५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

उदयपुरका ९ मतदानस्थल परिवर्तन, वैशाख ३० मा गोली चलेको सोरुङ कायमै

जिल्ला निर्वाचन कार्यालय उदयपुर। तस्विरः महेश्वर

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा उदयपुरका ९ वटा मतदानस्थल परिवर्तन गरिएको छ। पहिलेका मतदानस्थल सुरक्षाको दृष्टिले संवेदनशील तथा मतदाताका लागि अपायक पर्ने ठहर गर्दै स्थान परिवर्तन गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।  

परिवर्तन भएका मतदानस्थलहरुमा सदरमुकाम त्रियुगा नगरपालिकाका २, चौदण्डीगढी नगरपालिकाका २, उदयपुरगढी गाउँपालिकाका ३ र रौतामाई गाउँपालिकाका २ मतदानस्थल रहेका छन्। त्रियुगाका ३ र १३ नं. का मतदानस्थल सारिएको छ। ३ नं. वडाको रामजानकी मावि मोतिगडाको मतदानस्थललाई ३ नं. मै रहेको त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडामा सारिएको छ। त्यस्तै १३ नं. को वहेडवा सामुदायिक वन उपभोक्ता समूहको भवनमा रहेको मतदानस्थललाई वहेडवाकै आधारभूत विद्यालयमा कायम गरिएको छ।  

चौदण्डीगढी नगरापलिकाका ९ र १० नं. वडाका दुईवटा ख मतदानस्थल पनि परिवर्तन गरिएको छ। ९ नं. वडाको राजाजी आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई मावि हडिया कायम गरिएको छ। त्यस्तै १० नं. वडा कार्यालयमा रहेको मतदानस्थललाई सारेर खैराहा झोडास्थित लौवागढी माविमा कायम गरिएको निर्वाचन कार्यालयले जनाएको छ।  

उदयपुरगढीका २, ६ र ७ नं. वडाका ३ मतदानस्थल पनि सारिएको छ। २ नं. वडाको नमूनादेवी आधारभूत विद्यालय माङसिन्टारको मतदानस्थललाई २ नं. वडा भवनमा सारिएको छ। त्यसैगरी ६ नं. को नेपालटारस्थित मावि जगरेटारको मतदानस्थल सारेर सोलीढुंगास्थित आधारभूत विद्यालय कोपिलेघरमा कायम गरिएको छ। उता ७ नं. वडाको मावि हाडेबासमा रहेको मतदानस्थललाई आधारभूत विद्यालय नाङ्राङ्गेमा कायम गरिएको छ।  

रौतामाई गाउँपालिकाको ३ स्थित जनता मावि लाफागाउँमा रहेको मतदानस्थललाई सारेर वडा कार्यालय भवन पाकानामा कायम गरिएको छ। त्यसैगरी ८ नं. वडाको आधारभूत विद्यालय एमुटारको मतदानस्थललाई ८ नं. वडा कार्यालय भवनमा सारिएको निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।  

उदयपुरमा संवेदनसिल मानिएका पश्चिमभेगका केही मतदानस्थलहरु भने यथावत राखिएका छन्। गएको वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा गोली चलेर एकजनाको ज्यान गएको कटारी नगरपालिका १० को सोरुङछविसेस्थित मावि सोरुङको मतदानस्थल यथावत राखिएको छ। नेत्रविक्रम चन्द (बिप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको प्रभाव क्षेत्र रहेको सो ठाउँका अन्य दुई÷तीनवटा मतदानस्थलहरु पनि संवेदनशिल रहेको स्थानीयले बताएका छन्।  

सोरुङछविसेस्थित मतदानस्थलमा वैशाख ३० को चुनावमा मतदान सकिएर मतपेटिका सिल गर्ने क्रममा सुरक्षाकर्मीको गोली लाग्दा स्थानीय १८ वर्षीय वीरबहादुर कटुवालको घट्नास्थलमै ज्यान गएको थियो भने अर्का एक १३ वर्षे बालक घाइते भएका थिए। घट्नापछि ३ दिनसम्म गणना रोकिएको र ६ बुँदे सहमतिपछि गणना भए पनि सरकारले सो सहमति कायम नगरेको भन्दै स्थानीयले मंसिर ४ को चुनाव बहिस्कार गर्ने चेतावनी दिँदै छन्।  

१७ गते वडाध्यक्ष, सदस्य तथा स्थानीय राजनीतिक दलका प्रतिनिधिसमेतको सामुहिक बैठकले वैशाख ३० को घट्नाबारे भएको सहमति कार्यान्वयन नगरेकाले आगामी चुनाव बहिस्कार गर्ने निर्णय गरेको छ। स्थानीयले मृतकलाई सहीद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने तथा गोली चलाउने प्रहरीलाई कारवाही गर्नुपर्ने लगायत माग राखेर सहमति भए पनि कार्यान्वयन नभएको गुनासो गर्दै माग पुरा नभएसम्म चुनाव हुन नदिने बैठकले निर्णय गरेको वडाध्यक्ष क्षेत्रबहाुदर खड्काले बताएका छन्।  

प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको उदयपुरमा २ लाख २८ हजार ९ सय ४६ मतदाता रहेका छन्। जसमा १ न. मा १ लाख ३५ हजार ५ सय २५ मतदाता रहेका छन् भने २ नं. मा ९३ हजार ४ सय २१ जना रहेका छन्। जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाका अनुसार उदयपुरमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र कायम गरिएको छ। १ मा ५१ मतदानस्थल र १ सय ५३ मतदान केन्द्र तथा २ मा ५० मतदानस्थल र १ सय ११ मतदान केन्द्र रहेको कोईरालाले बताउका छन्।  

प्रकाशित: १९ कार्तिक २०७९ १२:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App