१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेले गरेका कामको जस लिने कोसिस

मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि दोस्रोपटक प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, सामाजिक न्याय र धर्मनिरपेक्षतासहितको राजनीतिक व्यवस्थाबाट प्राप्त उपलब्धिको रक्षा गर्ने प्रतिबद्धता जनाएको छ।  

एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान जारी भएपछि संविधान उल्लंघन गरेको र जनतालाई कुठाराघात गरेकै कारण प्राप्त उपलब्धि गुम्ने खतरा रहेको तर त्यसलाई आफ्नो पार्टीले रक्षा गर्ने प्रतिबद्धता नेकपा एसले गरेको हो। नेकपा एसद्वारा सोमबार जारी चुनावी प्रतिबद्धतापत्रमा ओलीकै कारण आफूहरूले विद्रोह गर्नुपरेको उल्लेख छ।

प्रतिबद्धतापत्रमा एमाले र ओलीको आलोचना गर्दै देशभरका कम्युनिस्टहरूसँग एकता र सहकार्य गर्नेसमेत उल्लेख छ। ‘नेपाली कम्युनिस्ट आन्दोलन अनेकौं उकालीओराली र संकटका विभिन्न भँगाला पार गर्दै अगाडि बढिरहेको छ। कम्युनिस्ट पार्टीले सही विचार, सिद्धान्त र कार्यक्रमका आधारमा आफूलाई अगाडि बढाउँदा छरिएर रहेका कम्युनिस्टबीच एकता र सहकार्य अगाडि बढेको छ। यसो गर्दा लोकतान्त्रिक र देशभक्त शक्तिहरूलाई साथमा लिएर देशको राजनीतिमा महत्वपूर्ण परिवर्तन ल्याउन सम्भव भएको छ,’ प्रतिबद्धतापत्रमा उल्लेख छ।

नेकपा एसले विगतमा एमालेले गरेका कामको जस लिने प्रयास गरेको छ। मनमोहन अधिकारीको नेतृत्वमा गठित २०५१ सालको नौ महिने सरकारको ‘आफ्नो गाउँ, आफैं बनाऔं’ कार्यक्रमले स्थानीय विकासको क्षेत्रमा आधारभूत परिवर्तन ल्याएको पनि प्रतिबद्धतापत्रमा उल्लेख छ।  

प्रत्येक निर्वाचन क्षेत्रमा समान बजेट छुट्ट्याउने गरी ‘नौ स’ (स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानी, स्थानीय सडक, साना सिँचाइ, सघन वन, सामुदायिक विद्युतीकरण, साना तथा लघु उद्योग, सीपमूलक तालिम) जस्ता पूर्वाधार र रोजगारमूलक कार्यक्रम अघि सारिएको पनि प्रतिबद्धतापत्रमा समेटिएको छ।

त्यस्तै शान्ति स्थापनाका लागि आएको तत्कालीन ‘अनमिन’लाई बिदाइ, पुष्पलाल (मध्यपहाडी) लोकमार्गको सुरुवात, काठमाडौं–निजगढ द्रुतमार्गको सुरुआत, स्थानीय तहमा महिला र उत्पीडित–दलित समुदायको प्रतिनिधित्वको सुरुआत, उपल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको सुरुवात, कलंकी–नौबिसे सुरुङमार्गको कार्य प्रारम्भ, जनता आवास कार्यक्रम, विद्यालय र बालबालिका शान्ति क्षेत्र घोषणा, अन्तरजातीय विवाहलाई प्रोत्साहन, एकल महिलालाई प्रोत्साहित गर्ने कार्यक्रम, महिलामाथि हुने हिंसा नियन्त्रण गर्न प्रहरीमा महिला सेलको स्थापना, अपांगता भएका व्यक्तिलगायतको सामाजिक सुरक्षा कार्यक्रमलाई नेकपा एसले मुख्य उपलब्धिका रूपमा चित्रण गरेको छ, जुन एमालेको अगुवाइमा भएका कार्य हुन्।  

आत्मनिर्भर अर्थतन्त्र  

नेपालको पछौटेपन, आयातमा आधारित राजस्वको मूल स्रोत, डरलाग्दो रूपमा बढ्दै गएको व्यापार घाटा, चर्को बेरोजगारी, कृषिबाट सक्रिय जनशक्तिको पलायन, युवाहरूको विदेश पलायन, ऋणको मात्रामा निरन्तर वृद्धि, बजेटको पुँजीगत खर्च नहुने समस्या, महँगीको अचाक्ली वृद्धि, कालोबजारी, उत्पादनका स्रोतसाधनमा दलाल पुँजीपतिहरूको नियन्त्रण, मिटरब्याजीको शोषण, वित्तीय क्षेत्रमा मौलाएका विकृति, अभाव र गरिबी नेपाली अर्थतन्त्रका आधारभूत समस्या रहेको नेकपा एसको निष्कर्ष छ।

‘हामीले जबसम्म हाम्रो आफ्नै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्तैनौं तबसम्म अर्थतन्त्रका उपर्युक्त समस्याबाट मुक्त हुन सकिँदैन र हाम्रो परनिर्भरता कायमै रहन्छ,’ घोषणापत्रमा भनिएको छ, ‘कृषि, उद्योग, ऊर्जालगायत क्षेत्रमा उत्पादन वृद्धि र पर्यटन, व्यवस्थापन एवं सूचना प्रविधिजस्ता सेवा क्षेत्रहरूको विकास र विस्तार गरेर परनिर्भरता कम गर्दै जानु र आत्मनिर्भर अर्थतन्त्रको जग बसाल्नु आजको हाम्रो मुख्य आर्थिक कार्यभार हो। यो कार्यभार वहन गर्न हामी दृढतापूर्वक अगाडि बढ्न चाहन्छौं।’

स्वाभिमानको संवद्र्धन

प्रतिबद्धतापत्रमा मुलुक भूपरिवेष्टित मात्र नभएर दुई ठूला शक्तिशाली राष्ट्रहरूबीच अवस्थित रहे पनि इतिहासमा कहिल्यै कसैको उपनिवेश नभएको तर बेलाबेलामा बाह्य हस्तक्षेपबाट आक्रान्त हुँदै आएको स्वीकार गरिएको छ। नेपाल राष्ट्रको स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता सम्पन्नता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै आएको उल्लेख गर्दै नेकपा एसले अब पनि दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गरेको छ।

स्वदेशमै रोजगारी  

रोजगारीका लागि बिदेसिएका युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न १० लाखसम्म निब्र्याजी ऋण दिने व्यवस्था गरी ‘बिदेसिएका युवालाई स्वदेश फर्काऔं, कृषि उत्पादनमा वृद्धि गरौं’ अभियान नै सञ्चालन गर्ने, किसानहरूले उत्पादन गर्ने प्रमुख खाद्यबालीमा न्यूनतम समर्थन मूल्य तोकेर त्यसभन्दा कम बजार मूल्य भए सरकारले नै खरिद गर्ने व्यवस्था मिलाउने, भूमिहीन तथा स्व–बासीका समस्या समाधान गरिने प्रतिबद्धतापत्रमा उल्लेख छ।  

भूउपयोग नीति र आवश्यक कानुन निर्माण गरी भूमिको वर्गीकरण गरी सोहीबमोजिम उपयोगको व्यवस्था गर्ने, कृषिभूमि अतिक्रमण गर्न नपाइने व्यवस्था कडाइका साथ लागु गर्ने, राष्ट्रव्यापी रूपमा जग्गाको नापी सम्पन्न गरी भूमिको वर्गीकरणसहितको अभिलेख अद्यावधिक गर्ने, भूमिसम्बन्धी सम्पूर्ण अभिलेख डिजिटल प्रणालीमा आबद्ध गर्नेलगायत विषय पनि नेकपा एसको प्रतिबद्धतापत्रमा उल्लेख छ।  

नेपालको पानी नेपालमै

नेपालको पानी नेपालमै भन्ने अवधारणालाई सार्थकता दिन पूर्वदेखि पश्चिमसम्मका नदीलाई एकअर्कासँग जोडी ‘पूर्व–पश्चिम मेघा नहर’ बनाएर सिँचाइ, कृषिसडक, खानेपानी तथा जलमार्ग र निश्चित स्थानहरूमा पर्यटकीय स्थलहरूको विकास गर्ने गरी राष्ट्रिय गौरवको आयोजना बनाउन पहल गर्ने नेकपा एसले जनाएको छ। तराई÷मधेस र भित्री तराईको कृषिभूमि सिँचाइ गर्न तमोर–मोरङ, सुनकोसी–कमला र सुनकोसी–मरिन–वाग्मती, कालीगण्डकी–तिनाउ, राप्ती–सुराई, भेरी–बबई, पश्चिम सेती–कैलाली–पान्डुन, शारदा नदीलगायत डाइभर्सन योजना अगाडि बढाउने कुरालाई पनि नेकपा एसले जोड दिएको छ।  

भूमिगत जलस्तरमा वृद्धि गर्न पानी पुनर्भरण परियोजना सञ्चालन गर्ने तथा आकासे पानी संकलन तथा भण्डारणका लागि पोखरी निर्माण गर्ने र भूमिगत सिँचाइको सम्भावना भएका तराई–मधेस र अन्य स्थानमा स्यालो तथा डिप ट्युबवेलको माध्यमद्वारा र पहाडी भूभागमा अवस्थित समथर भूभाग, बेंसी तथा टारमा सौर्य ऊर्जा एवं अन्य प्रविधिमा आधारित लिफ्ट सिँचाइ कार्यक्रम लागु गर्नेलगायत विषयलाई नेकपा एसले प्रतिबद्धतापत्रमा समेटेको छ।

घरघरमा बिजुली–जनजनमा सेयर

नेकपा एसले ‘घरघरमा बिजुली–जनजनमा सेयर’ नीति लागु गर्दै आकर्षक प्रतिफल दिने जलविद्युत् परियोजनामा जनता र सरकारको संयुक्त लगानी प्रवद्र्धन गर्ने, त्यसका लागि स्वदेश र प्रवासमा रहेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीलाई प्रोत्साहित गर्ने र निरपेक्ष गरिबीको रेखामुनि रहेका व्यक्तिलाई पनि सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गर्न पहल गर्ने उल्लेख गरेको छ। नेपालको पूर्ण क्षमताअनुसारको जलविद्युत् उत्पादन गर्न एवं मागबमोजिम ऊर्जा प्रवाह नियमित गर्न जलाशयुक्त बहुउद्देश्यीय (जलविद्युत्, सिँचाइ, खानेपानी, पर्यटन प्रवद्र्धन आदि) ठुला आयोजना निर्माणलाई प्राथमिकता दिने त्यस लागि सरकारी, सहकारी र निजी क्षेत्रलाई संलग्न गराउने र स्वदेशी लगानीमा निर्माण गर्न समय लाग्ने परियोजना राष्ट्रियहित अनुकूल हुने गरी अन्तर्राष्ट्रिय समुदायलाई पनि निर्माणको जिम्मा दिन सकिने गरी नीति बनाउने कुरा नेकपा एसको प्रतिबद्धतापत्रमा उल्लेख छ।  

सीमा सुरक्षा र आवागमन व्यवस्थापन

नेकपा एसले मित्रराष्ट्रसँगको सीमा समस्या समाधान गर्न र अतिक्रमित नेपाली भूभाग फिर्ता लिन उच्च प्राथमिकतासहित कूटनीतिक पहल गर्न दबाब दिइने उल्लेख गरेको छ। नेपालको अन्तर्राष्ट्रिय सिमानालाई अन्तर्राष्ट्रिय कानुन र स्थापित मूल्यमान्यताअनुरूप नियमित गर्ने, देशका सिमाना र दसगजा क्षेत्रलाई व्यवस्थित गरी राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै देशबाट बाहिरिने र देशमा भित्रिने मानिसको व्यवस्थित रेकर्ड राखिने नेकपा एसले जनाएको छ।  

यसैगरी मुलुकको राष्ट्रिय हित र आवश्यकताअनुरूप विदेशी लगानीलाई प्रोत्साहित गरिने पनि नेकपा एसले प्रतिबद्धतापत्रमा उल्लेख गरेको छ। यस्ता लगानी भिœयाउन झन्झटरहित सरल कानुनी व्यवस्था र प्रशासनिक वातावरण सृजना गरिने र नेपालको कानुनबमोजिम न्यूनतम ५० करोड रुपैयाँ लगानी गर्ने विदेशी लगानीकर्तालाई ‘विदेशी लगानीकर्ता परिचयपत्र’ उपलब्ध गराइने नेकपा एसले जनाएको छ। यसरी लगानी गर्ने विदेशी लगानीकर्ताले कानुनबमोजिम सम्पत्ति खरिदबिक्री गर्नसमेत पाउने व्यवस्था मिलाइने कुरा पनि नेकपा एसको घोषणापत्रमा उल्लेख छ।  

प्रकाशित: १५ कार्तिक २०७९ ०१:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App