामा आएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार कार्की स्वास्थ्य क्षेत्रका मुद्दालाई केन्द्रमा राखेर निर्वाचनमा होमिएकी छन्। पेसाले चिकित्सक उनी स्वास्थ्यसम्बन्धी समस्यालाई नीति निर्माण तहबाटै सम्बोधन गर्न आफूले पहल गर्ने बताउँछिन्। त्यसका अतिरिक्त उनी स्वास्थ्य बिमालाई व्यवस्थित गर्दै लागु गर्नेदेखि वडास्तरसम्म चिकित्सकको व्यवस्था गर्ने तथा आफ्नो निर्वाचन क्षेत्रमा रहेका खानेपानी, सडक र रोजगारीका समस्यालाई पनि सम्बोधन गर्ने बताउँछिन्।

कार्की जनतामा राजनीतिप्रति वितृष्णा बढ्दै गइरहेकाले आफू सम्मानित पेसामा हुँदाहुँदै पनि राजनीतिमा आउनुपरेको बताउँछिन्। कार्की आफूले युवा पुस्ताको प्रतिनिधित्व गर्ने, व्यक्तिगत लाभका लागि आफ्नै पेसामा रहेर पनि धेरै गर्न सक्ने अवस्था रहे पनि देशको बिग्रँदो अवस्थाका कारण राजनीतिमा लागेकाले जनताले आफूलाई नै निर्वाचित गरेर पठाउने विश्वास व्यक्त गर्छिन्। उनी आफ्नो उम्मेदवारीले ललितपुरमा मात्र नभएर देशभित्र र देशबाहिर रहेका नागरिकमा उत्साह जगाएको र त्यो उत्साहलाई निरन्तरता दिन पनि ललितपुरका जनताले आफूलाई निर्वाचित गराउने उनी बताउँछिन्।

गत वैशाख सम्पन्न स्थानीय तहको निर्वाचनमा ललितपुर ३ बाट नेपाली कांग्रेसले १८ हजार ५४५, एमालेले १७ हजार ७०९, माओवादी केन्द्रले ७ हजार ७२७, एकीकृत समाजवादीले ५ हजार १२९ तथा राप्रपाले ४ हजार ३४२ मत प्राप्त गरेका थिए।

प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट सत्ता गठबन्धन, प्रमुख प्रतिपक्षी एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), मौलिक जरोकिलो पार्टी, हाम्रो नेपाली पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेसनलिस्ट पिपल्स पार्टी, आमूल परिवर्तन मसिहा पार्टी नेपाल, जनता समाजवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी तथा नौ जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दिएका छन्।

प्रकाशित: २८ कार्तिक २०७९ ०२:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App