coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

केपी ओली राजावादीको पाउमा लम्पसार परेः बलदेव चौधरी

एस पोलिटव्युरो सदस्य बलदेव चौधरी।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)का पोलिटब्यूरो सदस्य बलदेव चौधरीले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली राजावादीको पाउमा लम्पसार पर्न गएको बताएका छन्।

एकीकृत समाजवादी १ नं. प्रदेश कमिटी अध्यक्षसमेत रहेका चौधरीले कम्युनिष्ट आन्दोलनको अगुवा पार्टी भए पनि अध्यक्ष ओलीकै कारण एमाले अहिले आएर राजावादीको पाउ समाउन पुगेको आरोप लगाए। आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा चुनावका लागि हुने गठबन्धनका हरेक कार्यक्रमहरुमा नेता चौधरीले एमालेप्रति यस्तो तितो ओकल्ने गरेका छन्।

पार्टी र गठबन्धनका चु्नावी अभियानमा सहभागी हुँदा नेता चौधरीले लमो समयदेखि एमाले नेपाली कम्युनिष्ट आन्दोलन हाँक्दै आएको र नेपालको वामपन्थी विसारत बोकेको लोकतान्त्रिक पार्टी भए पनि ओली अध्यक्ष भएयता बिग्रदै गएर अहिले राजावादीसँग घाँटी जोड्न पुगेकोमा दुःख व्यक्त गर्ने गरे।

‘नेकपा (एमाले) लामो समयदेखि नेपाली कम्युनिष्ट आन्दोलनको अगुवा राजनीतिक दल हो, कम्युनिष्टकै नाममा भोट मागेर पटकपटक सत्ताको सुखभोग पनि गरिसकेको छ’ चौधरीको भनाइ छ ‘तर, अब एमाले चारआना पनि कम्युिनष्ट रहेन। घोर राजावादी र धर्म सम्प्रदायको राजनीतिक मुद्दा बोकेको राप्रपाको पाउमा लम्पसार पर्न पुगेको छ।’

चौधरीले एमाले कम्युनिष्ट आन्दोलनप्रति गद्धार सावित भइसकेको भन्दै यसो हुनुमा सबभन्दा बढी दोषी अध्यक्ष ओली नै भएको उनको निष्कर्ष छ। भर्खरै सम्पन्न जिल्ला पार्टीको चौथो पूर्ण बैठकमा यस्तै भाषणा गरेका चौधरीले गठबन्धनको चुनावी अभियानको क्रममा हुने कार्यकर्ता भेटघाट र घरदैलो कार्यक्रमहरुमा पनि यही कुरा भन्दै आएका छन्।

लोकतान्त्रिक शक्तिहरुबीच गठबन्धन गर्नु प्राकृतिक भए पनि जसको विरुद्ध दशकौं लडेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याइयो, त्यसकै पाउ मोल्दै लम्पसार पर्नुले ओली र एमालेको गरिमा ध्वस्त भएको उनको बुझाइ छ। एमालेका राम्रा प्रगतिशिल र वामपन्थी नेता कार्यकर्तालाई जोगाउनका लागि माधव नेपाल र झलनाथ खनालले एकीकृत समाजवादी पार्टीको गठन गरेको प्रष्ट्याउँदै नेता चौधरीले भने ‘नत्र एमालेभित्रका कम्युनिष्ट चरित्रका नेताहरुलाई ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको पाउ ढोगाउन पुर्‍याउने रहेछन्, धन्न हामी बाँच्यौँ।’

एकीकृत समाजवादी पार्टीको गठनले त्यो खतराबाट धेरै राम्रा कार्यकर्ताहरु बचेको उनको बुझाइ छ। लिङ्देन र कमल थापामार्फत एमाले राजासँग झुक्न पुगिसकेको बताउँदै उनले यो नेपाली जनता र परिवर्तनका लागि घातक सिद्ध हुने भएकाले गठबन्धनले त्यसो हुन नदिने बताए।

माओवादीको १० वर्षे जनयुद्ध र त्यसपछि सम्पन्न १९ दिने संयुक्त लोकतान्त्रिक जनआन्दोलनमा तत्कालीन एमालेका तमाम नेता कार्यकर्ताको बलिदानीलाई ओलीले निरंकुश पञ्चायती व्यवस्थाका लागि राजतन्त्रको पाउमा लम्पसार पार्नु जनआन्दोलनको भावनामाथि गम्भीर कुठाराघात भएको आरोप चौधरीको छ।

लाखौँ नेता कार्यकर्ताको बलिदानी र त्याग तपस्याबाट प्राप्त लोकतन्त्र र संघीय गणतन्त्रलाई ओलीले व्यक्तिगत फाइदाका लागि राजवादीको पाउमा पुर्‍याउनु अत्यन्त शर्मनाक र देश तथा जनताप्रति गम्भीर धोका भएको उनको निष्कर्ष छ। झापा विद्रोहले जन्माएको एमालेले झापाबाटै राजावादीसँग घाँटी जोडेर उसैलाई बोक्न सुरु गर्नुमा पनि आश्चर्य लागेको उनले सुनाए।

नेता चौधरीले वर्तमान गठबन्धनलाई कम्तीमा ५ वर्षसम्म टिकाइ राख्नुपर्ने बताउँदै त्यसका लागि काँग्रेस र माओवादीलाई बढी गम्भीर बन्न आग्रह गरे। यो कुरामा नेकपा (एस) प्रतिबद्ध रहेको भन्दै गठबन्धनलाई चुनाव जिताउन काँग्रेस र एमाले पनि उत्तिकै प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। गठबन्धनले चुनावी अभियानलाई तीव्र पार्नुपर्नेमा पनि चौधरीले जोड दिएका छन्।

प्रकाशित: १ कार्तिक २०७९ १३:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App