२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सहयात्रा तोड्दै पाण्डे, त्रिपाठी र कँडेल प्रतिस्पर्धामा

भूमि त्रिपाठी,राजेन्द्रप्रसाद पाण्डे र उत्तम कँडेल।

राजधानी काठमाडौंसँगै जोडिएको धादिङ १ मा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झन्डै चार दशकसम्म एउटै पार्टी र चिह्नमा सहकार्य गरेका दुई नेतासहित एउटै गाउँका तीन नेता चुनावी प्रतिस्पर्धामा छन्।  

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सँगसँगै हात जोड्दै एकअर्कालाई भोट माग्दै हिँडेका राजेन्द्रप्रसाद पाण्डे र भूमि त्रिपाठी पाँच वर्षपछि अलगअलग दलसहित एकअर्काविरुद्ध आमनेसामने भएका हुन्।  

२०७४ सालको निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार हुँदै मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका पाण्डे सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन्।  पाण्डे एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादी (नेकपा एस) का उपाध्यक्ष छन्।  त्रिपाठी एमालेबाट विपक्षी गठबन्धनको नेतृत्व गर्दै प्रतिस्पर्धामा उत्रिएका छन्।  

कम्युनिस्ट राजनीतिक पृष्ठभूमिबाट अघि बढेका पाण्डे र त्रिपाठी मात्र होइन, चार दशक वामपन्थी राजनीति गरेका वातावरण संरक्षण अभियन्ता उत्तम कँडेल पनि प्रतिस्पर्धामा थपिएका छन्।  एकै गाउँठाउँका उनीहरूले लामो समय एउटै पार्टीमा रहेर काम मात्र गरेनन्, विभिन्न जिम्मेवारी पनि निर्वाह गरे।  तर अहिले उनीहरूबीचको सहकार्य टुटेको मात्र छैन, तीनैजना एकअर्काविरुद्ध खडा भएका छन्।  

२०५४ सालको स्थानीय निकाय निर्वाचनपछि एमालेबाट जिल्ला विकास समितिको उपसभापति भएका कँडेल २०५७ सालमा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए।  केही समय भूमिगत बसेका कँडेल माओवादी शान्ति प्रक्रियामा आएपछि गठन भएको बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा कृषि सामग्री कम्पनी लिमिटेडको अध्यक्ष भएका थिए।  

राजनीतिशास्त्रमा स्नातकोत्तर पाण्डे २०३० को दशकदेखि राजनीतिमा सक्रिय छन्।  शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका पाण्डे पञ्चायती व्यवस्थामा जिल्ला पञ्चायतको सभापति पनि भएका थिए।  उनी २०४६ सालको राजनीतिक परिवर्तनपछि २०६४ मा भएको संविधानसभा निर्वाचनबाहेक सधैं जनअनुमोदित हुँदै आएका छन्।  २०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिसभा सदस्यको उम्मेदवार नबनाउने भएपछि पाण्डे प्रदेशसभा सदस्यमा झरेका थिए।  त्यसबेला एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका त्रिपाठी पार्टीको मजबुत संगठन र वाम गठबन्धनको बलमा निर्वाचित भएका थिए।  

पेसाले अधिवक्ता रहेका त्रिपाठी २०५४ सालपछि सक्रिय राजनीतिमा देखिए पनि गैरसरकारी संस्थाहरूमा पनि सक्रिय थिए।  उनीहरूसँगै धादिङ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमेश पन्तले पनि उम्मेदवारी दिएका छन्।  यसकारण पनि धादिङ १ को निर्वाचन निकै रोचक बन्दै गएको छ।  पन्त कमेडी च्याम्पियन सिजन १ का विजेता पनि हुन्  

२०७९ साल वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा दलहरूलाई प्राप्त मत हेर्ने हो भने धादिङ १ मा एमाले सबैभन्दा शक्तिशाली देखिन्छ।  स्थानीय चुनावमा ३१ हजार ३४० मत एमालेले पाउँदा नेकपा एसको पक्षमा ६ हजार ९०९ मत परेको थियो।  स्थानीय चुनावमा माओवादी केन्द्रले २१ हजार ३०३ मत पाउँदा कांग्रेसको पक्षमा १६ हजार १३१ मत परेको थियो।  सत्ता गठबन्धनमा रहेका कांग्रेस र माओवादी केन्द्रको समर्थनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका पाण्डेका लागि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने मुख्य आधार यही बनेको छ। प्रदेशसभा सदस्यका लागि धादिङ १ (क) मा कांग्रेसबाट मधुकुमार श्रेष्ठ र (ख) मा माओवादीका शालीग्राम जमरकटेललाई सत्ता गठबन्धनले मैदान उतारेको छ।  सत्ता गठबन्धनकै बलमा प्रतिनिनिधसभा सदस्य उम्मेदवार पाण्डे आगामी निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्।  यो क्षेत्रमा लगातार पाण्डेकै बोलवाला चल्दा माओवादी र कांग्रेसका कतिपय नेता भने असन्तुष्ट देखिन्छन्।  माओवादी केन्द्र मजबुत रहेको बेनीघाटसहितका केही ठाउँको मत पाण्डेको पक्षमा नआउने त होइन भन्ने गठबन्धनभित्र आशंका पनि जन्मिएको छ।  २०७४ सालको निर्वाचनमा प्रदेशसभा सदस्यका लागि धादिङ १ (क) मा श्रेष्ठ र पाण्डे आमनेसाने भएका थिए।  अहिले एकअर्काका सहयोगी संगठन बने पनि मतमा अघिल्लो निर्वाचनको प्रभाव पर्ने त होइन भन्ने आशंका उनीहरूमा छ।  

स्थानीय चुनावमा ३१ हजार ३४० मतसहित पहिलो दल बनेको एमाले उम्मेदवार त्रिपाठी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगको चुनावी तालमेलमा आगामी निर्वाचन परिणामलाई निरन्तरता दिने पक्षमा छन्।  राप्रपाले स्थानीय चुनावमा जम्मा ८१५ मत मात्र पाए पनि त्रिपाठीले पार्टीको मजबुत संगठनलाई नै जितको आधार मान्दै आएका छन्।  तर प्रदेशसभा सदस्यतर्फ उम्मेदवार छनोटमा एमालेभित्र सहमति जुट्न नसक्दा त्यसको असर निर्वाचन परिणाममा पर्ने विश्लेषण गर्न थालिएको छ।  प्रदेशसभा सदस्यतर्फ धादिङ १ (क) मा एमालेले रमेश आचार्यलाई उम्मेदवार बनाएपछि पार्टीका प्रभावशाली नेता नेत्रराज पौडेलले सोही प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।  पार्टीका नेता तथा कार्यकर्ता पौडेलको पक्षमा उभिएपछि प्रतिनिधिसभा सदस्य उम्मेदवार त्रिपाठी पनि समस्या परेको निकटहरू बताउँछन्।  एमालेले धादिङ १ (ख) मा गजेन्द्र थपलियालाई उम्मेदवार बनाएको छ।  

पाण्डे र त्रिपाठीका लागि आफ्नै पूर्वसहकर्मी कँडेल र हास्य कलाकार पन्तले लिने मतले पनि असर पार्नेछ।  पाण्डे र त्रिपाठीबीच नै मुख्य प्रतिस्पर्धा रहे पनि शालीन व्यक्तित्वसहित वातावरण संरक्षणका लागि अभियान सञ्चालन गर्दै आए कँडेलले दुवैको मत काट्नेछन्।

प्रकाशित: २० कार्तिक २०७९ ०१:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App