७ वैशाख २०८१ शुक्रबार
राजनीति

अशोक राईलाई भोट माग्दै ओलीले भने: कोशीकाे पानी ल्याएर धरानलाई खुवाउछौं

तस्बिर: रोहित राई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुनसरी क्षेत्र नं १ बाट साझा उम्मेद्वार अशोक राईलाई जिताउन स्थानीय नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।  

आफ्नै पुर्वसहकर्मी नेता राईलाई जिताउन नसके एमालेको बेइज्जत हुने भन्दै ओलीले उम्मेद्वार राई पार्टीमा नफर्किए पनि एमालेको संगत मात्र गरेपनि जितिन्छ भन्ने प्रमाणित गर्नुपर्ने बताए। शुक्रबार धरानको गीता मन्दिरमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने,‘एमालेमा उपाध्यक्ष भएर काम गर्नुभएको नेता हो अशोक राई। उनी एमालेमा अहिले नभएपनि जसपासँग तालमेल भएको छ, र एमाले भइएन भनेपनि संगत मात्र गर्दा पनि जितिन्छ भन्ने देखाउनुपर्छ। उनलाई जिताउन सकिएन भने एमालेको बेइज्जत भएन ?’

अध्यक्ष ओलीले बाटो विराएर नेकपा एसमा गएका नेता, कार्यकर्ताहरुलाई पनि पार्टीमा फर्कन आह्वान गरे। अहिले माओवादी केन्द्र, नेकपा एस पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको भन्दै ओलीले ती पार्टीहरु रित्तिन लागेको पनि बताए। ओलीले पछिल्लो समय धरानले बाटो विराएको, अलमलिएको जस्तो देखिएको भन्दै पार्टीहरुको योगदान र इतिहास धरानले विर्सन खोजेको हो कि भन्दै प्रश्न पनि तेस्र्याए। उनले भने,‘धरान ऐतिहासिक ठाउँ हो। पुर्वप्रधानमन्त्री मनमोहन अधिकारीले जित्नुभएको ठाउँ हो। अहिले त धरान कता कता बाटो विराएको जस्तो, अलमलिएको जस्तो भएको छ। कल्लालाई छान्नुपर्ने, चुन्नुपर्ने भनेर धरानले विर्सन खेजेको हो कि ? पार्टीहरुको इतिहास, योगदान विर्सन खोजेको हो कि ? धरानका जनताको स्मरण शक्ति कमजोर छ भन्ने मलाई लाग्दैन।’

पुर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले अब बन्ने एमालेकै सरकारले कोशीबाट पानी ल्याएर धरानको खानेपानी समस्याको दीर्घकालिन समाधान गर्ने बताए। नगरको बजेटले उक्त योजना सम्भव नहुने भन्दै ओलीले त्यसको लागि राष्ट्रिय बजेट, राष्ट्रिय योजना आवश्यक भएको पनि बताए । मेयर चुन्ने बेला धरानबासीले गल्ती गरेको भन्दै ओलीले कोशीको पानी ल्याएर एमालेको सरकारले खुवाउने भएकोले ढुक्क हुन आग्रह गरे। ‘यो आयोजना नगरको बजेटले हुदैन। म केही भन्दिन, छान्ने बेला (मेयर) आँखा देख्नुभएन, अहिले भनेर हुन्छ ?’उनले भने,‘तर मंसिर ४ आइहाल्यो, त्यसकारण धेरै आत्तिनु पदैन। एमालेको सरकार बन्छ, र हामी आयोजना शुरु गछौं। कोशीको पानी ल्याएर खुवाउछौं।’

ओलीले तमोरको पानी पनि ल्याएर धरानलाई खुवाउन सकिने बताए। तमोरको पानी पम्पिङ गरेर डाँडामा विशाल ट्यांकी बनाएर राख्ने वा टनेल बनाएर मेलम्ची जस्तो ल्याउन सकिने ओलीको भनाई थियो। ‘त्यो पनि हेर्नुपर्ने हुन्छ। त्यो सर्वे पनि हामी गराउछौ,’ओलीले भने,‘जे होस्, चाहे डाँडो कटाएर होस, चाहे डाँडो छेडेर होस्, जसरी पनि धरानलाई पानी पर्याप्त पुग्ने गरि पानी खुवाउछौं। खुवाउछौं मात्र होइन, यहाँको छेउका खेलाहरु बग्ने गरि पानी आउछ।’

प्रकाशित: २५ कार्तिक २०७९ १२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App