१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

धनुषा २ः सातौं पटक चुनावी मैदानमा उत्रिए झा, पुरानै दुई प्रतिस्पर्धी, गंगारामको इन्ट्री

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा तीन जना पूर्वमन्त्री दोस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। यहाँ सत्तारुढ नेपाली काँग्रेसको नेतृत्वमा रहेको पाँच दलीय गठबन्धनबाट नै दुई पूर्वमन्त्री दोस्रो पटक आमने-सामने भएका छन्।

काँग्रेसका रामकृष्ण यादव र माधवकुमार नेपाल नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी)का रामचन्द्र झा चुनावी मैदानमा उत्रेका हुन्। काँग्रेसका रामकृष्णले नेकपा (माओवादी केन्द्र) र लोकतान्त्रिक समाजवादीको साथ पाएका छन् भने एकीकृत समाजवादीको रामचन्द्र एक्लै प्रतिस्पर्धामा उत्रेका छन्। दुवै दलका उम्मेदवारले एकअर्कालाई नछाड्ने अडानमा अडकिएपछि गठबन्धनभित्रै मैत्रीपूर्ण प्रतिस्पर्धा गर्ने सहमति भएको छ।

त्यस्तै अन्य क्षेत्रमा एमाले र जसपाको गठबन्धन भएपनि यहाँ गठबन्धन भएको छैन। दुवै दलबाट उम्मेदवारी परेको छ। एमालेले लोकतान्त्रिक समाजवादी पार्टी त्याग गरेर एमाले प्रवेश गरेका पूर्वमन्त्री उमांशकर अरगरियालाई उम्मेदवार बनाएको छ। जसपाले एमाले त्याग गरी जसपा प्रवेश गरेका पुराना एमालेका नेता गंगाराम यादवलाई प्रतिस्पर्धामा उतारेका छन्।

एमाले क्षेत्रीय कमिटीले प्रतिनिधिसभा सदस्यमा टिकटको लागि गंगारामको नाम सिफारिस गरेपनि चुनावको मुखमा लोसपाका उमांशकरलाई टिकट दिने प्रतिबद्धतासहित एमालेमा प्रवेश गराएको थाहा पाएपछि उनी जसपामा प्रवेश गरेका थिए। २०७४ सालको निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपालको तर्फबाट उम्मेदवारी दिएका उमांशकर अरगरिया निर्वाचित भएका थिए।

अरगरिया यस क्षेत्रका निवर्तमान सांसद हुन्। उनले ३२ हजार ४४ मत ल्याएर निर्वाचित भएका थिए भने माओवादी केन्द्रको तर्फबाट एमाले–माओवादीको संयुक्त उम्मेदवार बनेका रामचन्द्र १८ हजार ७१५ मत ल्याएर दास्रो भएका थिए। तेस्रो स्थानमा रहेको कांग्रेसका रामकृष्णले १५ हजार ४४२ मत पाएको थियो। २०७४ को निर्वाचनमा प्रतिद्वन्द्वी भन्दा झण्डै दोब्बर मत ल्याए निर्वाचित भएका अरगरियालाई यसपटक चुनाव जित्न सजिलो छैन।

त्यतिबेला मधेस आन्दोलनको रापताप र मधेसवादी दलको चुनावी मोर्चाबन्दीले अरगरियाको जितलाई सहज बनाइएको थियो। तर यसपालि मधेस आन्दोलनको रापताप मात्र सेलाएको छैन। मधेसवादी दल दुई कित्तामा विभाजित भएको छ। उनी आफैं पनि कित्ता फेरिएको छ। उनी गत असोज ८ गते मधेसवादी त्याग गरी एमालेमा प्रवेश गरेका थिए। अहिले एमालेबाट उम्मेदवारी दिएको छ।

यसपटक एमालेबाट चुनाव जित्न उनको लागि चुनौतीपूर्ण बनेको छ। कारण हो उनको विरुद्धमा एमाले पृष्ठभूमीका दुई जना पुराना दुई नेता उम्मेदवारी दिएको छ। एमाले पृष्ठभूमि भएका हाल एकीकृत समाजवादीबाट झा र जसपाबाट गंगाराम उम्मेदवार बनेको छ। यसरी हेर्दा एमालेका मत तीन ठाउँमा विभाजन हुने देखिएको छ।

यसपालि पनि यी तीनै जना पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। यद्दपि तीन दशक लामो एमालेसँग नाता तोडेर जसपाबाट उम्मेदवारी दिएका गंगारामको इन्ट्रीले चुनावी मैदान अझै रोचक बनेको छ। गंगाराम पहिलो पटक २०५६ सालको निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएर पराजित भएपछि त्यसयता न कहिले उम्मेदवारी दिएको छ न कुनै लाभको पदमा बसेका छन्।

बेदाग अनुहार र स्वछ छवी बनाउन सफल रहेका गंगाराम प्रति मतदाताको सहानुभूति मत जाने सम्भवना रहेको छ। एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका रामचन्द्र झा एमाले–माओवादी हुँदै सातौं पटक प्रतिस्पर्धामा उत्रेका छन्। ६ वटा निर्वाचनमा उम्मेदवारी दिएका झा दुई पटक निर्वाचित र चार पटक पराजित भएका छन्। पञ्चायती व्यवस्थाको विरोध गर्दै कम्युनिष्ट पार्टीबाट राजनीतिक यात्रा सुरु गरेका उनी बहुदलपछि पहिलोपटक २०४८ सालको निर्वाचनमा उम्मेदवार बनेको थियो।

तर, नेपाली काँग्रेसकी नेतृ लिला काइरालासँग पराजित भएका थिए। २०५१ सालको निर्वाचनमा काँग्रेसका शिबधारी यादवलाई पराजित गरी सांसद बनेका थिए। २०५६ मा काँग्रेस स्मृतिनरायण चौधरीसँग पराजित भएका थिए भने २०६४ सालको संविधानसभाको निर्वाचन माओवादीका जोग कुमार बरबरिया ( श्रवण) लाई पराजित गरी संविधानसभा सदस्य बनेका थिए।

झा २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा काँग्रेसका दिनेशप्रसाद प्रसैला यादवसँग पराजित भएका थिए भने २०७४ सालको आम निर्वाचनमा संघीय समाजवादी फोरम ( हाल) एमालेका उम्मेदवार उमांशकर अरगरियासँग। झा २०७० र २०७४ सालको निर्वाचनमा माओवादीबाट उम्मेदवार बनेका थिए।

काँग्रेसका उम्मेदवार रामकृष्ण २०६४ र २०७० मा भएको दुई वटै संविधानसभा निर्वाचनमा माओवादीको उम्मेदवारलाई पराजित गरी निर्वाचित भएका थिए भने पछिल्लो निर्वाचनमा पराजित भएका थिए। झा आफू निर्वाचित भएका दुई वटै कार्यकालमा धनुषाको पूर्वी क्षेत्रमा विकासको लहर ल्याएको दाबी गर्छन्।

‘पहिलोचोटी निर्वाचित हुँदा धनुषाको पूर्वी क्षेत्रमा विकास निर्मांणको अधारशिला राख्यौं, कमलामा तटबन्ध निर्माण र पुर्वी क्षेत्रलाई सदरमुकामसँग जोड्ने ठूला-ठूला पुल निर्माणको लागि मनमोहन अधिकारी नेतृत्वको सरकारको पालामा आफूले बजेट पास गराएको उनी बताउँछन्।’ उनले भने, ‘अहिलेपनि धनुषाको पूर्वीक्षेत्रमा भएको विकास निर्माणको कामबाट मैले गरेको काम माइन्स गरिदियौं भने पूर्वीक्षेत्र अन्धकार हुन्छ मैले यस क्षेत्रको लागि गरेको कामनै मेरो जित्ने अधार हो।’ दोस्रोपटक पहिलो संविधानसभामा निर्वाचित भएपछि प्रचण्ड नेतृत्वको सरकारमा झा स्थानीय विकासमन्त्री बनेका थिए।

स्थानीय तहको मत परिणाम अनुसार काँग्रेसका उम्मेदवार बलियो

धनुषा–२ मा ७ वटा पालिकाको ४४ वटा पर्छ। कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, औरही गाउँपालिका, शहिदनगर नगरपालिका, बिदेह नगरपालिकाको १ देखि ८ सम्म, हंसपुर नगरपालिकाको १,४,६ र ९ नम्बर वडा र जनकपुरधाम उपमहानगरपालिकाको १७ र १८ नम्बर वडा यस क्षेत्रमा पर्छ।

कमला नगरपालिका र हंसपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस जितेको छ भने एमाले बिदेह नगरपालिका र औरही गाउँपालिकाको प्रमुखमा जित निकालेको छ। जसपाले शहिदनगर नगरपालिका र जनकनन्दनी गाउँपालिकामा जितेको छ। यस क्षेत्रमा दुई वटा वडा पर्ने जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्रले जितेको छ।

वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत अनुसार काँग्रेस अगाडि छ। काँग्रेसले २१ हजार २३२, जसपाले १३ हजार ८८९, एमालेले ११ हजार ५८३ र माओवादी केन्द्रले १० हजार ७९४ मत पाएको छ। एकीकृत समाजवादीले ८ हजार ९९७, लोसपाले ६ हजार ७२३ र जनम पार्टीले ४ हजार २८३ मत पाएको छ। यहाँ माओवादी, लोसपा र काँग्रेस गठबन्धन भएको छ।

तीन वटै दलको मत जोड्दा ३७ हजार भन्दा बढी छ। यदि तीन वटै दलको मत काँग्रेसको उम्मेदवार पाइयो काँग्रेसको उम्मेदवारलाई जित्न सहज देखिएको छ। ‘पहिलो पटक देशमा बाम लोकतान्त्रिक गठबन्धन भएको छ। तीन वटै दलको मत अन्य दलको उम्मेदवार भन्दा तेब्बर हुन्छ यो नै जितको मेरो पहिलो अधार भएको कांग्रेसका उम्मेदवार बताउँछन्।’ उनले भने ‘क्षेत्रमा शिक्षा, स्वास्थ, सडकको समस्या छ, गरिबी छ। विकासको बाटो अवरुद्ध भएको छ। विगतमा जितेका प्रतिनिधिले वास्ता गरेनन्। जनताको समस्या समाधान गर्न सकेन्।’ तर भेस बदलेर फेरि आएको छ अब जनताले त्यस्ता उम्मेदवारलाई स्वीकार गर्नेछैन उनले भने ‘गत स्थानीय निर्वाचनको मत परिणाम अनुसार पनि काँग्रेस बलियो छ। मेरो जित्ने अधारनै यही हो।’

तर, एकीकृत समाजवादीका उम्मेदवारले स्थानीय तहको मत परिणामले संसदीय निर्वाचनमा खासै प्रभाव नपर्ने तर्क गर्छन्। उम्मेदवार आफ्नै प्रभाव र जनतामा गरेको काम अधारमा जनताले मत दिने उनको बुझाइ छ। ‘अन्य उम्मेदवार भन्दा मैलै नै बढी काम गरेको छु,' उनले भने, 'परिवर्तनको लागि भएको हरेक आन्दोलनमा मेरो एकाध लिटर रगत बगेको छ त्यसको मूल्यांकन यहाँ जनताले गर्छ।'

प्रकाशित: २४ कार्तिक २०७९ १२:१७ बिहीबार

धनुषा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा तीन जना पूर्वमन्त्री दोस्रो पटक चुनावी प्रतिस्पर्धामा