१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

अनुभवी शर्मासँग भिड्दै पाका खरेल

झापा क्षेत्र नम्बर १ मा पूर्वकानुनमन्त्री एवं नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेल र नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा चुनावमा भिड्दैछन्। प्रतिनिधिसभा सदस्यका लागि यी दुई मुख्य प्रतिस्पर्धीसहित १५ उम्मेदवार चुनावी मैदानमा छन्। महामन्त्री शर्मा दुईपटक चुनाव हारेको क्षेत्रबाट तेस्रोपटक प्रतिस्पर्धा गर्दैछन्। पटकपटक प्रत्यक्ष निर्वाचनको अनुभव बटुलेका शर्मासँग राजनीतिक हिसाबले पाका खरेल प्रत्यक्षतर्फ पहिलोपटक भिड्दैछन्।

मुख्य प्रतिस्पर्धी एमालेका ६१ वर्षीय खरेल र ५२ वर्षीय कांग्रेसका शर्माबीच राम्रो व्यक्तिगत सम्बन्ध छ। मंसिर ४ मा हुने प्रतिनिधिसभाका लागि उम्मेदवारी दर्ताका दिन दुवैजना मनोनयन स्थलमा भेटेका थिए। उनीहरूले अँगालो मारेर एकअर्कालाई बधाई र शुभकामना आदानप्रदान गरेका थिए। झापा एउटै ठाउँबाट प्रतिनिधित्व गर्ने भएकाले खरेल र शर्मा काठमाडौंमा पनि कहिलेकाहीँ भेट्छन् भने कहिलेकाहीँ फोनमा कुराकानी पनि गर्छन्। ‘सम्बन्धमा तिक्तता छैन। जरुरी पनि छैन। चुनावलाई राजनीतिक प्रतिस्पर्धाका रूपमा बुझ्नुपर्छ,’ खरेल भन्छन्। खरेलले शर्मालाई विद्यार्थी नेताका रूपमा पहिलोपटक नाम सुनेका थिए। विश्वप्रकाशका काका चन्द्र भण्डारी वामपन्थी पृष्ठभूमिका भएका कारण पनि उनीहरूबीच पारिवारिक दलीय सम्बन्ध छ। विश्वप्रकाशका काकाका कारण पनि पार्टीगत रूपमा पारिवारिक सम्बन्ध जोडिएको बताइन्छ। शर्माको परिवार र आफ्नो परिवारबीच २०३५ सालदेखि नै साथीको हैसियतमा सांगठनिक नाता रहेको खरेल बताउँछन्।  

२०७४ सालको चुनावमा झापा १ मा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार (राम) कार्कीले जितेका थिए। कार्की ३६ हजार १७३ मत ल्याएर निर्वाचित भएका थिए। त्यतिबेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन थियो। कार्कीका निकटतम प्रतिद्वन्द्वी विश्वप्रकाश शर्माले ३३ हजार ३१० मत प्राप्त गरेका थिए। उनीहरूसहित सात प्रतिस्पर्धी चुनावमा उत्रिएका थिए। मंगोल नेसनल अर्गनाइजेससन, संघीय समाजवादी फोरम नेपाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनमुक्ति पार्टीले चुनावमा उम्मेदवार उठाएका थिए। अन्य पाँचवटा पार्टीको मत १ हजार ३ सयभन्दा कम आएको थियो। तीन जना स्वतन्त्र उम्मेदवार पनि थिए।

झापामा स्थानीय तहको मत

२०७९ वैशाख ३० को स्थानीय तहको मत हेर्दा एमाले पहिलो शक्ति भएको थियो। स्थानीय तहमा आएको भोटका आधारमा हेर्दा गठबन्धनका सबै दलको मत  

जोड्दा पनि एमालेको भन्दा कम छ। स्थानीय निर्वाचनमा त्यस क्षेत्रमा एमालेको पक्षमा ३१ हजार २३२, कांग्रेसको २४ हजार ५९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को ५ हजार ९२२, माओवादी केन्द्रलेको ३ हजार ९०५ र नेकपा एकीकृत समाजवादी (नेकपा एस) को पक्षमा १ हजार २५२ मत आएको छ । स्थानीय तहमा सबै दलले छुट्टाछुट्टै उम्मेदवार उठाएका थिए।  

गठबन्धन दल कांग्रेस, माओवादी केन्द्र र नेकपा एसको मत जोड्दा २९ हजार २१६ हुन्छ। अहिले सत्ता गठबन्धनका चार दल एक ठाउँमा र नेकपा एमाले तथा राप्रपा एक ठाउँमा छन्। स्थानीय तहमा एमाले र राप्रपाको मत जोड्दा ३७ हजार १५४ हुन्छ।  

यी हुन् अन्य १३ उम्मेदवार

झापा १ बाट १५ जना उम्मेदवार चुनावी मैदानमा छन्। एमालेबाट खरेल, कांग्रेसबाट शर्मा मुख्य प्रतिस्पर्धी हुन्। जनता समाजवादी पार्टी (जसपा) बाट राधा थापा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट ओलीन राजवंशी, हाम्रो नेपाली पार्टीबाट ठण्डबहादुर अधिकारी प्रतिनिधिसभाका लागि चुनावी मैदानमा उत्रिएका छन्। त्यसैगरी नेपालका लागि नेपाली पार्टीले मुकुन्द दाहाल, मंगोल नेसनल अर्गनाइजेसनले सन्तोष तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले पदममाया लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीबाट चित्रहाङ जबेगु, नेपाल जनता पार्टीबाट रामकुमार काफ्लेलाई चुनावी प्रतिस्पर्धाका लागि अगाडि सारेका छन्। त्यसैगरी जनसमाजवादी पार्टीका तर्फबाट रमेश बास्तोला, राप्रपाबाट ओमनाथ भण्डारी, स्वतन्त्रबाट विकास राजवंशी, केन्द्रकुमारी दाहाल, विदुरकुमार खतिवडा चुनाव लड्दैछन्।

को हुन् खरेल?

झापामा जन्मेका अग्नि खरेल सानैदेखि कम्युनिस्ट आन्दोलनका गतिविधिसँग नजिक छन्। २०२७/२८ सालतिर झापा आन्दोलनका क्रममा पार्टीका थुप्रै गतिविधि उनकै घरबाट हुने भएकाले पनि उनी झापा आन्दोलनसँग नजिक छन्। २०३५ फागुनदेखि तत्कालीन नेकपा मालेको रेड गार्ड (प्रारम्भिक कमिटी) बाट प्रवेश गरेका थिए। २०३६ असोज ६ मा पार्टीको सदस्यता लिएका उनी महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस झापा पहिलो स्ववियु सचिवमा निर्वाचित भएका थिए। त्यसपछि २०३७ सालमा किसान आन्दोलनका क्रममा पञ्चायतविरुद्ध भाषण गर्दा उनी १२ दिन प्रहरी हिरासतमा परेका थिए।

खरेख २०३८ सालमा ल क्याम्पसमा प्रारम्भिक कमिटीको अध्यक्ष बनेका थिए। त्यसपछि उनी युथ लिगमा सहभागी भए। विद्यार्थी आन्दोलनका क्रममा २०४२ सालमा उनी पक्राउ परेका थिए। त्यतिबेला उनी डेढ महिना नक्खु जेलमा बसे। लेखाबाट सुब्बा भई उनले सरकारी सेवा सुरु गरेका थिए। पक्राउपछि पञ्चायतविरुद्ध लागेको भन्दै भविष्यमा अयोग्य नठहरिने गरी उनी जागिरबाट निकालिए। बिएल सकेपछि उनी वकालतसँगै राजनीतिमा सक्रिय भए। नेपाल राष्ट्रिय शिक्षक संगठनको अभियानमा पक्राउ परेका खरेल १२ दिन कालीमाटी प्रहरीमा अग्नि सापकोटासँगै हिरासत पनि बसेका थिए।

उनी २०४५ सालमा बारको केन्द्रीय सदस्य हुँदै २०४९ मा सम्पन्न एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनमा निर्वाचन समिति सदस्य बने। २०५४ सालमा छैटौं महाधिवेशन र २०५९/६० मा सातौं महाधिवेशनमा केन्द्रीय अनुसशासन निरीक्षण कमिटीमा बसेका थिए। २०६६ सालमा आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुँदै खरेल २०७१ मा पोलिटबयुरो सदस्य भए। अहिले उनी एमाले स्थायी कमिटी सदस्य हुन्।  

२०६५ सालमा समानुपातिकबाट संविधानसभा सदस्य बनेका उनी २०७१ मा संविधानसभा राष्ट्रिपतिबाट मनोनीत सदस्य हुन्। संविधान बनाउने क्रममा प्रमुख सचेतक रहेका उनी मस्यौदा समितिका सदस्य पनि भएका थिए। त्यसैक्रममा उनी कानुनमन्त्री बने। कानुनी पृष्ठभूमि भएका खरेलले महान्यायाधीवक्ताको पदसमेत सम्हालिसकेका छन्। खरेललाई २०७४ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ फागुन ८ मा महान्यायाधीवक्ता पदमा नियुक्ति गरेका थिए। उनी २०७७ चैत ६ सम्म सरकारको कानुनी सल्लाहकार भएर काम गरेका थिए। महान्यायाधीवक्ता हुँदा उनले सरकारी वकिल कार्यालयको भवन निर्माणमा व्यस्त बनेका थिए।

को हुन् शर्मा?

विश्वप्रकाश शर्मा २०२७ सालमा झापाको शान्तिनगरमा जन्मिएका हुन्। उनी २०३७ सालमा झापामा विद्यालय तहमा पढ्न सुरु गरेदेखि नै राजनीतिमा लागेका थिए। २०४० सालमा झापाको धुलाबारी माध्यमिक विद्यालयमा नेविसंघ एकाइ सभापति भएर उनले राजनीति सुरु गरेका थिए। शर्मालाई २०४१ सालमा कक्षा ९ मा पढ्दा पहिलोपटक प्रहरीले पक्राउ गरेको थियो। उनी २०४७ सालमा नेविसंघ झापा जिल्ला सभापति भएका थिए। त्यसपछि उनी २०४८ सालमा नेविसंघको केन्द्रीय सदस्य बने।

शर्मा केन्द्रीय सदस्य हुँदै २०५३ सालमा नेविसंघ महामन्त्री बने। त्यसै सालमा महामन्त्री हुँदै केन्द्रीय उपसभापतिसमेत भए। विद्यार्थी संघमा सदस्यबाट उनी महामन्त्री, उपाध्यक्ष हुँदै नेविसंघको आठौं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी २०५७ सालमा विद्यार्थीको नेतृत्वमा निर्वाचित भएका हुन्। पार्टी नेता उत्पादन गर्ने ठाउँ मानिने नेविसंघमा उनले २०५९ सालमा नवौं महाधिवेशन गरेर गुरुराज घिमिरेलाई नेतृत्व हस्तान्तरण गरेका थिए।  

विद्यार्थी राजनीतिको नेतृत्व लिनासाथ २०५७ सालमै उनी नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका थिए। नेविसंघको राजनीतिपछि शर्माले पार्टीको जिल्ला राजनीतिमा प्रवेशको प्रयास गरेका थिए। विडम्बना उनी कांग्रेसको १२औं महाधिवेशनका लागि झापा जिल्लामा भएको पार्टी अधिवेशनमा सभापतिमा पराजित भए।

२०७२ सालमा भएको १३औं महाधिवेशनबाट उनी नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए। शर्माले २०७४ सालमा कांग्रेस प्रवक्ताको जिम्मेवारी पाएका थिए। त्यसैगरी उनी २०७६ सालमा कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख पनि बने। प्रवक्ता भएर शर्माले उदाहरणीय कम गर्न सफल भएका थिए। उनी २०७० र २०७४ सालमा भएको आम चुनावमा झापामा पराजित भएका थिए। त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट समाजशास्त्रमा स्नातकोत्तर गरेका शर्मा राजनीतिसँगै सामाजिक विषयमा पनि गहिरो अध्ययन राख्छन्। शर्माको व्यक्तित्व बहुआयामिक छ। शर्माको चुनावमुखी यात्रा खासै सुखद छैन। उनले नेविसंघको अध्यक्ष र कांग्रेसको १ह४औं महाधिवेशनमा महामन्त्री पदमा जिते। अन्य चुनावमा भने उनले हार बेहोर्नु आएका छन्। त्यसैले उनको संसदीय राजीनीति भने खासै सम्झन लायक छैन।

प्रकाशित: १३ कार्तिक २०७९ ०१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App