नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामचन्द्र पौडेलले आफ्नो ध्यान जनताले प्रत्यक्ष अनुभूति गर्ने र रुपान्तरणका लागि केन्द्रित भएको बताएका छन्।
तनहुँको बन्दीपुर गाउँपालिका–३ रामकोटमा चुनावी सम्पर्क कार्यालयको उद्घाटन एवं मतदाता भेटघाटमा उनले नागरिकका आकाङ्क्षा, सपना र पहिचानका लागि भौतिक संरचनाको समयानुकूल विकास गनुपर्ने भएकाले उम्मेदवार भएको बताए। स्वलम्बी, सम्पन्न र नागरिकलाई स्वतन्त्र, अधिकार सम्पन्न, आत्मनिर्भर राष्ट्र निर्माणमा योगदान दिन जरुरी रहेको उनले बताए।
“जात, लिङ्ग र भूगोलका आधारमा गरिने सबै प्रकारका विभेदबाट उन्मुक्ति दिन राजनीतिमा क्रियाशील रहेको छु”, नेता पौडेलले भने। नेपालका गरिब र निमुखा जनतालाई न्याय दिँदै जनता, जल, जमिन, जङ्गल, जडीबुटी, पर्यटन र संस्कृतिको परिचालन गरी समुन्नत गाउँ र सभ्य सहरसहितको समृद्ध नेपाल निर्माण गर्न उम्मेदवार बनेको उनको भनाइ थियो।
प्रकाशित: २१ कार्तिक २०७९ १६:०६ सोमबार