४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोरङ क्षेत्र नम्बर ४ मा कसले मार्ला बाजी ?

नयाँ उम्मेदवारले चान्स पाउने मोरङ क्षेत्र नम्बर ४ मा यो पटक नेकपा एमालेबाट विनोद ढकाल र नेकपा माओवादी केन्द्रबाट अमनलाल मोदी चुनावी प्रतिश्पर्धामा छन्। 

कांग्रेसको गढका रुपमा परिचित यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादीका अमनलाल मोदी निर्वाचित भएका थिए। मोदी नेपाली कांग्रेसका नेता महेश आचार्यलाई पराजित गर्दै निर्वाचित भएका थिए। २०७४ सालको आम निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीवीच गठबन्धन भएको थियो। यो पटकको निर्वाचनमा अवस्था वदलिएको छ। यो पटक नेपाली कांग्रेस, नेकपा माओवादीलगायतका दलहरूको चुनावी गठबन्धन भएको छ। 

बाम लोकतान्त्रिक गठबन्धनबाट अमनलाल मोदी उमेदवार छन् भने नेकपा एमालेबाट विनोद ढकाल उमेदवार छन्। नेपाली कांग्रेसको समर्थन भएका कारण नेकपा माओवादीका नेता अमनलाल मोदीलाई निर्वाचन सहज रहेको विश्लेषण हुने गरेको छ। तर, मोरङको क्षेत्र नम्बर ४ ले हरेक निर्वाचनमा नयाँ उमेदवारलाई जिताउने गरेका कारण विनोद ढकालले यो पटक बाजी मार्ने एमालेका स्थानिय नेता कार्यकर्ताले आँकलन गर्दै आएका छन्। यो क्षेत्रमा पहिलो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता महेश आचार्यलाई हराउँदै मधेसी जनअधिकार फोरमका भीमराज  राजवंशी निर्वाचित भएका थिए। यस्तै दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका महेश आचार्य निर्वाचित भएका थिए।  

यस्तै २०७४ सालको आम निर्वाचनमा नेकपा माओवादीका नेता अमनलाल मोदी निर्वाचित भएका थिए। २०७४ सालमा मोदी प्रत्यक्ष तर्फ पहिलो पटक यस क्षेत्रमा उमेदवार बनेका थिए  २०७९ सालको निर्वाचनमा माओवादी नेता मोदीले पुनः अवसर पाएका छन्। थारु बाहुल्य क्षेत्र भएका कारण थारु समुदायबाट उमेदवार बनेका मोदीले अघिल्लो निर्वाचनमा जातिय सेन्टीमेन्टका कारण निर्वाचन जितेका थिए। 

यस्तै बाम तालमेलले पनि उनलाई निर्वाचित हुन मद्धत पुर्‍याएको थियो। यो निर्वाचन क्षेत्रमा विराटनगर महानगरपालिकाको  १,३,८,९ र ११ नम्बर वडा पर्दछन्। यस्तै  कटहरी गाउँपालिका र ग्रामथान गाउँपालिका पनि यहि क्षेत्रमा पर्दछन्। यस्तै वेलवारीको ५,६ र ७ नम्बर वडा पनि यहि क्षेत्रमा पर्दछ। यस क्षेत्रमा स्थानिय तहको निर्वाचनमा कांग्रेस र एमालेवीच नै प्रतिश्पर्धा भएको थियो।

स्थानिय तहको निर्वाचनमा  विराटनगर महानगरपालिकाको ५ वटै वडामा नेकपा एमालेका वडा अध्यक्षका उमेदवार विजयी भएका थिए। यस्तै कटहरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार विजयी भएका थिए। कटहरीका  ७ वटा वडा मध्ये ५ वटामा एमाले, एउटामा कांग्रेस र एउटामा जसपाका उमेदवार निर्वाचित भएका थिए। ग्रामथान गाउँपालिकाको  अध्यक्षमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका थिए। 

ग्रामथानका ७ वटा वडा मध्ये ५ वटाको अध्यक्षमा एमाले, एउटामा कांग्रेस र एउटा वडामा नेकपा माओवादीका उमेदवार  निर्वाचित भएका थिए। यस्तै वेलवारीको तीनै वटा वडामा नेकपा एमालेका उमेदवार निर्वाचित भएका थिए। स्थानिय तहमा वडा अध्यक्षले पाएका मतका आधारमा हेर्दा यस क्षेत्रमा नेकपा एमाले अन्य दलभन्दा बलियो देखिएको छ। तर, नेपाली कांग्रेस, माओवादी, नेकपा एकिकृत समाजवादीलगायतका दलहरूको गठबन्धन भएका कारण नेकपा एमालेका उमेदवारलाई पनि जित निकाल्न त्यति सहज भने देखिँदैन।  

नेकपा एमालेले केन्द्रमा सहमति गरेर जसपासँग चुनावी तालमेल गर्ने निर्णय गरे पनि जसपाको भागमा परेको  क्षेत्र नम्बर ४ को प्रदेशसभा (२) मा एमालेले उमेदवार उठाए पछि क्षेत्रनम्बर ४ का जसपाका नेता कार्यकर्ता असन्तुष्ट  छन्। स्थानिय तहमा एमालेले पाएको वडागत मतको आधारमा  नेकपा एमालेका उम्मेदवार बलियो देखिए पनि मोरङमा एमाले–जसपा गठबन्धनमा किचलो देखिएकाले त्यसको असर निर्वाचन परिणाममा देखिने आँकलन गरिएको छ। यस्तै यो क्षेत्रमा नेपाली कांग्रेस बलियो अवस्थामा रहेको र गठबन्धनका अन्य दलहरूसमेत एकजुट रहेका कारण गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार अमनलाल मोदीलाई जित निकाल्न सहज रहेको स्थानिय नेताहरूको विश्लेषण छ। 

तर, नेकपा माओवादीका उम्मेदवारलाई कांग्रेसका कार्यकर्ता तथा मतदाताले मतदान नगर्ने हुन् की भन्ने चिन्ता गठबन्धनका दलहरूलाई छ। कांग्रेसको मत क्रस भएर एमालेका उमेदवारलाई गएको खण्डमा भने गठबन्धनका तर्फबाट माओवादीका उम्मेदवार अमनलाल मोदीलाई चुनाव जित्न कठिन हुने देखिन्छ। गठबन्धनका दलहरू र उमेदवार स्वयंले क्षेत्रनम्बर ४ का कांग्रेसका मतदातालाई गठबन्धनका उमेदवारका पक्षमा उभ्याउने विषयले यस क्षेत्रको मत परिणाम निर्धारण गर्ने  देखिएको छ।  

क्षेत्र नम्बर ४ मा एक लाख १० हजार ९३ जना मतदाता छन्। क्षेत्र नम्बर ४  अन्तर्गतका स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमाले अगाडि छ। एमालेले २५ हजार ७३० रकांग्रेसले २१ हजार ८९४ मत पाएको थियो। माओवादीले ९ हजार ९९०, राप्रपाले ४ हजार ६७४, जसपाले ३ हजार ११२ र एकीकृत समाजवादीले १ हजार २५५ मत ल्याएको  थियो।

प्रकाशित: १६ कार्तिक २०७९ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App