४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

द्वन्द्वपीडितका काम गठबन्धनले अघि बढाउँछः नेता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माणका लागि गठबन्धनको मुख्य तीन काम भएको बताएका छन्।

गोरखा समाज चितवनले आज यहाँ आयोजना गरेको गोरखाको समग्र विकासको योजना तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ।' गठबन्धनले निर्वाचन जितेर देशको विकासमा लाग्न आवश्यक रहेको बताए।

लोकतन्त्र, संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै जनताले अनुभूति गर्ने गरी विकास गर्नका लागि गठबन्धनको जित आवश्यकता रहेको उनको भनाइ थियो। शान्ति प्रक्रियाका केही अवशेष रहेको भन्दै उनले त्यसलाई पूरा गर्नका लागि गठबन्धन आवश्यक भएको बताए। उनले भने, 'द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ। त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ।'

जनताको अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै श्रेष्ठले जनतामा निरासा पैदा हुँदा राष्ट्रियतामाथि खतरा हुने र राज्य असफल हुने बताए। संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै उनले भने, 'यो गठबन्धन निश्चित उद्देश्यका साथ बनेको छ। त्यो उद्देश्य पूरा गर्छ।'

उनले गोरखाको विकासका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको उम्मेदवारी इतिहास सावित हुने बताए। गोरखा पर्यटकीय, सामाजिक तथा विकासका दृष्टिकोणले सम्भावना बोकेको जिल्ला भएको भन्दै उनले यसको विकासका लागि सबै हातेमालो गरेर अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट गोरखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र बजगाई, प्रदेशसभा सदस्य क्षेत्र नम्बर १ (क) का उम्मेदवार कृष्णप्रसाद धिताल र २ (ख) का उम्मेदवार सुरेन्द्र पाण्डेले गठबन्धन मिलेर विकास सम्भव कसरी हुन्छ भन्ने देखाउने बताए। दलहरु प्रति जनताको आस्था गुम्दै गएको समयमा गठबन्धनले नयाँ आयाम थपेको उनीहरुको भनाइ थियो। 

प्रकाशित: १८ कार्तिक २०७९ ०७:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App