४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

शान्ति प्रक्रियालाई पूरा गर्दै संविधानको रक्षाका लागि गठबन्धन : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्दै संविधानको रक्षा, मुलुकको स्थिरता, उन्नति, प्रगति र समृद्धिको मार्गमा डोर्‍याउनका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन्। 

उपसभापति खड्काले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीको एकांकी, सर्वसत्तावादी र अधिनायकवादी शैलीका कारण अहिलेको गठबन्धन बनेको बताउँदै संविधानले परिकल्पना गरेको लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारको संरक्षण गर्दै शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गरेर मुलुकलाई दुर्त विकासको मार्गमा डोर्‍याउन प्रदेश र संघमा गठबन्धनको दुई तिहाई बहुमत आवश्यक रहेको बताए।  

‘तत्कालीन नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीको एकांकी, सर्वसत्तावादी र अधिनायकवादी शैलीका कारण अहिलेको गठबन्धन बनेको हो,’ मंगलबार सुर्खेतको मेहलकुनामा गठबन्धन दलका नेता–कार्यकर्ताहरुसँगको कार्यक्रममा उपसभापति खड्काले भने, ‘जुन उद्देश्यका लागि गठबन्धन बनेको त्यसको उद्देश्य र दीर्घकालीन सोचसहित जनतामाझ गठबन्धनका नेता, कार्यकर्ता र प्रचारक पुग्न आवश्यक छ।’  

उपसभापति खड्काले गठबन्धनको मूल आधार कर्णालीबाट तय भएको बताए। ‘तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध एमालेले ल्याएको आएको अविश्वासको प्रस्तावका विपक्षमा मत दिने निर्णयनै गठबन्धन निर्माणको सुरुवात थियो,’ उनले भने, ‘अहिलेको गठबन्धन निर्माणको बैधानिक स्वरुप कर्णालीबाट सुरु भएको हो, त्यसपछि प्रदेश सरकार परिवर्तनको लहर सुरु भयो, केन्द्रमा पनि गठबन्धनको सरकार निर्माण भयो।’

उपसभापति खड्काले संविधानको रक्षा, मुलुकको स्थिरता, उन्नति, प्रगति र मुलुकलाई समृद्धिको मार्गमा डोर्‍याउँदै शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्नका लागि पनि अहिलेको गठबन्धन दीर्घकालसम्म रहनुपर्ने बताए। ‘१२ बुँदे सहमति गर्दा पनि सत्ता र द्वन्द्वको नेतृत्व कांग्रेस र माओवादीलेनै गरेका थिए,’ उनले भने, ‘शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि पनि कांग्रेस, माओवादीसहितको गठबन्धन मुलुकका लागि आवश्यक छ।’ 

उनले १० वर्षे सशस्त्र युद्धको घाउलाई मल्हम पट्टी गर्न, न्यायिक तरिका र परिपूरणमार्फत द्वन्द्वका घाउ पुर्न र शान्ति संझौताले परिकल्पना गरेको नेपाली–नेपालीबीचमा फेरि द्वन्द्व हुने अवस्थाको अन्त्य गर्नका लागि पनि गठबन्धनको आधार, औचित्य, व्यवहारिक र शैद्धान्तिक पक्षलाई पुष्टि गर्ने बताए।  

उनले संविधान संशोधनका लागि पनि अहिलेको गठबन्धनलाई दुई तिहाई मत आवश्यक रहेको बताए। ‘संविधान जारी गर्नुअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी भएपनि मधेसी, महिला, आदिबासी, जनजाति, धर्म संस्कृतिसँग जोडिएका विषयहरु मिलाउन तत्कालै संविधान संशोधनको प्रक्रिया सुरु गर्ने संकल्प गर्नुभएको थियो,’ उनले भने, ‘संविधान कार्यान्वयन गर्दै जाँदा केही समस्याहरु देखिएका छन्, ति समस्याहरुको समाधनका लागि पनि गठबन्धनको दुई तिहाई बहुमत हुन आवश्यक छ।’ 

उनले मुलुकको आर्थिक प्रगतिको राष्ट्रिय अभियान छेड्नका लागि पनि गठबन्धन बनेको बताए। ‘जीत र हारका लागि मात्रै यो गठबन्धनलाई लियौं भने अत्यन्तै संकुचित हुन्छ,’ उनले भने, ‘त्यसैले धेरै ठूलो उद्देश्य र लक्ष्यहरुसहित राजनीतिक घटनाक्रममको एउटा ठूलो डर लाग्दो अवस्थालाई रोकेर संविधानको रक्षा गर्दै हामी यो अवस्थामा पुगेका छौं, विगतका कमि कमजोरीहरुबाट शिक्षा लिँदै राज्यको शासन सञ्चालमा महत्वपूर्ण सुधार गर्नका लागि गठबन्धन आवश्यक भएको हो।’

उपसभापति खड्काले गठबन्धनले साझा उम्मेदवार बनाएको ठाउँमा दायाँबायाँ नगरेर शत प्रतिशत मत दिने वातावरण बनाउन गठबन्धनका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले निर्वाचनको प्रचारशैली परिवर्तन गर्न आवश्यक रहेको बताए। ‘गाडीका लस्कर, र्‍याली तामझम जनताले मन पराउँदैनन्, त्यो जनताले स्वीकार्ने छैनन्, पैसा बाँड्नेलाई जनताले तिरस्कार गर्नेछन्,’ गठबन्धनले जितेमा राजनीतिमा देखिएको भ्रष्ट्रिकरण, भ्रष्ट्राचारका जालाहरु फाल्न, राजनीतिलाई शुद्धिकरणतर्फ लैजान्छ भनेर जनतालाई विश्वास दिलाउनुछ।’  उनले भने। 

प्रकाशित: १ कार्तिक २०७९ १२:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App