१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘उम्मेदवारको खर्च निगरानी भइरहेको छ’

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सबै उम्मेदवारको खर्चबारे निगरानी भइरहेको बताएका छन्।

आइतबार टंकप्रसाद स्मृति प्रतिष्ठान र इन्सेकले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा थपलियाले कोबाट कति खर्च भयो भनेर आयोगले पत्ता लगाउने बताए। ‘सबै उम्मेदवारको खर्च र गतिविधिबारे विभिन्न माध्यमबाट निगरानी भइरहेको छ। त्यसैले कसले कति खर्च गर्छन् भन्ने जानकारी निर्वाचन आयोगले पत्ता लगाउँछ,’ उनले भने।

थपलियाले निर्वाचन आचारसंहिता लागु गर्नुका साथै सामाजिक सञ्जाल व्यवस्थापन गरिएको बताए। ‘चुनाव गराउने भनेको आयोगले हो, सरकारले होइन। यस विषयमा दोधारमा पर्नु आवश्यक छैन,’ उनले भने, ‘१४ दिनको अवधिमा सुरक्षाको प्रत्याभूति दिने, निर्वाचन आचारसंहिता लागु गर्ने र सामाजिक सञ्जालमार्फत हुने असामाजिक कुराको व्यवस्थापन मिलाउने काम आयोगले गर्नेछ।’

सोही कार्यक्रममा उनले निर्वाचनमा मतपेटिका साटिने आशंका नगर्न पनि आग्रह गरे। प्रमुख आयुक्त थपलियाले हरेक मतपत्रको विशेष ‘कोड’ हुने भएकाले मतपेटिका साटिन सक्ने सम्भावना नभएको दाबी गरे। निर्वाचनको विश्वसनीयता कायम गर्न आयोग तयार रहेको थपलियाको भनाइ छ।

मंसिर ४ मा कुनै पनि परिचय खुल्ने परिचयपत्र देखाएर मतदान गर्न सक्ने निर्णय हुने पनि बताए। ‘आगामी चुनावमा ७५ प्रतिशत मतदान गराउने प्रयास हुनेछ,’ उनले भने। उनले निर्वाचनमा सहभागी हुने मतदाता ७० प्रतिशतभन्दा तल नझर्ने दाबी थपलियाले गरे। उनले निर्वाचन आयोगमार्फत १० हजार पर्यवेक्षक खटाइने जानकारी दिए।

कार्यक्रममा निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका चुनौतीलाई अवसरका रूपमा लिइरहेको बताए। ‘निर्वाचन आचारसंहिता निर्वाचन आयोग र राजनीतिक दलका शीर्ष नेता बसेर तयार पारिएको मन्जुरीको मस्यौदा हो,’ उनले भने।

पत्रकार युवराज घिमिरेले सहजीकरण गरेको कार्यक्रममा निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्तहरू भोजराज पोखरेल, सूर्यप्रसाद श्रेष्ठ, पूर्वराजदूत नीलाम्बर आचार्य तथा पूर्वनिर्वाचन आयुक्त दोलखबहादुर गुरुङलगायतले विगतका निर्वाचनका अनुभव र आयोगले गर्नुपर्ने कामलगायतबारे आफ्ना धारणा राख्दै आवश्यक सुझाव दिएका थिए।

प्रकाशित: २१ कार्तिक २०७९ ०२:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App