२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

पूर्वअर्थमन्त्री र अर्थशास्त्रीबीच प्रतिस्पर्धा

पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डे र अर्थशास्त्री विश्वनाथ पौडेलले अर्थतन्त्रसम्बन्धी विभिन्न बहसमूलक कार्यक्रममा वक्ताका रूपमा धेरै मञ्च ‘सेयर’ गरेका छन्। त्यस्ता अवसरहरूमा उनीहरूबीच सौहार्दपूर्ण सम्बन्ध देखिन्थ्यो। तर अहिले यी दुवै फरकफरक राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिएका छन्। यसअघि उाीहरूबीच जति नै सौहार्दतायुक्त र मैत्रीपूर्ण सम्बन्ध भए पनि चुनावी मैदानमा भने एकले अर्कालाई हराउने रणनीतिका साथ लाग्नेमा कुनै शंका छैन।

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका पाण्डे र र अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाट हालसालै राजीनामा दिएका पौडेल चितवन क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धा गर्दैछन्। पाण्डे र पौडेल दुवै नेपालको अर्थतन्त्र र अर्थशास्त्रमा गहिरो ज्ञान भएका व्यक्तिका रूपमा परिचित छन्। पाण्डेले तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारका पालामा अर्थमन्त्रीको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए। अर्थशास्त्री पौडेल पनि अर्थतन्त्रका विषयमा गहिरो ज्ञान भएका व्यक्ति मानिन्छन्। अर्थशास्त्री पौडेल नेपाली कांग्रेसका तर्फबाट र पूर्वअर्थमन्त्री पाण्डे एमाले उम्मेदवार बनेका हुन्। चितवन १ मा यी दुईको प्रतिस्पर्धा रोचक हुने अनुमान गरिएको छ।  

पाण्डेको जन्म २०१५ भदौ ९ गते चितवनमा भएको थियो। उनले समाजशास्त्रमा स्नातकोत्तर गरेका छन्। पाण्डे २०३१ सालदेखि कम्युनिस्ट आन्दोलनमा आबद्ध भई राजनीतिक यात्रा थालेका हुन्। पाण्डे तत्कालीन पञ्चायती व्यवस्थामा १० वर्ष भूमिगत रूपमा पार्टीमा सक्रिय रहे। उनले पाँच महिनाभन्दा धेरै समय बन्दी जीवन बिताएका थिए।  

पाण्डे २०५४ सालमा राष्ट्रियसभा सदस्य बनेका थिए। २०६४ सालमा समानुपातिकबाट संविधानसभा सदस्य भएका पाण्डेले २०६५/६६ सालमा कुशलतापूर्वक अर्थमन्त्रीका रूपमा आफ्नो जिम्मेवारी पूरा गरे। पाण्डे २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षबाट विजयी भएका थिए। पाण्डेले २०७४ सालमा पनि प्रत्यक्षबाटै चितवन १ मा विजयको झन्डा गाडेका थिए।  

अर्का उम्मेदवार पौडेलका आमाबुबा ६० वर्षअघि कास्कीबाट चितवनमा बसाइँ सरेका थिए। अर्थशास्त्री पौडेल ४६ वर्षअघि चितवनको बेल्सीमा जन्मेका हुन् । उनले प्राथमिक तहको अध्ययन त्यहीँकै राष्ट्रिय प्राथमिक विद्यालयमा गरेका थिए। नेपाल माध्यमिक विद्यालयमा कक्षा १० उत्तीर्ण गरेका उनले अमृत साइन्स क्याम्पसमा अध्ययन गरेपछि सरकारी छात्रवृत्तिमा चीनको सांघाईमा स्नातक अध्ययन गर्न पुगे। स्नातक अध्ययनपछि अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट स्नातकोत्तर तथा विद्यावारिधि गरेका थिए।

विद्यावारिधि उपाधि पाएसँगै नेपाल फर्किएर काठमाडौं विश्वविद्यालयमा ‘एसोसिएट प्रोफेसर’का रूपमा उनले अध्यापन गरे। एउटा निजी बैंकमा काम गरेको अनुभवसमेत उनीसँग छ। राष्ट्रिय योजनाका आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्ले योजना आयोगको उपाध्यक्ष हुँदा उनले आयोगमा आर्थिक सल्लाहकारका रूपमा समेत काम गरे। पौडेलसँग यसअघि अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव पनि छ।

अर्थतन्त्र र आर्थिक विषयमा पौडेलका विभिन्न लेखरचना तथा शोध प्रकाशित भएका छन्। प्रधानमन्त्री देउवाले पौडेललाई २०७८ साउन १२ गते आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेका थिए। उपाध्यक्ष पौडेलले आयोगमा करिब १४ महिना काम गरे। पौडेलले असोज २० गते आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर कांग्रेसका तर्फबाट प्रतिनिधिसभाको उम्मेदवार बनेका हुन्।

पौडेलको उम्मेदवारी किन?

कांग्रेससहितको वाम लोकतान्त्रिक गठबन्धनबाट उम्मेदावारी दिएका विश्वनाथ पौडेलले चितवन १ मा यसअघिका उम्मेदवारले राम्रो काम नगरेकाले आफ्नो उम्मेदवारी परेको दाबी गरे। ‘मैले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हुँदा मुलुकभरिको धेरै विकास हेरे। तर मेरो जन्मथलो पूर्वी चितवनको विकास निर्माण धेरै नै पछाडि परिरहेको थियो। पटकपटक एउटै मान्छेलाई नेतृत्व सुम्पिँदा आफ्नो ठाउँको विकास अगाडि बढ्ने नदेखेर मैले राजनीतिमा आउने निर्णय गरेको हुँ,’ उनले नागरिकसँग भने, ‘यदि म निर्वाचित भएँ भने पूर्वी चितवनको शिक्षा र स्वास्थ्य, सडक तथा सिँचाइ पूर्वाधार, पर्यटन क्षेत्रमा महŒवपूर्ण योगदान दिनेछु। पूर्वी चितवन र पश्चिम चितवनमा विकासको जुन असमानता देखिएको छ। त्यसलाई कम गर्न यथाशक्य प्रयास गर्नेछु।’  

उम्मेदवार पौडेलले अझै पनि चितवनमा पर्याप्त भौतिक पूर्वाधार नभएकाले त्यसका लागि योजना अघि बढाउने अजेन्डा अघि सार्ने भएका छन्। ‘पूर्वी चितवनमा विकास निर्माणको काम राम्रो भएको छैन। यसरी चल्दैचल्दैन। त्यसैले शिक्षा, स्वास्थ्य, सडक, पूर्वाधारलगायतसँग सम्बन्धित अजेन्डा लिएर चुनावी मैदानमा उत्रिएको छु,’ उनले भने, ‘विशेषगरी विकास निर्माणका आयोजना निर्माण गर्दा पहुँचमा नभएका महिला तथा सर्वसाधारणलाई समेत समावेश गरेर अघि बढ्नेछु।’ उम्मेदवार पौडेलले मुलुकको विकासका लागि ऊर्जा क्षेत्रको विकास गरेर नै मुलुकको कायापलट गर्न सकिने बताए। नेपालमा सडक तथा यातायात सञ्जाल गुणस्तरीय सडक निर्माणलगायतको काम गर्नुपर्ने हुन्छ। कृषि ,पर्यटन, शिक्षा र स्वास्थ्य र पर्यटन क्षेत्रमा धेरै नै राम्रो काम अघि बढाउने दाबी गरे।

पाण्डेको उम्मेदवारी किन?

एमाले उम्मेदवार सुरेन्द्र पाण्डे पूर्वी चितवनलाई दीर्घकालीन रूपमा अर्थ राख्ने खालका र यसअघि आफूले अघि सारेका विकास निर्माणका कतिपय अधुरा काम सम्पन्न गराउन उम्मेदवारी दिएको बताउँछन्। ‘पहिलो कुरा, हिजो हामीले अघि सारेका पूर्वी चितवनलाई समुन्नत र विकासित गराउने खालका कतिपय काम सम्पन्न भएका छन्। तर कतिपय काम अझै निर्माणको संघारमा छन्। ती आयोजनालाई सम्पन्न गराउन पनि मैले फेरि उम्मेदवारी दिएको हुँ,’ पाण्डेले नागरिकसँग भने, ‘पूर्वी चितवनलाई विकास र समृद्धिको बाटोमा डो¥याउन पनि मैले उम्मेदवारी दिएको हुँ।’

पाण्डेले चितवनको सौरहादेखि लोथरसम्म पर्यटन प्रवद्र्धनको योजना अघि बढाउने अजेन्डा अघि सारेका छन्। ‘चितवनमा बजारकेन्द्रित मात्रै पर्यटनको विकास भइराखेकाले ग्रामीण क्षेत्र केन्द्रित पर्यटनको विकास गर्ने गरी अजेन्डा अघि सारेका छौं,’ उनले भने, ‘अहिले पूर्वी चितवनमा रिङरोडलगायत पूर्वाधार सम्पन्न गरेर चितवनवासीको आयस्तर सुधार गर्नेतर्फ लाग्नेछौं।’ पाण्डेले भौतिक पूर्वाधार मात्रै होइन, व्यक्तिको आयस्तरमा समेत सुधार ल्याउनेतर्फ प्रयत्न गरिने बताए। ‘दाना उद्योग, पोल्ट्री, केरा खेती, मेडिकल शिक्षालगायत क्षेत्रमा चितवन मुलुककै अग्रणी स्थानमा आइसकेको छ,’ उनले भने, ‘अब कृषिलाई आधुनिकीकरण र जनताको जनजीविकामा सुधार गर्नेतर्फ केन्द्रित हुनुपर्ने बेला भइसक्यो।’ उनले कृषि प्रशोधन उद्योग तथा प्राविधिक क्षेत्रमा काम गर्ने बताए।

यस्ता छन् अन्य उम्मेदवार  

चितवन १ मा राजनीतिक दल र स्वतन्त्रतर्फबाट १९ जनाको उम्मेदवारी दर्ता भएको छ। यद्यपि मुख्य प्रतिस्पर्धा भने एमालेका पाण्डे र कांग्रेसका पौडेलबीच नै हुनेछ। जनता समाजवादी पार्टी (जसपा) बाट अजय ठाकुर हजाम, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधुपकुमार भट्टराई, नेपाल मजदुर किसान पार्टीबाट अर्जुन प्रजा, मंगोल नेसनल अर्गनाइजेसनबाट कुमारी थिङ, एकीकृत शक्ति नेपालबाट नवीन खड्का, नेपाल सुशासन पार्टीबाट गोविन्दप्रसाद रिजाल र राष्ट्रिय पार्टीबाट हरि ढकाल यही क्षेत्रमा उम्मेदवार छन्। स्वतन्त्र उम्मेदवारहरू जीवन तामाङ, विष्णु लामा, दीपक पाठक, अरूण कुमार उप्रेती, ओमकृष्ण थपलिया, तिलकमणि पाठक, उत्सव धमला, राजेन्द्रप्रसाद बुर्लाकोटी, कुमार आचार्य, राजन न्यौपानेलगायतको उम्मेदवारी परेको छ।

२०७० र २०७४ सालको निर्वाचनमा कांग्रेस उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटीले यसपालिको निर्वाचनमा पार्टीका तर्फबाट टिकट पाएनन्। पार्टीका तर्फबाट टिकट नपाएपछि बागी उम्मेदवारी दर्ता गराएका थिए। तर असोज ३१ गते प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बालुवाटार पुगेर कांग्रेसका उम्मेदावार पौडेललाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निष्क्रिय पार्ने घोषणा गरेका छन्। ‘मैले जीवनभर नेपाली कांग्रेसप्रति गरेको त्याग, संघर्ष र मेहनतका कारण मैले अर्को उम्मेदवार हुँदाहुँदै स्वतन्त्र उम्मेदवार बनिरहन सकिन,’ बुर्लाकोटीले असोज ३१ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनेका छन्, ‘पार्टीले मलाई सम्मानजनक भूमिका दिने विश्वास दिलाएकाले चितवन १ मा रहेको मेरो स्वतन्त्र उम्मेदवारी आजकै मितिदेखि निष्क्रिय भएको घोषणा गर्छु।’

मतको अंक गणित

पूर्वअर्थमन्त्री पाण्डे र अर्थशास्त्री पौडेलबीच प्रतिस्पर्धा हुने भएपछि चितवन १ को चुनावी सरगर्मी ह्वात्तै बढेको छ। सो क्षेत्रमा प्रत्यक्षतर्फ पाण्डे ‘ह्याट्रिक’ गर्ने दाउमा छन्। अर्थशास्त्री पौडेल भने एमालेमा आएको फुटको फाइदा उठाउँदै पाण्डेलाई हराएर आफू राजनीतिक रूपमा स्थापित हुने सुरमा छन्। पाण्डे २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट कांग्रेसका राजेन्द्रप्रसाद बुर्लाकोटीलाई हराएर विजयी भएका थिए। २०७४ सालको प्रतिनिनिधसभाको निर्वाचनमा पाण्डेले ५१ हजार ८० मत ल्याएर विजयी भएका थिए। त्यसैगरी पाण्डेका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बुर्लाकोटीले ३५ हजार ३६० मत ल्याएका थिए। त्यतिबेला एमाले र माओवादी केन्द्रबीचको गठबन्धनका कारण पनि भारी मतान्तरले पाण्डे विजयी भएका थिए।  

अहिले एमाले टुक्रिएको छ। एकातर्फ माधवकुमार नेपालतर्फका नेता भनेर चिनिएका पाण्डे अन्तिम समयमा एमालेमै बसेका थिए। अहिले नेकपा एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेस गठबन्धनका उम्मेदवार पौडेलले पाण्डेलाई कडा टक्कर दिने आकलन गर्न सकिन्छ।

चितवन १ मा १ लाख ३९ हजार ८४५ मतदाता छन्। यो निर्वाचन क्षेत्रमा राप्ती, खैरहनी र रत्ननगर पालिका पर्छन्। गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले तीनवटै क्षेत्रमा पराजित भएको थियो। स्थानीय तहको निर्वाचनमा एमाले वडाध्यक्षहरूले ३९ हजार ६ सय ६ मत र गठबन्धनका वडाध्यक्षहरूले ४६ हजार ५७७ मत ल्याएका थिए।

पाण्डे र पौडेलबीचको सम्बन्ध

चितवन १ मुख्य प्रतिस्पर्धी उम्मेदवार पाण्डे र पौडलले आफूहरूबीच सौहार्दपूर्ण सम्बन्ध रहेको दाबी गरेका छन्। यसअघि टेलिभिजन टक सोदेखि अर्थतन्त्र सम्बन्धित विभिन्न बहसमूलक कार्यक्रममा दुवैले एउटै मञ्च सेयर गरेर कार्यक्रममा पनि उपस्थिति जनाउँदै आएका छन्। एमाले उम्मेदवार पाण्डेले आफ्ना प्रतिस्पर्धी पौडेलसँग सौहार्दपूर्ण सम्बन्ध रहेको बताए। ‘कांग्रेसका शीर्ष नेतादेखि कार्यकर्तासँग मेरो सम्बन्ध राम्रो नै छ। विश्वजीसँग पनि नराम्रो सम्बन्ध हुने कुरै छैन। म उहाँलाई राम्रोसँग चिन्छु। कतिपय कार्यक्रममा म र उहाँ सँगसँगै निम्त्याइएका पनि छौं। विभिन्न बहस कार्यक्रममा सहभागी पनि भएका छौं। त्यसैले उहाँ मेरा लागि अपरिचित व्यक्ति होइन, मैले चिन्छु,’ पाण्डेले भने। अर्थशास्त्री पौडेल पनि पाण्डेसँग राम्रो चिनजान भएको बताउँछन्। ‘पाण्डेजीसँग पनि मेरो व्यक्तिगत सम्बन्ध राम्रै छ। हामी सौहार्दपूर्ण वातावरणमा चुनावी प्रतिस्पर्धा गर्नेछौं,’ पौडेलले भने।

प्रकाशित: १४ कार्तिक २०७९ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App