निर्वाचन आयोगले कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म उम्मेदवारले चुनावी प्रचारप्रसार गर्न पाउने बताएको छ।
सोमबार आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने जानकारी दिएका हुन्।
विज्ञप्तिमा भनिएको छ,'निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ मा राजनीतिक दल, उमेदवार, दलको भ्रातृ सङ्गठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसारसम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरणको व्यवस्था गरिएको छ। उक्त दफा १३ को (म)मा उमेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १७ दिनअघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था रहेको हुँदा यही कात्तिक १७ गतेदेखि मंसिर १ गतेसम्म सोबमोजिम निर्वाचन प्रचारप्रसारसमेत गर्न सकिने व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ।'
प्रकाशित: १४ कार्तिक २०७९ ०६:५४ सोमबार