२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

पहिला सहयोगी, अहिले प्रतिस्पर्धी

गठबन्धनका आडमा झाँक्री, आफ्नैका भरमा विष्ट

गोकर्णराज विष्ट र रामकुमारी झाँक्री।

प्रतिनिधिसभा सदस्यका लागि चुनावमा उठ्ने चर्चा चलिरहँदा नेकपा एकीकृत समाजवादी (नेकपा एस) की सचिव रामकुमारी झाँक्री गृह जिल्ला गुल्मी पुगेकी थिइन्। उनले सुरुमै ‘घिउ जहाँ पोखिए पनि भातमा’ भनेकी थिइन्। उनको यो भनाइ प्रतिस्पर्धीसँग एकखालको सद्भाव थियो। आफूले जिते पनि एमालेका गोकर्णराज विष्टले जिते पनि खासै फरक नहुने झाँक्रीको भनाइको अर्थ थियो।

तर चुनावी अभियान सुरु भएपछि परिवेश बदलिएको छ। पहिले एउटै पार्टीमा हुँदाको सुमधुर सम्बन्ध चुनावले बदलिदिएको छ। यसअघिका निर्वाचनमा विष्टलाई जिताउन लागिपरेकी झाँक्री अहिले प्रतिस्पर्धी छिन्। उनलाई सत्ता गठबन्धन दलको समर्थन छ। पूर्वसहकर्मी विष्टलाई उछिनेर निर्वाचन जित्ने तरखरमा उनी छिन्। गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट २०५६, २०७० र २०७४ सालमा चुनाव जितेका विष्ट मन्त्री भइसकेका छन्।

पहिला एउटै पार्टीमा बसेर काम गरेका उनीहरू अहिले फरकफरक कित्तामा उभिएका छन्। यसअघिका निर्वाचनमा विष्टलाई दिलोज्यानले जिताउन हिँडेकी झाँक्री अहिले आफैं जित्न लागिपरेकी छन्। दलगत रूपमा एमाले र नेकपा एसबीच बोली बाराबारको अवस्था छ। नेकपा एस एमालेबाट विभाजित भएर बनेको हो। वैचारिक रूपमा खासै फरक नभएका तर दलीय रूपमा दुई कित्तामा उभिएका एमाले र नेकपा एस एकअर्काका कट्टर विरोधी देखिएका छन् चुनावी मोर्चामा।

दलीय रूपमा फरक भएपछि व्यक्तिगत सम्बन्धमा पनि केही असर पर्छ नै। चुनाव राजनीतिक प्रतिस्पर्धा भए पनि झाँक्री र विष्टबीच पहिलेजस्तो सुमधुर सम्बन्ध छैन अहिले। पार्टी फरक हुनुले उद्देश्य, कार्यक्रम, गन्तव्य, प्रवृत्ति सबै फरक परेका छन्। निजी सम्बन्धको कुनै अर्थ नहुने उम्मेदवार स्वयं बताउँछन्। एउटै क्षेत्रबाट उम्मेदवार हुँदा मित्रवत् प्रतिस्पर्धाबाहेक अरू हुन नसक्ने उनीहरू बताउँछन्। ‘मेरो जितलाई पनि उहाँ (विष्ट) ले आफ्नो जित मान्नुहुनेछ’, झाँक्रीले भनिन्।

निर्वाचनमा हरेक व्यक्तिले उम्मेदवार बन्ने अधिकार राख्छन्। विष्ट आफ्ना प्रतिस्पर्धीका विषयमा कुनै टिप्पणी नभएको बताउँछन्। ‘हरेक उम्मेदवार आफ्नो अधिकार प्रयोग गर्दै उठ्नुभएको छ। म कसैको विषयमा पनि प्रतिक्रिया व्यक्त गर्न चाहन्नँ,’ उनले भने, ‘म जनताको विकासका लागि निरन्तर लागिरहेको छु। यही नै मेरो जित्ने आधार हो।’

प्रतिनिधिसभा सदस्यका लागि गुल्मी २ बाट एमालेका विष्ट, नेकपा एसका झाँक्रीसहित १३ उम्मेदवार मैदानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ४८ वर्षीय युवराज घिमिरे, हाम्रो नेपाली पार्टीका ५० वर्षीय रामलाल पाण्डे, मंगोल नेसनल अर्गनाइजेसनका ४५ वर्षीय पदम थापा मगर, स्वतन्त्रबाट २७ वर्षीय तेजेन्द्रबहादुर महत, २८ वर्षीय नारायण भट्टराई, ३६ वर्षीया कमला पुन, ३० वर्षीय देवराज पाण्डे, २६ वर्षीय अमरबहादुर कार्की, ६२ वर्षीय केशरबहादुर थापालगायत चुनावी मैदानमा छन्।

स्थानीय तहको चुनावी परिणाम

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ मा एमालेले ३५ हजार ७०१ मत प्राप्त गरेको थियो। त्यसैगरी नेपाली कांग्रेसले ३१ हजार २९४, नेकपा माओवादी केन्द्रले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १ हजार ६००, नेकपा एसले ४९७ मत पाएका थिए। यस आधारमा सत्ता गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एसको मत जोड्दा ३८ हजार ३६१ हुन्छ भने एमाले एक्लैको मत ३५ हजार ७०१ छ।

स्थानीय तहमा दलहरूलाई प्राप्त मतका आधारमा हेर्दा गठबन्धन र एमालेबीच निकै प्रतिस्पर्धा हुने देखिन्छ। यसअघि चुनावमा हार बेहोर्न नपरेका विष्टलाई यसपटक गठबन्धनका कारण जित निकाल्न त्यति सजिलो देखिँदैन। स्थानीय तहमा सत्ता गठबन्धन दललाई प्राप्त सबै मत पाए झाँक्रीको जित हुन सक्छ। गठबन्धन दलका कार्यकर्ता इमानदार भएर झाँक्रीलाई भोट दिएको खण्डमा र एमालेले आफ्नो मत कायम राखेको अवस्थामा उम्मेदवारको व्यक्तिगत प्रभावका आधारमा पनि जितहार निर्धारण हुने देखिन्छ। झाँक्रीले टिकट पाएपछि कांग्रेसका दामोदर भुसालले स्वतन्त्र उम्मेदवारी दिएका थिए। तर कांग्रेसले उनको उम्मेदवारी निष्क्रिय बनाइसकेको छ।

आआफ्नै अजेन्डा

सत्ता गठबन्धन दलकी उम्मेदवार झाँक्रीले संविधान र संसदीय प्रणालीको रक्षा गर्ने, संसदीय प्रणालीलाई परिष्कृत गर्ने र गलत अभ्यास हटाउने बताउँदै आएकी छन्। उनले यसैका लागि एमालेबाट विद्रोह गरी आफूहरूले नेकपा एस बनाएको प्रस्टीकरण दिँदै आएकी छन्।

शासन प्रणालीमा देखिएका तमाम खराबी सुधार्ने उनी बताउँछिन्। विकास आयोजनाका विषयमा विभिन्न ऐन, विनियम बनाउने उनको योजना छ। उनी राष्ट्रिय अजेन्डाहरूमा नीतिगत सुधार र संविधानले नागरिकका लागि प्रत्याभूत गरेका अधिकार कार्यान्वयन गर्ने बताउँछिन्। ‘मौलिक हकसम्बन्धी कतिपय कानुन बनेका छन्। नबनेका कानुन बनाएर काम गर्छौं,’ झाँक्रीले भनिन्।

गुणस्तरीय शिक्षा, आधारभूत स्वास्थ्य सेवा वडासम्म पुर्‍याउने योजना पनि उनको छ । सरकारी अस्पतालको स्तरवृद्धि, गुणस्तरीयता, स्वास्थ्य बिमालगायत कुरा पनि उनले अघि सारेकी छन्। शिक्षकहरूलाई तालिम, उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउने उनले बताइन्। आर्थिक विकासका लागि आन्तारिक आम्दानी, युवालाई उद्यमशील बनाउने, स्थानीय स्रोतको व्यवस्थापन गर्ने अजेन्डा पनि उनले अगाडि सारेकी छन्।

एमालेका उम्मेदवार विष्ट संविधानको प्रभावकारी कार्यान्वयनमार्फत ‘समृद्ध देश र सुखी नेपाली’ बनाउने अजेन्डाका साथ घरदैलोमा छन्। मुलुकमा भौतिक पूर्वाधारको विकास, आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण, गरिबी, अभाव र बेरोजगारी हटाउने योजना पनि विष्टले अघि सारेका छन्। ‘नेपाली युवाको श्रम देशमा प्रयोग गर्नुपर्छ। गाउँमा बाटो, पिउने पानी, शिक्षा, आयआर्जनका विषयमा जनताका आवश्यकतासँग जोडिएर विकास प्रक्रियालाई प्रभावकारी बनाउन चाहन्छौं’, उनले भने।

को हुन् गोकर्ण विष्ट?

विष्टको जन्म २०२२ असार १७ गते भएको हो। २०५६, ०७० र ०७४ का निर्वाचन जितेका विष्ट २०३५ सालदेखि कम्युनिस्ट राजनीतिमा आबद्घ छन्। अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका उनी अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य भएका थिए। त्यसपछि उनी नेकपा एमाले गुल्मीको अध्यक्ष, एमाले वाग्मती अञ्चल कमिटी, केन्द्रीय कमिटी सदस्य हुँदै प्रचार विभाग प्रमुखको जिम्मेवारीमा पुगे। विष्ट एमाले संगठन विभाग प्रमुख, युवा संगठनको केन्द्रीय विभाग प्रमुख बनिसकेका छन्। २०५९ सालको आठौं महाधिवेशनबाट उनी एमाले केन्द्रीय सदस्यमा निर्वाचित भए।

उनी पटकपटक गरी १ वर्ष ३ महिना जेल बसेका छन्। केही समय प्रहरी हिरासतमा पनि बिताएका छन्। २०६५ सालमा पनि केन्द्रीय सदस्यमा निर्वाचित उनले युवा तथा विद्यार्थी विभाग प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। उनी एमाले बुद्धिजीवी विभागको इन्चार्ज पनि भइसकेका छन्। २०७१ सालमा एमाले केन्द्रीय सचिवमा निर्वाचित उनी अहिले स्थायी कमिटी सदस्य हुन्।

विष्ट २०५६ सालमा गुल्मी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा पहिलोपटक निर्वाचित भएका थिए। २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा भने उनी माओवादी उम्मेदवारसँग पराजित भए। संघीयता कार्यान्वयनपछि गुल्मीमा दुईवटा संसदीय निर्वाचन क्षेत्र कायम गरिएको हो।

उनी दुईपटक मन्त्री भइसकेका छन्। २०६८ सालमा झलनाथ खनालको नेतृत्वको सरकारमा ऊर्जामन्त्री भएका उनले लोडसेडिङ हटाउन पहलसँगै जलाशययुक्त आयोजना, ठुला विद्युत् गृहको परिकल्पना लगायत काम गरेका थिए। लोडसेडिङ केही घटाएर उनी चर्चामा आएका थिए। उनी मन्त्री भएका बेला महसुल नतिर्नेको लाइन काटेर चर्चामा आएका थिए। उनी केपी ओली नेतृत्वको सरकारमा २०७४ देखि २०७६ सालसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने। मलेसियाको रोजगारीमा वर्षाैंदेखि कायम सिन्डिकेट हटाउने र वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने प्रयास गरेका विष्टलाई स्वार्थ समूहको प्रभावमा श्रममन्त्रीबाट हटाइएको थियो। विष्ट कानुनमा स्नातक र व्यवस्थापनमा स्नातकोत्तर छन्।

को हुन् रामकुमारी झाँक्री?

२०३५ जेठ १ गते गुल्मीमा जन्मेकी रामकुमारी झाँक्री विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा उदाएकी हुन्। २०६२/६३ को आन्दोलनमा प्रहरीले हानेको ढुंगा लागेर रक्ताम्मे भएको टाउकाको तस्बिर सञ्चारमाध्यममा आएपछि उनी अझै धेरै चर्चामा आइन्। उनी अनेरास्ववियुको पहिलो महिला अध्यक्ष हुन्। उनी २०७४ सालमा समानुपातिक कोटाबाट प्रतिनिधिसभा सदस्य भएकी थिइन्। एमालेमा रहँदा विद्रोहीका रूपमा चिनिएकी झाँक्री अहिले नेकपा एकीकृत समाजवादीकी सचिव हुन्। उनी देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ महिना सहरी विकासमन्त्री भइन्। एमालेबाट विद्रोह गरेर निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न जाँदा उनले नेता माधवकुमार नेपाललाई पाखुरामा तानेको तस्बिर निकै भाइरल बनेको थियो।

झाँक्री २०४७ सालमा अनेरास्ववियु (पाँचौं) को विद्यालय प्रारम्भिक कमिटीमा सहसचिव बनेर संगठनमा प्रवेश गरेकी थिइन्। उनी एमाले केन्द्रीय कमिटीको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी थिइन्। उनी एमालेको सातौं आठौं, नवौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि थिइन्। उनले २०५० सालमा पार्टीको इलाका कमिटीमा बसेका काम गरेकी थिइन्। पार्टीको सदस्य, गाउँ पार्टी सक्रिय दलको सदस्य हुँदै काम गरेकी उनी २०५१ सालमा पद्मकन्या क्याम्पसमा अनेरास्ववियुको सचिव बनेकी थिइन्। विद्यार्थी विशेष जिल्ला कमिटी सदस्य, एमाले उपत्यका अञ्चल कमिटी सदस्य र सचिवालय सदस्य बनेर काम गरेको अनुभव उनीसँग छ। आठौं महाधिवेशनपछि उनी केन्द्रीय विभागको सदस्य बनिन्। अनेरास्ववियु विद्यालय प्रारम्भिक कमिटीको सहसचिव, सचिव, केन्द्रीय सदस्य, उपाध्यक्ष हुँदै उनी अध्यक्ष बनिन्। उनी एमाले क्षेत्रीय कमिटीको सदस्य पनि बनिन्।

उनी एमाले काठमाडौं जिल्ला कमिटी सदस्य, सहसंयोजक भइन्। काठमाडौं एमाले महिला विभाग प्रमुख, अञ्चल महिला विभाग प्रमुख, राष्ट्रिय परिषद् सदस्य, केन्द्रीय महिला विभाग प्रमुख, सम्पर्क विभाग प्रमुख, प्रचार विभाग प्रमुख, सहाना प्रधान प्रतिष्ठानको अध्यक्ष समेत भएकी झाँक्री राजनीतिक आन्दोलनका क्रममा पटकपटक पक्राउ परेकी थिइन्।

प्रकाशित: १७ कार्तिक २०७९ ००:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App