बारा इनर्वासिराका विक्रम माझीको जीवनमा आराम भन्ने शब्द नै छैन। पर्वको दिनसमेत काम गर्न बाध्य उनलाई छठ मनाउनसमेत कर्जा लिनुपर्यो। दैनिक ५ किलो धानमा मजदुरी गर्दै आएका उनले जतिसुकै चुनाव आए पनि बिहान बेलुकाको छाक टार्नमै जिन्दगी गुज्रेको सुनाए।
‘हाम्रा बाबुबाजेले पनि भुइतलामै बसेर यसैगरी पसिना बगाएर गए,’ उनले भने, ‘हाम्रो जीवन पनि यहि खरको छानोमुनि बित्दै छ।’ हरेक चुनावमा घर पक्का बनाइदिने बाचा गर्ने नेताहरू चुनाव जितेपछि चाहि आफ्नै घरको तला थप्ने गरेको उनले सुनाए। ‘जति मिहेनत गरेपनि गरिबको घर सधंै एक तला,’ उनले भने, ‘कामै नगरे पनि नेताका घर चाहिँ तीन तला चार तला।’
माझीको जस्तै बुझाइ छ कलैया–७ की सुकुलीदेवी पासवानको पनि। जतिसुकै परिवर्तन आए पनि आफ्नो दुख भने उस्तै रहेको उनी सुनाउँछिन्। ‘केहुंगा वयला हरही जोती (जसो भए पनि गोरुले हलो नै जोत्ने हो),’ उनले भनिन्, ‘परिवर्तन पनि ठूला मान्छेलाई मात्रै आएको छ।’
गाउँमा काम नपाएपछि यहाँका युवाहरू छिममी मुलुक भारतका विभिन्न राज्यसँगै खाडी मुलुक जाने गरेका छन्। चाडपर्वले उनीहरूलाई घर बोलाए पनि चुनावले भने रोक्न सकेको छैन। ‘छठ मनाउँन म भर्खरै भारतको गुजरातबाट आएको हुँ,’ २० वर्षीय करन पासवानले भने, ‘भोट हाल्ने समयसम्म बस्ने रहर पनि छैन।’ जीवनमा पहिलोपटक भोट हाल्ने अवसर पाएका करनलाई भोट हालेर परिवर्तन होला भन्ने विश्वास नलागेको सुनाए। ‘परिवर्तन भएको भए देखिहाल्थ्यौं नि,’ उनले भने। ‘त्यसैले चुनावअगाडि नै जाने तरखरमा छु।’
सर्वसाधारणको चासो घट्दै गएको चुनावमा उम्मेदवार र तिनका कार्यकर्तालाई भने निकै चटारो छ। चार वटा निर्वाचन क्षेत्र रहेको बारा जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमाकान्त चौधरी चुनावी मैदानमा रहेका छन् भने एमाले–जसपा गठबन्धनबाट एमालेका अच्युत मैनाली चुनावी मैदानमा छन्।
२०७४ सालको निर्वाचनमा एमालेका मैनालीलाई पराजित गरेका चौधरीलाई आफ्नै पार्टीका असन्तुष्ट पक्षबाट केही अप्ठेरो अवस्था सिर्जना भएको छ। मन्त्री बनेर पनि स्थानीयको काम नसकेको कतिपयको गुनासो छ। योसँगै काँग्रेस भित्रै देखिएको चौधरीप्रतिको आक्रोशको फाइदा एमालेका मैनालीलाई हुने सम्भावन देखिन्छ।
एमाले–जसपा गठबन्धनको मतसँगै असन्तुष्ट कांग्रेसको मत पनि आउन सक्ने सम्भावना भएकाले मैनाली विजयी हुने सम्भावना रहेको सिम्रौनगढका नरेश महतो सुनाउँछन्।
बाराको निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका शिवचन्द्र कुशवाहा, एमाले–जसपा गठबन्धनबाट जसपाका रामसहायक यादव चुनावी मैदानमा छन्। त्यस्तै स्वतन्त्रबाट वरिष्ठ अधिवक्ता अरूण कुमार ज्ञवाली, रामकिशोर यादव, रवीन्द्र यादव प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि प्रतिस्पर्धामा छन्।
सत्ता गठबन्धनका शिवचन्द्र कुशवाहालाई कांग्रेसका स्थानीय नेता, कार्यकर्ताले विश्वास गर्न सकेका छैनन् भने जसपाका रामसहायक यादवलाई पार्टी र एमालेकै कार्यकर्ताहरूले सहयोग नगर्ने अवस्थामा देखिन्छ।
यसअघि प्रतिनिधिसभा सदस्यमा विजयी बनेर मन्त्रीसमेत बन्दा यादवले निर्वाचन क्षेत्र नम्बरमा रहेको जनताहरूको समस्या समाधन गर्न पहल नगरेको र पार्टीकै कार्यकर्ताहरूसँग भेटघाट नगरेको गुनासो छ। दुवै गठबन्धनका उम्मेदवारहरूलाई छोडेर क्षेत्रका मतदाताहरूले स्वतन्त्र उम्मेदवार रहेका अरूण ज्ञवाली, रवीन्द्र यादव र रामकिशोर यादवप्रति झुकाव देखाएका छन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनबाट लोसपाका लालबाबु सिंह, एमालेबाट ज्वाला कुमारी साह र जनता समाजवादीबाट रामबाबु यादव चुनावी मैदानमा छन्।
एमाले–जसपा गठबन्धनबाट अलग अलग उम्मेदवार चुनावी मैदानमा उत्रनुले ज्वाला र रामबाबु दुवै अफ्टेरोमा देखिन्छन्। यसको प्रत्यक्ष लाभ सत्ता गठबन्धनबाट एक जना मात्रै चुनावी मैदानमा उत्रेका लालबाबु सिंहलाई पुग्ने देखिन्छ।
बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा सत्ता गठबन्धनबाट नेकपा (एस)का किसान श्रेष्ठ, एमाले–जसपा गठबन्धनबाट एकबाल मियाँ चुनावी मैदानमा रहेका छन्। यसअघि यसै क्षेत्रबाट निर्वाचित बनेका मियाँ अन्तिम समयमा आएर लोसपाबाट एमालेमा प्रवेश गरेका हुन्। चुनावको मुखमा आएर उनले गरेको पार्टी परिवर्तनले उनलाई घाटा पर्ने कतिपयको बुझाइ छ। उनले प्रतिनिधिसभाको टिकट लिएपछि पुराना एमालेका नेता, कार्यकर्ताहरू मियाँ र एमाले पार्टीप्रति रुष्ट बनेको देखिन्छ।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका किसान श्रेष्ठलाई यस क्षेत्रका केही कांग्रेसी नेता, कार्यकर्ताहरूले असहयोग गर्न खोजेपनि तल्लोतहमा गठबन्धनका कार्यकर्ताहरूले खुलेर लागेकाले उन िबिजयी हुने सम्भावना बढेको छ। स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लले समाजवादीका किसान श्रेष्ठलाई अप्ठेरो पार्ने प्रयास गरे पनि छोटो समयमा किसान स्थानीय जनतासँग नजिक भइसकेका छन्। कांग्रेसको साथसाथै लोसपाका नेता जितेन्द्र सोनार पनि ४ (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनेका कारणले समेत श्रेष्ठलाई निर्वाचनमा सजिलो बनेको छ। बौद्धिक नेताको छबि बनाएका सोनार यस क्षेत्रमा जनतामाझ चर्चित छन्।
प्रकाशित: १६ कार्तिक २०७९ ०२:२४ बुधबार