७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

हिमाली क्षेत्रमा मतदाताका घरमा ताल्चा

हिमालपारिको जिल्ला मुस्ताङको माथिल्लो लोमान्थाङ।

हिमालपारिको जिल्ला मुस्ताङका प्रदेशसभा सदस्य उम्मेदवार इन्द्रधारा विष्ट अहिले चुनावी प्रचारमा छन्। तर, आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई भेट्न विष्टलाई निकै नै हम्मेहम्मे भएको छ। मतदाता भेट्न घरघरमा पुग्दा ढोकामा ताल्चा लागेको उनले भेटेका छन्। त्यो पनि एकाध मतदाताका घरमा नभई अधिकांश मतदाताका घरका ढोकामा भोटेताल्चा लागेको फेला पारेपछि विष्टलाई तनाव छ।  

चिसो मौसम सुरु भएको छ। हिमाली भेगमा अहिलेसम्म खासै हिमपात नभए पनि चिसो भने बढेको छ। चिसो बढ्न थालेपछि हिमाली जिल्लाका माथिल्लो भेगका बासिन्दा जाडो छल्न तल (पोखरा, काठमाडौं) झरेपछि गाउँ रित्तिदै गएको छ। घरमुलिले घरमा ताला ठोकेर चिसो छल्न बसाई सरिसकेका छन्। मतदाता नै बसाइँ सरेपछि चुनावी दौडामा रहेका उम्मेदवारलाई मतदाता भेट्न निकै नै सकस भएको हो।  

‘मतदाता भेट्न घरमा जाँदा ढोकामा भोटेताल्चा झुन्डिएको फेला पा¥यौ। गाउँका बासिन्दा चिसो छल्न सहर झरिसकेका छन्, मतदान गर्न फर्किए त हुन्थ्यो,’ विष्टले भने, ‘मतदाता भेट्नै गाह्रो भयो। गाउँ रित्तै हुँदै जाँदा झनै चुनावका दिनसम्म त बचेखुचेका गाउँले पनि झर्ने त्रास भयो।’ चिसो बढे लगत्तै हिमाली भेगका बासिन्दाको बसाई सर्ने नियमित तालिका हो। कात्तिक लागेपछि हिमाली भेगका माथिल्लो क्षेत्रका बासिन्दा बसाई सरेर पोखरा, काठमाडौं, चितवन लगाउतका सहरमा झर्छन। कतिपय भारत पस्छन्। तल झरेका उनीहरूमध्ये केहीले घुम्ती व्यवसाय गर्छन भने भारत पसेका कतिपय रोजगारमा पस्छन्। कात्तिकमा तल झरेका उनीहरू चिसो कम हुँदै गएपछि फागुन लागेपछि मात्र गाउँ फर्किन थाल्छन्।

‘अहिलेसम्म ७० प्रतिशत जति मतदाता तल झरेका रहेछन्। चुनावमा भोट हाल्न गाउँ फर्केलान की भन्ने आशा छ,’ विष्टले भने, ‘मतदातालाई घर फर्किन पनि भनेका छौ। अहिले त मतदाताका घरमा ताला लागेको छ। भेट्न भनेर घरमा पुग्यो, घरमा ताला लागेपछि निरास भएर फर्किनुपरेको छ।’ मतदाताले निर्वाचनमा मत दिने आफ्नो अधिकार सम्झेर चुनावमा गाउँ फर्किनेमा आफु आशावादी रहेको उनले सुनाए। ‘भोट दिन त पक्कै फर्केलान्। मतदाताले पनि आफुलाई जिम्मेवार ठान्छन होला,’ उनले भने, ‘मताधिकार उनीहरूको अधिकार पनि हो। त्यसैले मतदाताले आफैले आफूलाई जिम्मेवार ठान्नेछन् भन्ने विश्वास हो।’ मुस्ताङमा सबैगरि १० हजार ९ सय ५७ जना मतदाता रहेका छन्।  

मुस्ताङको माथिल्लो भेग लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङ पनि गाउँ रित्तिदै गएको बताउँछन। उनका अनुसार गाउँका विद्यालय पनि बन्द भएका छन्। बन्द भएका विद्यालय पोखरा झरिसकेका छन्। मुस्ताङबाट पोखरा झरेका ती विद्यालयललाई पोखरामा घुम्ती विद्यालयको रूपमा संचालन गरिन्छ। कात्तिक लागेपछि विद्यालय तल झरेसँगै बालबालिकाका अभिभावक पनि गाउँ छाड्ने उनले बताए।

‘चुनावी प्रचारप्रसार उत्तिसारो देखिएको छैन। अहिलेसम्म गाउँका करिब ७५ प्रतिशत बासिन्दा तल झरिसकेका छन्,’ उनले भने, ‘माथिल्लो क्षेत्र सुनसान बनिसकेको छ।’ उनका अनुसार माथिल्लो भेगमा पर्ने लोमान्थाङ र लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका मतदाता अहिले तल झरिसकेका हुन्। ‘चिसोका कारण गाउँ छाडेका ती मतदाता चुनावमा भोट खसाल्न फर्केलान वा नफर्केलान् भन्न सकिन्न। केही त फर्केलान्, धेरैजसो फर्किंदैनन्,’ उनले भने, ‘अहिले त गाउँ नै सुनसान बनिसकेको छ। चुनाव आउन अझै केहीदिन बाँकी रहँदा गाउँ झनै सुनसान हुनेछ।’

यो सिजनमा अहिलेसम्म हिमपात नभएकोले गर्दा पनि केही अझै गाउँमै रोकिएको र हिमपात वा वर्षा भए गाउँमा रोकिएको धेरै गाउँले चुनावसम्म पनि पर्खिने अवस्था नरहने अध्यक्ष गुरुङले बताए। ‘भोट खसाल्न गाउँ फर्किन पर्छ। अहिले हिमपात त भएको छैनन्। चिसो बढ्नासाथ मान्छे तल झर्ने हुन्,’ उनले भने, ‘हिउँ वा पानी प¥यो भने त रोकिएका अरू गाउँले पनि चुनावका दिनसम्म तल झर्नेछन्।’ गाउँमा अहिले धेरै हिडडुल गर्न नसक्ने वृद्धवृद्धा र केही बलिया युवा मात्र छन्। बालबालिकासँगै अधिकांश महिला तल झरिसकेको अध्यक्ष गुरुङले बताए।

अर्काे हिमाली जिल्ला मनाङमा भने अझैसम्म हिउँ नपर्दा गाउँमै मतदाता रोकिएका छन्। तर, पानी र हिउँ परेको खण्डमा रोकिएका मतदाता तत्कालै तल झर्ने मनाङको माथिल्लो भेग नार्पा भूमि गाँउपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले बताए। ‘चिसो छल्न त झर्छन् नै, अहिलेसम्म हिमपात नभएकाले पनि रोकिएका हुन्। तर, हिमपात भयो भने गाउँलेहरू घर छाड्न थाल्छन्,’ उनले भने, ‘निकै नै कम संख्यामा अहिले मतदाता तल झरेका छन्। चिसो बढ्नासाथ अरू थपिनेछन्।’  

चुनाव पनि परेको र हिउँ नपरेकोले अहिले मतदाता रोकिएको उनले बताए। ‘हिँउ प¥यो भने बसिसाध्य हुँदैन। त्यसपछि त नझरि सुखै हुँदैन,’ उनले भने। हिमाली भेगका कतिपय मतदाताको बसाई पोखरा, काठमाडौं लगायता सहरमा रहेकोले उम्मेदवारले ती मतदातालाई भेट्न सहरमै घरदैलो पनि गर्दै आएका छन्। नार्पा भूमिका करिब ५० जना मतदाता काठमाडौंमा रहेको उनले बताए।

प्रकाशित: २७ कार्तिक २०७९ ०२:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App