१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

सर्लाही–२ मा यादव–महतो प्रतिस्पर्धा

जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सत्ता पक्षसँग चुनावी तालमेल गर्ने निर्णय गर्‍यो। यसका लागि सत्ता पक्षका दल र लोसपाबीच वार्ता भयो। वार्तामा सिट बाँडफाँटमा एउटा निर्वाचन क्षेत्रको विषयले गतिरोध आयोे। सर्लाही–२ मा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्ष निर्वाचनतर्फ गठबन्धनको आधिकारिक उम्मेदवार कसलाई मान्ने भन्ने विषय सजिलै टुंगिएन। यस विषयमा टुंगो लगाउन राति अबेरसम्म वार्ता भयो। भोलिपल्ट उम्मेदवारी मनोयन गर्ने दिन थियो। त्यसैले राति नै सहमतिमा पुग्नपर्ने बाध्यता दुवै पक्षलाई थियो।  

सर्लाही–२ मा महिन्द्र यादवलाई उम्मेदवार बनाउने निर्णय सत्ता गठबन्धनले आफूसँग लोसपा चुनावी तालमेलमा आउनुअघि नै गरिसकेको थियो। लोसपा तालमेलमा आएपछि उसले पनि सर्लाही–२ आफूले पाउनुपर्ने भन्दै यसलाई आफ्नो प्रतिष्ठाको विषय बनायो। सर्लाही–२ बाट उम्मेदवार बन्ने तयारीमा रहेका लोसपाका नेता राजेन्द्र महतो पछाडि हट्न राजी भएनन्। सर्लाही–२ का कारण वार्ता भाँडिने अवस्था आएपछि बीचको बाटो निकालियो, जुन दुवै पक्षलाई मञ्जुर भयो। योबाहेक अर्को विकल्प पनि थिएन। बीचको बाटो थियो– एउटै गठबन्धन भए पनि सर्लाही–२ मा यादव र महतोले मित्रवत् प्रतिस्पर्धा गर्ने। सहमतिपत्रमा सर्लाही–२ मा गठबन्धनभित्रै मित्रवत् प्रतिस्पर्धा गर्ने लेखियो। यसमा दुवै पक्षले हस्ताक्षर गरे। सहमतिपत्रमा मित्रवत् प्रतिस्पर्धा गर्ने भनेर त लेखियो तर व्यवहारमा त्यस्तो हुनेमा सर्लाही–२ का मतदाता विश्वस्त छैनन्। किनभने सर्लाही–२ को निर्वाचनलाई उम्मेदवारद्वय यादव र महतोले आआफ्नो प्रतिष्ठासँग जोडेर हेरेका छन्।

यादवलाई नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) को समर्थन छ।  

नेपाल समाजवादी पार्टी (नेसपा) का नेता यादव माओवादी केन्द्रको चुनाव चिह्न लिएर उम्मेदवार भएका हुन्। प्रतिनिधिसभा सदस्यका लागि सर्लाही २ मा नेकपा एमालेबाट राजनारायण साह उम्मेदवार छन्। एमालेलाई जसपाले समर्थन गरेको छ। यसैगरी राप्रपाबाट विकेश महतो र जनमत पार्टीबाट नरेशप्रसाद कुशवाह उम्मेदवार छन्। प्रतिनिधिसभा सदस्यका लागि सर्लाही २ मा क्षेत्रमा १७ जना उम्मेदवार छन्। तर रोचक प्रतिस्पर्धा भने महिन्द्र यादव र राजेन्द्र महतोबीचमै हुनेछ।  

सर्लाही २ मा कसको मत कति ?

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा सर्लाही २ मा वडाध्यक्षले पाएको मत परिणाम हेर्दा नेपाली कांग्रेसको सबैभन्दा बढी भोट छ। यस आधारमा हेर्दा कांग्रेसको २४ हजार ६ सय २०, जसपाको १९ हजार ६ सय ४२, लोसपाको १२ हजार ३ सय ६६, माओवादी केन्द्रकोे ७ हजार ३७, एमालेको ७ हजार ६ सय ७९, जनमत पार्टीको ३ हजार ४२, नेकपा (एस) २ हजार २ सय २१ र राष्ट्रिय प्रजातन्त्र पार्टीको ७ सय ४२ मत छ। यस आधारमा सर्लाही २ मा महिन्द्र यादव बलियो देखिन्छन्। यादव र महतो दुवै गृह जिल्ला सर्लाही हो। यादव हरिपुरुवा नगरपालिकाका स्थायी बासिन्दा हुन्, जुन सर्लाही २ मा पर्छ। महतो बबरगन्ज नगरपालिकाका स्थायी बासिन्दा हुन्, जुन सर्लाही १ मा पर्छ।  

कहिले सहकर्मी, कहिले प्रतिस्पर्धी  

महिन्द्र यादव र राजेन्द्र महतोबीचको राजनीतिक सम्बन्ध हेर्दा कहिले सहकर्मी त कहिले प्रतिस्पर्धीको रूपमा देखिन्छ। यादव र महतो करिब ४ वर्ष एउटै पार्टीमा रहे। २०७४ वैशाख ७ गते तत्कालीन तराई मधेस केन्द्रित ६ राजनीतिक दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि यादव र महतो एउटै पार्टीका सहकर्मी भए। यी दुई नेता राजप अध्यक्षमण्डलको संयोजक पनि भए। तर ४ वर्षपछि यी दुई अलगअलग पार्टीमा पुगे। २०७८ भदौ १ गते महन्थ ठाकुर, महतोलगायतका नेताहरूले लोसपा गठन गरे। त्यसपछि यादव र महतो अलगअलग भए। अहिले यादव नेसपामा छन् भने महतो लोसपामा।  

यादव र महतो एउटै पार्टीमा हुँदा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा अलगअलग क्षेत्रबाट चुनाव लडे। यादव सर्लाही २ बाट निर्वाचित भए। सर्लाही छाडेर धनुषा ३ मा गएका महतो त्यहींबाट निर्वाचित भए।  

२०६४ सालमा भएको संविधानसभा सदस्य निर्वाचनमा यादव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा थिए। उनी त्यतिबेला चुनाव लडेनन्। समानुपातिक कोटामा संविधानसभा सदस्य भए। त्यसबेला सद्भावना पार्टीमा रहेका महतो सर्लाही २ बाट उम्मेदवार भए। उनले चुनाव पनि जिते।  

२०७० सालमा दोस्रो संविधानसभा सदस्य निर्वाचनमा महतो र यादवबीच सर्लाही २ मा प्रतिस्पर्धा भयो। त्यसबेला यादव तत्कालीन तराई मधेस सद्भावना पार्टी (तमसपा) बाट र महतो सद्भावना पार्टीबाट उम्मेदवार थिए। त्यसबेला महतो पराजित भए, यादव विजयी भए।  

‘२०७४ मा मेरो मित्र (महिन्द्र यादव) लाई सर्लाही २ छाडेर म धनुषा ३ बाट चुनाव लडें। तर सर्लाही २ बाट विजयी मेरो मित्रले यस क्षेत्रमा केही काम काम गर्नुभएन्। जिल्लाको अवस्था भद्रगोल भयो। जनताले दुःख पाए,’ महतोले भने, ‘जिल्लाको भद्रगोल अवस्था सुधार गर्न यसपटक सर्लाही २ बाट उम्मेदवारी दिएको छु।’  

यादव र महतो दुवैसँग नजिकको सम्बन्ध राखेका जसपाका प्रवक्ता मनिष सुमनको भनाइमा यी दुई नेताबीच कहिल्यै मन मिलेन। ‘उहाँहरू (महिन्द्र यादव र राजेन्द्र महतो) एउटै पार्टीमा हुँदासमेत एउटै पार्टीको जस्तो देखिनुभएन। फरकफरक पार्टीको जस्तो गरी एक अर्कोप्रति प्रस्तुत हुनुहुन्थ्यो,’ सुमनले भने, ‘उहाँहरूको प्रतिस्पर्धा यसपटक मात्र होइन, पुरानै हो।’

उमेरको हिसावमा महतोभन्दा यादव जेठा हुन्। महतोको जन्म २०१५ साल मंसिर ४ गते भएको हो। यादव २०११ साल असार १० मा जन्मिएका हुन्। राजनीतिक अजेण्डा उस्तैउस्तै भए पनि यी दुई नेताबीचको सम्बन्धमा सधैं उतारचढाव देखिन्छ।  

को हुन् महिन्द्र यादव ?

महिन्द्र यादवले २०३६ सालदेखि राजनीति सुरु गरेका हुन्। उनको राजनीतिक जीवन कम्युनिस्ट पार्टीबाट सुरु भएको थियो। अहिलेसम्म उनले धेरै पार्टी फेरेका छन्। यादव २०३७ मा नेपाल कम्युनिस्ट पार्टी (मानन्धर) को सदस्य बने। २०३८ मा नेकपा मानन्धर सर्लाही जिल्ला कमिटी गठन भएपछि उनी सचिव बने। २०४२ मा सत्याग्रहमा लागेका उनी २०४६ मा बहुदलीय प्रजातन्त्र पुनस्र्थापनाका लागि गरिएको जनआन्दोलनमा संयुक्त वाम मोर्चाको तर्फबाट आन्दोलन परिचालन कमिटीमा थिए। २०४६ को जनआन्दोलनका क्रममा उनी फागुन ७ देखि २६ गतेसम्म जेलमा बसेका थिए थिए।  

२०६२/०६३ सालको जनआन्दोलनका क्रममा पनि उनी काठमाडौंमा प्रहरी हिरासतमा बसे। उनी २०५१ सालदेखि अहिलेसम्म निरन्तर सांसद छन्। एक अवधिका लागि उनी समानुपातिक सांसद पनि भए।  

आफ्नो राजनीतिक जीवनमा यादव पटकपटक मन्त्री भएका छन्। उनले भौतिक तथा यातायात, उद्योग, सिँचाइ र सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समालिसकेका छन्। २०६४ सालमा गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट अलग भएर उनले तराई मधेस सद्भावना पार्टी (तमसपा) गठन गरे।

को हुन् राजेन्द्र महतो ?  

महतो २०४७ सालमा राजनीतिमा प्रवेश गरेका हुन्। उनले तराईमधेस केन्द्रित दलमा लागे र आफ्नो यात्रा अघि बढाइरहेका छन्। २०४७ मा उनी नेपाल सद्भावना पार्टीको केन्द्रीय समिति तथा संसदीय समिति सदस्य थिए। २०४९ मा उनी नेपाल सद्भावना पार्टीका केन्द्रीय प्रवक्ता भए। २०५६ मा उनी उच्चस्तरीय नागरिकता समस्या समाधान सुझाव आयोगको सदस्य बने। २०५६ मा उनी सर्लाही २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। २०५७ मा उनी नेपाल सद्भावना पार्टीको महासचिव भए। २०५७ मा नेपाल सद्भावना पार्टीमा विभाजन आयो।  

विभाजनपछि २०५७ मा उनी नेपाल सद्भावा पार्टी (आनन्दीदेवी) को महासचिव भए।  

महतो २०६४ सालमा अन्तरिम व्यवस्थापिका–संसद्को सदस्य भए। २०६६ सालमा उनी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री भए। २०६६ सालमा नेपाल सद्भावना पार्टी (आनन्दीदेवी) विभाजित भयो। विभाजनपछि महतोले सद्भावना पार्टी गठन गरे र त्यसको अध्यक्ष भए।  

२०६८ सालमा उनी स्वास्थ्य तथा जनसंख्यामन्त्री भए। तत्कालीन तराई मधेस केन्द्रित ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी (राजपा) गठन भएपछि उनी २०७४ मा राजपा अध्यक्षमण्डलको सदस्य भए।  

महतो २०७४ सालमा धनुषा ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। २०४७ मा सर्लाही समाजको सचिव र गजेन्द्रनारायण सिंह अध्ययन प्रतिष्ठानको अध्यक्ष भएका उनको ‘जागो मधेसी जागो’ भन्ने पुस्तक प्रकाशित छ।  

प्रकाशित: ५ कार्तिक २०७९ ०१:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App