coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सीमामा भारतको दादागिरी

दार्चुला जिल्लाको उत्तरी भूभाग व्यास गाउँपालिकाको त्रिदेशीय सीमा क्षेत्रमा भारतीय पक्षको दादागिरी सदैव रहँदै आएको छ। राष्ट्रिय विकरालका रूपमा चिनिएको दार्चुलाका कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र अतिक्रमणसम्म भएको यस क्षेत्रमा भारतीय पक्षको दबदबा रहँदै आएको छ। भारतीय पक्षले व्यास गाउँपालिकामा आफूअनुकूल गतिविधि सञ्चालन गरिरहँदा नेपाली नागरिक प्रत्यक्ष मारमा पर्दै आएका छन्।

सुरक्षाकर्मीका दुव्र्यवहार, तुइन काट्ने, सुरक्षा जाँचका नाममा खानतलासी, मालसामानमा रोकतोक तथा यात्रा अनुमतिपत्रका नाममा झन्झटका साथै पछिल्लो समय भारतीय पक्षले महाकाली नदीकिनारमा सडक निर्माण गरिरहेका बेला नेपालतर्फ अर्को दुःखद घटना भएको छ।

भारतीय पक्षले पश्चिम नेपालको सीमा क्षेत्र महाकाली नदीकिनारमा निर्माण गरिरहेको तवाघाट–लिपुलेक सडकमा विस्फोट गराउँदा उछिट्टिएको ढुंगा लागेर शुक्रबार बिहान नेपालमा हिँडिरहेका एक अबोध बालकको मृत्यु भएको छ। व्यास–२ स्थित तम्बाकु क्षेत्रमा बुवासँगै घर फर्किरहेका दुम्लिङका स्थानीय हिक्मत महराका ९ वर्षीय छोरा पवनको ढुंगाले लागेर मृत्यु भएको हो। तम्बाकुबाट दुम्लिङ घर फर्किरहेका बेला भारतीय सडक निर्माणमा जिलेटिन विस्फोट गराउँदा उछिट्टिएर आएको ढुंगा टाउकोमा लाग्दा पवनको घटनास्थलमै मृत्यु भएको हो।  

घटना भएको जानकारी पाउनेबित्तिकै दुम्लिङ प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको संयुक्त टोलीले मुचुल्का तयार पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी तर्कराज पाण्डेयले बताए। भारतीय बाटो हुँदै प्रहरी टोलीसहित शव जिल्ला सदरमुकाम पुर्‍याइएको छ। बालकको शवलाई शनिबार जिल्ला अस्पतालमा पोस्टमार्टम गरिएको छ।

शुक्रबार बिहान साढे ९ बजेतिर तम्बाकुको थी गाउँबाट फर्कने क्रममा पारि एक्कासि विस्फोट भई आएको ढुंगा लागेर पवनको टाउको क्षतविक्षत भएको व्यास–२ का वडाध्यक्ष धिरेनसिंह बुढाथोकीले बताए। दसैंतिहारको बिदामा बाख्रा चराउन तथा तरकारी लगाउन हिक्मतको परिवार थी गाउँ जाने र स्कुल बिदा सकिएपछि दुम्लिङ फर्कने क्रममा यस्तो घटना भएको वडाध्यक्ष बुढाथोकीले बताए। ‘यसअघि भारतीय पक्षले विस्फोट गराउँदा सिठी बजाउँथ्यो। हिजो एक्कासि विस्फोट गराउँदा यस्तो गम्भीर दुर्घटना भयो’, वडाध्यक्ष बुढाथोकीको भने, ‘विगतका वर्षमा पनि भारतीय पक्षले सीमामा जानकारी नगराई विस्फोट गराउँदा दुई÷तीनजना मानिसका साथै जनावर घाइते भएका थिए। यही विस्फोटमा परी हिक्मतकी छोरी १४ वर्षीया सरिना घाइते भएकी थिइन्। उनको खुट्टामा चोट लागेको छ। जिल्ला अस्पताल खलंगामा उनको उपचार भइरहेको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले बताए।

अन्तर्राष्ट्रिय सीमाक्षेत्रमा कुनै भौतिक संरचना बनाउँदा दुवै देशले एकअर्कालाई असर पुर्‍याउने काम गर्न नपाइने र विस्फोट गराउनैपर्ने भए त्यसको सूचना दिनुपर्ने नियम छ तर शुक्रबार भारतीय पक्षले सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा सूचना नै दिएन। भारत पिथौरागढ जिल्लाको धार्चुलाअन्तर्गत तवाघाट–लिपुलेक सडकखण्डको लखिमपुरको चट्टानी भूभागमा सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग निर्माण कम्पनीले कुनै जानकारी नदिई विस्फोट गराउँदा घटना हुने गरेको स्थानीयको गुनासो छ। सीमा क्षेत्रमा हुने यस्ता क्रियाकलाप रोकिनुपर्नेमा स्थानीयले माग गरेका छन्।

दुम्लिङदेखि माथिल्लो क्षेत्रमा नेपालतर्फको सीमा क्षेत्रमा व्यापक नोक्सान हुने गरी भारतीय पक्षले सीमापारि सडक निर्माण गरिरहेको छ। भारतीय लखिमपुर क्षेत्रमा कडा चट्टानी भूभाग रहेकाले सडकको पहरा तोड्न दैनिकजसो विस्फोट गराउने गरेको स्थानीय चक्रसिंह ह्याकीले बताए। सीमा क्षेत्रमा भारतीय पक्षले ठुल्ठुला पहाड तोड्न विस्फोट गराएर महाकाली नदी किनारमा खसाल्दा नदीको बहाबसमेत नेपालतर्फ फर्कने, नदी थुनिने, नेपालतर्फ व्यास जोड्ने पैदल मार्गसमेत भत्किएको छ। बर्सेनि सरकारी निकायले व्यास जोड्ने बाटो मर्मत गर्दै आए पनि भारतीय विस्फोट र नदीले कटान गर्दा बाटो भत्किने गरेको स्थानीयको गुनासो छ।

यसअघि व्यास–२ ताम्पाकु, घाटबगर, दोपखे नज्यङ क्षेत्रमा नेपाली भूमिको प्रयोग तथा प्राकृतिक साधनको समेत भारतीय पक्षले दोहन गर्ने गरेको तथ्य खुलेको थियो। भारतीय पक्षले सडक निर्माण गर्ने बहानामा नेपाली भूमिको दोहन, नेपाली भूभागमै सुरक्षा गस्ती सञ्चालन, वन पैदावार तथा वन्यजन्तु चोरीसिकारी गर्दै आएको छ।  

तीन वर्षअघि यसै क्षेत्रमा भारतीय पक्षले नेपाल सरकारको अनुमतिबिनै महाकाली नदीमा एकतर्फी पुल लगाई नेपाली भूमिमै आएर बाटो बनाएको घटना प्रकाशमा आएको थियो। गत वर्ष मात्रै भारतीय सुरक्षाकर्मीले तुइन फुकाल्दा एकजना नेपाली नागरिक महाकाली नदीमा बेपत्ता भएका थिए।  

राहत तथा क्षतिपूर्तिका लागि पहल सुरु

पवनको मृत्यु भएको घटनाको चौतर्फी निन्दा हुनुका साथै पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको माग गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पवन महराको मृत्युको कारण छानबिन र राहतका लागि पहल सुरु गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। उनले महाकालीपारि पिथौरागढ जिल्लाको धार्चुलामा सडक कटानका क्रममा चट्टान फुटाउन विस्फोट गर्दा उछिट्टिएको ढुंगा लागेर बालकको ज्यान गएकोबारे मृतकका परिवारले आफूलाई जानकारी दिएकोे र यसको यथार्थ छानबिन गरी तत्काल भारतीय पक्षलाई जानकारी गराउन प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई निर्देशन दिएका हुन्।

मन्त्री बडूले गृह र परराष्ट्र मन्त्रालयलाई समेत यस विषयलाई गम्भीरताका साथ लिई राहत र क्षतिपूर्तिका लागि पहल गर्न ध्यानाकर्षण गराइसकेको बताए। मन्त्री बडूले सडक निर्माणका क्रममा विस्फोट गर्दा सीमासँग जोडिएको नेपाली पक्षलाई जानकारी नदिएर भारतीय निर्माण पक्षले गम्भीर त्रुटि गरेकाले कूटनीतिक माध्यमबाट सरकारले क्षतिपूर्ति र फेरि यस्तो हुन नदिन पहल गर्ने बताए।

पूर्वमन्त्री एवं नेकपा एमालेका पोलिटब्युरो सदस्य गणेशसिंह ठगुन्नाले पनि लापरबाही गर्ने पक्षलाई कानुनी कारबाही र मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन्। स्थानीय स्तरमा भारतीय समकक्षीसँग समन्वय गरेर निर्माण कम्पनीसित क्षतिपूर्तिका लागि भारतीय पक्ष सकारात्मक रहेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए।

प्रकाशित: १३ कार्तिक २०७९ ०१:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App