५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

अब बुढाहरूलाई होइन, युवाहरूलाई नेतृत्वमा ल्याउनुपर्छ: डा. कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी नेतृत्वका लागि युवाहरूलाई अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

शनिबार धुलिखेलमा विपी कोइरालाको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसका युवाहरू अघि बढेकाले उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि पार्टीले प्रोत्साहित गर्नुपर्ने बताएका हुन्।

युवाहरुको मागलाई पार्टीले सम्बोधन नगरेको भन्दै उनले असन्तुष्टि समेत व्यक्त गरे। उनले भने "६० प्रतिशत मानिसहरु ४० वर्षमुनिका छन्। तर नेताहरुले कहिल्यै पनि तिनीहरुलाई सम्बोधन गरेनन्। सबै बुढाहरुका लागि मात्रै सम्बोधन गरेँ। हामीले कहिल्यै पनि युवाहरूलाई सम्बोधन गर्न सकेनौं। जहिले पनि मन्त्रीहरु बुढैहरु बन्छन्। युवाहरुले कहिल्यै चान्स नै पाउँदैनन्। मन्त्री मात्रै होइन, कुनै पनि ठाउँमा युवाहरूलाई प्रोत्साहन किन गर्दैनौं हामी ? भोलीको राजनीति त उनीहरुको हातमा दिनुपर्ने हो।"

शेरबहादुर देउवा सदावहार पार्टी सभापति नहुने भएकाले पनि त्यसमा युवाहरूलाई ल्याउनुपर्ने उनको भनाई थियो। विपी कोइरालाले पदबाट राजीनामा दिएर कृष्णप्रसाद भट्टराई पार्टी सभापतिको पदको जिम्मेवारी दिएको उल्लेख गर्दै त्यसबाट सिकेर अहिलेको नेतृत्वले पनि नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्दै अघि बढ्नुपर्ने उनले सुनाए।

उनले कांग्रेसले आफ्नै खुट्टामा उभिएर अघि बढ्नुपर्ने धारणा राखे। नेता कोइरालाले कांग्रेसले बलियो भएर पनि बहुमत ल्याउन नसकेको अवस्थाको अन्त्य हुनेगरी काम गर्नुपर्नेमा जोड दिए।

प्रकाशित: ५ आश्विन २०८१ १८:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App