१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धनको भरमा अधिकारी राप्रपाको आडमा लोहनी

खेम लोहनी र रामनाथ अधिकारी।

मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङ २ का उम्मेदवारहरूले जिल्लाको आर्थिक विकास र समृद्धिसहित बुढीगण्डकी जलविद्युत् परियोजनालाई मुख्य चुनावी नारा बनाएका छन्। २०७३ सालदेखि मुआब्जा वितरण सुरु भए पनि बुढीगण्डकी आयोजनाको भविष्य अझै अन्योलमा छ। तर धादिङ २ का उम्मेदवार भने यसै परियोजनामार्फत समग्र जिल्लाको अवस्था फेर्न आफू लागिपर्ने भन्दै मतदातासँग भोट माग्न सक्रिय छन्।  

राजधानी काठमाडौंसँग जोडिएर पनि बत्तीमुनिको अध्याँरोजस्तै रहेको धादिङमा कृषि, पर्यटनका माध्यमबाट रोजगारी सिर्जना गर्दै जिल्लालाई समुन्नत बनाउने प्रतिबद्धता पनि उम्मेदवारहरूले मतदातामाझ जनाइरहेका छन्। पृथ्वी राजमार्गदेखि झन्डै १० किलोमिटर उत्तर (च्याडु) देखि गणेश हिमालसम्म धादिङको दुई नम्बर क्षेत्रमा पर्छ। अहिले पनि कतिपय गाउँ र बस्तीमा पुग्न घोरेटो बाटोसमेत निर्माण हुन सकेको छैन। प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनबाट विगतदेखि नै जिल्लाको नेतृत्व गर्दै आएका नेताहरू फेरि पनि मैदानमा छन्। आफ्नो क्षेत्रमा मात्र नभएर सिंगो जिल्लाकै विकासका लागि भन्दै दुवै गठबन्धनका उम्मेदवार जनतासँग मत माग्दैछन्।

सत्ता गठबन्धनबाट धादिङ कांग्रेसका सभापति रामनाथ अधिकारी र विपक्षी गठबन्धनबाट एमाले केन्द्रीय कमिटी सदस्य खेम लोहनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

२०५६ सालमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित कांग्रेसका अधिकारी अहिले माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) सहितका दलहरूको समर्थनमा उम्मेदवार भएका हुन्। २०५४ सालमै जिल्ला विकास समिति सभापतिको जिम्मेवारी समालेका एमालेका लोहनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समर्थनमा उम्मेदवार भएका हुन्। २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको बलमा लोहनी प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। पाँच वर्षको अन्तरालमा हुन लागेको निर्वाचनमा धादिङ २ मा एमाले र कांग्रेसका सहकर्मी अदलबदल भएका छन्। २०७४ सालको निर्वाचनमा कांग्रेस र राप्रपा एकातिर र अर्कोतिर एमाले र माओवादी थिए। तर अहिले त्यसको ठिक उल्टो भएको छ।  

अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा राप्रपाको साथ पाए पनि कांग्रेस उम्मेदवार दिलमान पाख्रिन वाम गठबन्धनका उम्मेदवारभन्दा ६७१ मतले पछि परेका थिए। तर अहिले माओवादी केन्द्र एमालेसँग छैन। सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस माओवादी केन्द्र, नेकपा एसको बलमा चुनावी परिणाम बदल्ने तयारीमा छ। प्रमुख प्रतिपक्षी एमाले राप्रपाको भरमा चुनाव जित्ने रणनीतिमा छ। धादिङ २ राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङको क्षेत्र भएकाले त्यहाँ उनको प्रभाव बलियो छ। तामाङ राप्रपाबाट समानुपातिक उम्मेदवार छन्। तामाङको पकड भएकाले एमालेले राप्रपासँग चुनावी तालमेल गरेको हो। प्रदेशसभातर्फ धादिङ २ (क) मा एमालेका रामकुमार अधिकारी र (ख) मा राप्रपाका डम्बरबहादुर तामाङ उम्मेदवार छन् ।

त्यस्तै नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धनले प्रदेशसभातर्फ धादिङ २ (क) मा कांग्रेसका गोविन्द लम्साल र(ख) मा माओवादी केन्द्रका जगत सिंखडालाई उम्मेदवार बनाएको छ। २०७४ सालको निर्वाचनमा सिंखडा र रामकुमार अधिकारी दुवै वाम गठबन्धनबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।  

गत वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन एकै ठाउँमा भएकाले एमाले धादिङ २ का कुनै पनि पालिका प्रमुख र उपप्रमुख आफ्नो पक्षमा पार्न असफल भएको थियो। त्यसबाट सत्ता गठबन्धनका उम्मेदवारहरू केही उत्साहित देखिएका छन्। तर पार्टीको १४औं अधिवेशन र प्रतिनिधिसभा सदस्य निर्वाचनमा टिकट वितरणलाई लिएर कांग्रेसभित्र देखिएको असन्तुष्टि साम्य भएको छैन। प्रतिनिधिसभातर्फ उम्मेदवारका आकांक्षी कांग्रेसका पूर्वजिल्ला सभापति रमेश धमलाले विद्रोही बनेर उम्मेदवारी दिएर फिर्ता लिए पनि केन्द्रीय सदस्य पाख्रिन अहिलेसम्म चुनावी अभियानमा जुटेका छैनन्। गठबन्धन दलको बलियो साथ पाए पनि आफ्नै पार्टीभित्रको असन्तुष्टि मतमा प्रकट हुने त होइन भन्ने भय कांग्रेस उम्मेदवार अधिकारीमा छ।  

स्थानीय चुनावमा वडा अध्यक्षले पाएको मतका आधारमा धादिङ २ मा प्रतिपक्षी गठबन्धन कमजोर देखिन्छ। तर राप्रपाको साथ पाएको एमाले कांग्रेसभित्रको बढ्दो तिक्तताको लाभ उठाउँदै निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिसहित चुनावी अभियानमा जुटेको छ। स्थानीय चुनावमा वडाध्यक्षहरूले पाएको मतलाई हेर्ने हो भने धादिङ २ मा कांग्रेसको २९ हजार ९ सय ६५, एमालेको २५ हजार ९ सय ३८, माओवादी केन्द्रको १४ हजार ३ सय ८०, राप्रपाको ५ हजार २ सय ८७, नेकपा एसको ३ हजार ४ सय ५६, जनता समाजवादी पार्टी (जसपा) को १ हजार ६० भोट छ। यसलाई आधार बनाउँदा एमाले, राप्रपा र जसपाको मत ३२ हजार २ सय ८५ हुन आउँछ भने कांग्रेस, माओवादी र नेकपा एसको मत ४७ हजार ८ सय १ हुन आउँछ। तर अधिकारी ढुक्क हुने अवस्था भने छैन ।

को हुन् रामनाथ अधिकारी ?

२०१८ सालमा धादिङको नेवारपानीमा जन्मेका रामनाथ अधिकारी २०३३ सालदेखि नै पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय भएका हुन्। २०५६ सालको निर्वाचनबाट धादिङ २ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित अधिकारी पञ्चायतका साथै प्रजातन्त्र प्राप्तिका आन्दोलनका क्रममा तीन वर्षभन्दा बढी जेल बसेका छन्। अधिकारी धादिङ कांग्रेसको सभापतिसमेत हुन् ।

को हुन् खेम लोहनी ?

२०१६ सालमा जन्मेका लोहनी २०३६ मा नेपाल कम्युनिस्ट पार्टी मालेमा संलग्न हुँदै राजनीतिमा लागेका हुन्। २०४३ सालमा नेपाल कम्युनिस्ट पार्टी माले गाउँ कमिटी सचिवको जिम्मेवारीमा बसेका उनी २०५१ मा एमाले धादिङको उपसचिव भए। २०५४ मा जिल्ला विकास समितिको सभापति भएका लोहनी २०७४ सालको निर्वाचनमा वाम गठबन्धनको बलमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

प्रकाशित: १९ कार्तिक २०७९ ००:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App