१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

लुम्बिनी प्रदेशलाई देशकै विकास र समृद्धिको केन्द्र बनाउने काँग्रेस लुम्बिनी प्रदेशको घोषणा

नेपाली काँग्रेस लुम्बिनी प्रदेशले कृषि,पर्यटन,उद्योग,व्यापार,उर्जा तथा सिँचाइलाई प्रथमिकतामा राखेर लुम्बिनी घोषणा पत्र सार्वजनिक गरेको छ। शिक्षा,स्वास्थ्य र भौतिक पुर्वाधार विकास गर्दै स्वरोजगारी सिर्जनाका लागि महत्वपूर्ण कार्यक्रम ल्याउने घोषणा पत्रमा उल्लेख छ।  

नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापती अमरसिंह पुनले बिहिबार एक कार्यक्रमका बिच घोषणा पत्र सार्वजनिक गरेका हुन। घोषणा पत्र सार्वजनीक गर्दै प्रदेश सभापती पुनले काँग्रेसले ठूला कुरा गरेर जनतालाई भ्रममा नपार्ने भएकाले कार्यान्वयन गर्न सक्ने योजना,कार्यक्रम तथा लक्ष्य मात्रै घोषणा पत्रमा समावेस गरीएको बताए।

आगामी मंसिर ४ को निर्वाचनलाई लक्षित गरेर काँग्रेस प्रदेश कमिटिले घोषणा पत्र तयार गरेको हो। लुम्बिनी प्रदेशलाई देशकै विकास र समृद्धिको केन्द्र बनाउने लक्ष्य घोषणा पत्रले लिएको छ। त्यसका लागि बुद्ध जन्मस्थल लुम्बिनीलाइ केन्द्रित गरेर प्रदेश विकासका योजना अगाडी बढाउने भनिएको छ। बुद्ध जन्मस्थल लुम्बिनी प्रदेशको मुख्य गौरब भएकाले  लुम्बिनी विकास कोषलाई केन्द्र र प्रदेशको सामूहिक कार्यक्षेत्र भित्र राख्नु पर्नेमा जोड दिइएको छ। अहिले लुम्बिनी विकास कोष केन्द्र सरकार अन्तर्गत छ। लुम्बिनीमा बिर्थिङ सेन्टर स्थापनालाई जोड दिइएको छ। 

बुटवल–भैरहवा,तुलसीपुर–घोराही र नेपालगञ्ज–कोहलपुर ट्राम अथवा रेल सम्भाव्यता अध्ययन गरी उपयुक्त योजना अघि बढाउने योजना ल्याइएको छ। लुम्बिनी प्रादेशिक अस्पताल,राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताललाई विशिष्टिकरण गर्ने अन्य सरकारी अस्पतालहरुको स्तरवृद्धि गर्ने योजना ल्याइएको छ। अत्यावश्यक औषधी कारखाना प्रदेशमा स्थापना गर्ने,दिर्घरोग तथा डयलसीस उपचार पूर्ण रुपमा निशुल्क बनाउने योजना काँग्रेसले ल्याएको छ।  

प्रदेशलाई उत्कृष्ट शैक्षिक केन्द्रको रुपमा विकास गर्ने,प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रतिष्ठान स्थापना गर्ने,एक पालिका एक प्राविधिक शिक्षालय,स्वरोजगार सिजर्ना गरी बैदेशिक रोजगारीलाई घटाउन उद्यमशीलता प्रबद्धनका लागि विशेष योजना ल्याउने शंकल्प काँग्रेसले गरेको छ। १०९ वटै स्थानीय तहमा यातायातको सहज पहँुच विस्तार गर्ने,कृषि अनुसन्धान केन्द्र स्थापना,मलको समस्या समाधानको दिर्घकालिन उपाय खोज्ने र मल कारखाना स्थापना गर्ने,कृषिलाई बजार र अनुसन्धानसंग जोडन पुर्वाधार निर्माण गर्ने योजना छन।  

मोतीपुर,नौवस्ता र धर्नालक्ष्मीपुरलाई औधोगिक तथा विशेष व्यापारिक केन्द्र बनाउने योजना घोषण पत्रमा समेटिएको छ। एक पालिका एक खेलकुद केन्द्र र पुस्तकालय स्थापना गरी युवा केन्द्रित कार्यक्रम गर्ने उल्लेख छ। गरिब विपन्न र पिछडीएको वर्गको बिस्तृत अभिलेखीकरण गरी आधारभुत सुविधा उपलब्ध गराउन विशेष कार्यक्रम र योजना ल्याइने घोषणा गरेको छ।  

विभिन्न क्षेत्रसंग सम्बन्धित योजना र कार्यक्रमहरु मार्फत बहुआयामिक गरीबी उल्लेख्य घटाउने लक्ष्य काँग्रेस लुम्बिनी प्रदेशले  लिएको हो। हाल रहेको बहुआयामिक गरिबीको सख्ंया २८.६ बाट घटाएर अवको ५ वर्षमा ११ प्रतिशतमा झार्ने लक्ष्य घोषणा पत्रले लिएको छ।  

अव्यवस्थित तथा सुकुम्बासी समस्याको दिर्घकालिन समाधान गरी जनतालाइ राहत दिने भनिएको छ। ‘सुकुम्बासी तथा बन क्षेत्र र नदि तट क्षेत्रमा अनाधिकृत रुपमा बसेका घरधुरीलाई आवश्यक नीति तथा योजना बनाइ कार्यान्वयनमा ल्याउने छ’ घोषणा पत्रमा लेखिएको छ। लैङ्गिक उत्तरदायी बजेट प्रणाल लागु गर्ने भनिएको छ। स्वर्गद्धारीलाई धार्मिक गन्तब्यको रुपमा विकास गर्न बृहत्तर गुरुयोजना बनाउने,प्रदेशका सबै जिल्लामा रहेका धार्मिक,पुरातात्वीक,ऐतिहासिक र प्राकृति सम्पदा तथा पर्यटकीय स्थलको विकास र विकास गर्ने लक्ष्य लिएको छ। जडीबुटीहरुको उचित व्यवस्थापन तथा प्रसोधनका लागि रुकुम रोल्पामा उद्योग स्थापना गर्ने घोषणा पत्रमा समेटिएको छ।  

प्रकाशित: १७ कार्तिक २०७९ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App