८ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

‘संसद् र संविधान रक्षाका लागि गठबन्धन’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानसभाबाट जारी भएको नयाँ संविधानको रक्षा र राजनीतिक स्थायित्वका लागि कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा जित्नुपर्ने बताएका छन्। नागरिक निर्वाचन बहससँग सोमबार कुरा गर्दै नेता सिंहले एमाले नेतृत्वको असंबैधानिक कदमका कारण आर्थिक विकास र समृद्धिका लागि लाग्नु पर्नेबेला कांग्रेससहितका दलहरू संविधानको रक्षामा लाग्नु परेको बताएका हुन्।  

संविधानको व्यवस्थाविपरीत केपी ओलीले दुईपटक प्रतिनिधिसभा विघटन गर्दै संविधानसभाबाट जारी संविधान नै समाप्त गर्न लागेसँगै कांग्रेस नेतृत्वमा अहिलेको गठबन्धन सरकार बनेको उनको दाबी छ। ‘यो गठबन्धन सत्तामा जान र मिलिजुली खानका लागि होइन,’ काठमाडौं–१ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिंहले भने, ‘संविधानको रक्षा गर्न र राजनीतिक स्थायित्वका लागि अहिलेको गठबन्धन आवश्यक भएको हो।’

संविधानको पूर्ण कार्यान्वयन विनै त्यसमाथि निरन्तर प्रहार भइरहेको भन्दै त्यसको रक्षासहित पूर्ण कार्यान्वयनका लागि यो गठबन्धन आवश्यक रहेको सिंहको दाबी छ। ‘मुलुक नर्मल अवस्थामा आएपछि दलहरू प्रतिस्पर्धामा जान्छन्। अहिलेको अवस्था संविधान जोगाएर देशलाई राजनीतिक स्थिरता दिनुहो,’ उनले भने,‘राजनीतिक स्थायित्व बिना तीब्र विकास सम्भव छैन ।’ अहिलेको संविधानमाथि प्रश्न उठाएर देशलाई अस्थिरतातिर धकल्ने प्रयास भइरहेको भन्दै सिंहले कांग्रेस नेतृत्वमा जारी भएको संविधानको रक्षाको नेतृत्व पनि कांग्रेसले गर्ने दाबी गरे। राजनीतिक स्थिरता बिना मुलुकको आर्थिक विकास सम्भव नभएको धारणा राख्दै उनले भने, ‘संविधान कार्यान्वयन र आर्थिक विकासमा लाग्नु पर्ने समयमा हामी संसद् र संविधान जोगाउनै लाग्नुपर्ने अवस्था आयो।’

जनअपेक्षा अनुसार काम भएन भने बहुदलीय व्यवस्थाबाट निर्ददलीय व्यवस्थामा जान नसकिने भन्दै उनले भने, ‘कामजोरीहरूलाई सुधार गर्दै अघि बढ्ने हो पछि हट्ने होइन।’

एउटा पेशामा सफल भएको व्यक्ति अर्कोमा पनि सफल हुन्छ भन्ने पनि नभएको भन्दै नेता सिंहले थपे, ‘व्यवसायमा लागेर काण्डमा फसेर फर्केकाहरूले अहिले यहाँ यो गर्छु र त्यो गर्छु भनेर कसैले पत्याउनेवाला छैन।’

प्रकाशित: २२ कार्तिक २०७९ ०१:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App