६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

ओलीलाई राप्रपाको भर, कांग्रेसका अधिकारीलाई माओवादीको डर

केपी शर्मा ओली र खगेन्द्र अधिकारी

नेकपा एमालेले भावी प्रधानमन्त्रीको रुपमा अघि सारेका अध्यक्ष केपी शर्मा ओली राप्रपा–जसपासहितको गठबन्धनबाट झापा क्षेत्र नं. ५ बाट  सातौैंपटक संसदीय चुनावी प्रतिस्पर्धामा छन्। उनीसँग सत्तागठबन्धनका तर्फबाट मुख्य प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र अधिकारी चुनावी मैदानमा छन्।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनबाट ओली विजयी भएर फेरि तेस्रोपटक प्रधानमन्त्री बन्ने दाउमा छन्। कांग्रेस नेता अधिकारी पहिलोपल्ट विजयी भएर सांसद बन्ने अवसर खोजिरहेका छन्। अधिकारी ओलीसँग दोस्रोपटक प्रतिस्पर्धामा उत्रिएका हुन्।  स्वतन्त्रसहित २५ जना उम्मेद्वार  चुनावी मैदानमा रहेको क्षेत्र नं. ५ मा कांग्रेस नेतृत्वको सत्तारुढ गठबन्धन र एमाले नेतृत्वको अर्को गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुनेछ।

स्थानीय तहको निर्वाचनमा क्षेत्र नं. ५ को दमक नगरपालिकामा नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन र  राप्रपा मिलेर चुनाबी प्रतिस्पर्धा गरेका थिए। जसले गर्दा एमालेको पकड क्षेत्र भएता पनि राप्रपा समेत सहभागी गठबन्धनले जित्दा एमालेलाई ठूलो धक्का लागेको थियो। तर, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि राप्रपाले (नेकपा) एमालेसँग नै गठबन्धन गरेको छ। जसका कारण ओलीलाई अहिले क्षेत्र नं. ५ मा राप्रपाकै भरमा जितमा सहजता हुने अनुमान गरिएको छ।  

एमाले नेता रोम ओलीले ओलीको गृहनगर दमकमै स्थानीय तहको निर्वाचनमा गरिएको छ दलीय गठबन्धन अहिले टुटिसकेको जिकिर गरे।  राप्रपाले एमालेलाई साथ दिइ सकेको छ। तर, स्थानीय तहको निर्वाचनमा कांग्रेसकै भरमा राप्रपाका मेयरमा राम थापा विजयी भएकाले गर्दा अपेक्षा गरे अनुसारको मत एमाले अध्यक्ष ओलीलाई नजाने पनि एकथरी विश्लेषण छ। मेयर थापाले कांग्रेसलाईं गुण तिर्न सक्ने पनि आंकलन गरिएको छ।  

एमाले भने राप्रपाले दायाबायाँ नगर्नेमा विश्वस्त छ। एमाले राप्रपा मात्र नभएर माओवादी केन्द्रले इमान्दारीपूर्वका कांग्रेस नेतालाई मत नहाल्ने जिकिर गर्छ। ‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दा माओवादीका कसैले जित्न सकेनन् जसले गर्दा यसपटकको निर्वाचनमा त्यसको असर पर्नेछ,’ दमक नगरपालिकाका निवर्तमान मेयर समेत रहेका ओलीले भने, ‘कार्यकर्तासम्मले गठबन्धनमा भोट हाल्लान्, अरुले हाल्दैनन्।’  

२०७४ सालमा भएको प्रतिनिधि सभाको निर्बाचनमा समेत राप्रपा र एमालेबीच नै चुनावी तालमेल भएको थियो। झापा क्षेत्र नं. ५ मा राप्रपाले एमाले अध्यक्ष ओलीलाई समर्थन गरेबापत क्षेत्र नं. ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाईं एमालेले समर्थन गरेको छ।  

२०७४ मा वामगठबन्धनका तर्फबाट उम्मेदवार बनेका ओलीले ५७ हजार एक सय ३९ मत ल्याएर विजयी भएका थिए। कांग्रेसका  अधिकारीले २८ हजार दुई सय ९७ मत ल्याएका थिए । ओलीले त्यसबेला २८ हजार ८ सय ४२ मतले अधिकारीलाई हराएका थिए।  

हुन त २०७४ सालभन्दा यसपटक भने परिस्थिती फेरिएकाले पनि असर गर्नेछ। एमाले विभाजन हुनु, कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र सामेल हुनु र स्वतन्त्र उम्मेदवारीको लहरसँगै राजनीतिक दलप्रति वितृष्ण जाग्नुले मतमा असर गर्ने विश्लेषण गरिएको छ।  

कांग्रेस यसपटक जसरी पनि आफ्ना उम्मेदवारलाई विजयी गराउने रणनीतिमा लागेको जनाएको छ। ‘यसपटक कांग्रेसका उम्मेदवारले जित्ने सम्भावना राम्रो छ,’ क्षेत्र नं. ५ का सभापति ढुण्डी भण्डारीले भने, ‘जनता पटक–पटक केपी ओलीलाई हेयौं, यसपटक कांग्रेसलाई हेर्ने भनेर मनस्थिती परिवर्तन भएको छ।’

कांग्रेसका उम्मेदवार अधिकारी एकल सिफारिस भएकाले गर्दा गुटगत प्रभाव कम परे पनि २०७४ सालदेखि मात्र जनतासँग घुलमिल गरेकाले गर्दा तल्लो लेभलका कार्यकर्तासँगको सम्बन्ध र सम्पर्क भने कमै मात्रमा छ। तर, युवा र शिक्षित व्यक्तिको रुपमा उनीको चर्चा छ। उनी कांग्रेसको १४ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधी पनि विजयी भएका थिए। अधिकारी गौरादहको स्थायी बासीन्दा हुन्। उनी राजनीतिमा सक्रिय हुनुअघि काठमाडौँमा शिक्षण पेशा गर्थे।  

क्षेत्र नं. ५ मा लेखक तथा सामाजिक अभियन्ता युग पाठक (दिपककुमार पाठक) को पनि  स्वतन्त्र उम्मेदवार दिएर चुनावी अभियान तीव्र पारेका छन्। उनले समेत राम्रै मत ल्याउने अनुमान छ।

संविधान सभा निर्वाचन २०६४ बाहेक २०४८ सालयता भएका कुनै पनि निर्वाचनमा ओलीले हार बेर्होन नपरेका ओलीका लागि बलियो संगठन र राप्रपाले साथ दिएकै कारण जितमा सहजता छ। अर्कातिर एमालेभित्र एकथरी कार्यकर्ता ओलीलाई साथ दिएकालाई मात्र अवसर दिएकोमा असन्तुष्ट बनेकाले केही हदसम्म भएपनि सहानुभूति मत पाउने कांग्रेसका उम्मेदवारलाई आश छ।  

त्यसो त क्षेत्र नं. ५ मा स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) को उपस्थिति बलियो छ। क्षेत्र नं. ५ मा ओलीको गृहनगर दमक, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिका गरी चार स्थानीय तह पर्छन्। जसमा २९ वटा वडा पर्छन्। यी वडामा एमाले बलियो देखिएको छ।  

एमालेको वडाध्यक्ष उम्मेदवारले ४१ हजार ६ सय १९ मत पाएका थिए । सत्तागठबन्धन कांग्रेस, माओवादी र समाजवादीका वडाध्यक्षका उम्मेदवारले ३४ हजार ६ सय ६९ मत पाएका छन् । राप्रपाका वडाध्यक्षका उम्मेदवारले आठ हजार तीन सय ५३ मत ल्याएका थिए । यसपटक राप्रपा र समाजवादी सत्ता गठबन्धनमा छैनन्।  क्षेत्र नं. ५ मा प्रतिनिधीसभाका लागि एक लाख ५४ हजार दुई सय ८९ जना मतदाता छन्।

एमाले नेतृत्वको गठबन्धनले टोलसम्म चुनावका लागि कमिटी निर्माण गरिसकेको र अब तिहारलगतै घरदैलो अभियान थाल्ने जनाएको छ। उसले विगतमा गरेका भौतिक पूर्वाधार, जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा अध्यक्ष ओलीले खेलेको भूमिका र भावी प्रधानमन्त्री बनेर थप विकास–योजना ल्याउने आशा देखाएर मतदातामाझ जाने तयारी भएको छ।

कांग्रेसले भने २९ वटै वडामा चुनाव प्रचारप्रसार समिति गठन गरेर घरदैलो अभियान थालिसकेको जनाएको छ। अहिलेसम्म कांग्रेसले गौरादह वडा नं. २ र ५ मा घरदैलो अभियान सकेको छ। दुवै गठबन्धनले यसपटक झापा ५ नं. क्षेत्रलाई आफ्नो प्रतिष्ठाको विषय बनाएर चुनावी प्रतिस्पर्धामा लागेका छन्।

प्रकाशित: ५ कार्तिक २०७९ १०:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App