१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धनुषामा आठ पूर्वमन्त्री चनावी मैदानमा

आगामी मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि धनुषामा आठ जना पूर्वमन्त्री चुनावी मैदानमा आमुनेसामुने हुँदैछन्। धनुषामा रहेको चारवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आठ जना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रेका छन्।  

सत्तारुढ नेपाली काँग्रेसको नेतृत्वमा रहेको गठबन्धनबाट पूर्वमन्त्री रामकुष्ण यादव,महेन्द्र यादव,मातृप्रसाद यादव, रामचन्द्र झा र अनिल झा चुनावी मैदानमा उत्रेका छन् भने प्रमुख प्रतिपक्षी दल नेकपा एमाले–जसपा गठबन्धनबाट रघुवीर महासेठ्ठ, जुली कुमारी महतो र उमांशकर अरगरिया प्रतिस्पर्धामा उत्रेका हुन्।

धनुषा निर्वाचन क्षेत्र–१ मा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका मातृका प्रसाद यादव र एमाले गठबन्धनबाट जसपाका दीपक कार्की प्रतिनिधिसभा सदस्यको लागि आमुने सामुने हुँदैछन्। सिके राउत नेतृत्वको जनमत पार्टीबाट किशोरी साह (कमल) प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। साह यसअघि एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। एमालले टिकट नदिएपछि एमाले परित्याग गरी उनले जनमतबाट उम्मेदवारी दिएका हुन्।  

यादव यसअघि ०७४ सालको आम निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए। उनी अघिल्लो निर्वाचनमा एमाले र माओवादी केन्द्रको साझा उम्मेदवार बनेका थिए। उनले २६ हजार ४१८ मत ल्याएर तत्कालीन संघीय समाजवादी फोरम नेपालका उम्मेदवार कार्कीलाई पराजित गरेका थिए। कार्कीले १७ हजार २९६ दोस्रो बनेका थिए भने नेपाली काँग्रेसका आनन्द प्रसाद ढुंगाना १५ हजार ६७९ मत ल्याएर तेस्रो स्थानमा रहेका थिए।

अघिल्लो निर्वाचनमा एमालेको साथ पाएका यादवले यसपालि काँग्रेसको साथ पाउने भएको छ भने कार्कीेले एमालेको। अघिल्लो निर्वाचनमा तेस्रो स्थानमा रहेका ढुंगाना प्रत्यक्ष प्रतिस्पर्धामा छैन। अघिल्लो निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा भएको यस क्षेत्रमा यसपालि दुईपक्षमा प्रतिस्पर्धा हुने भएको छ। विगतको स्थानीय तह निर्वाचनको मत परिणामको अधारमा सत्तारुढ गठबन्धनको उम्मेदवार यादव नै बलियो देखिन्छ। यद्दपी स्थानीय तहको निर्वाचनमा प्राप्त गरेको मत पुनः सोही दलले पाउने निश्चित छैन।  

निर्वाचनमा उम्मेदवारको लोकप्रियता र जनतामा रहेको पकड अधारमा मत प्राप्त गर्ने महत्वपूर्ण अधार हुन्छ स्थानीय युवा राजनीतिककर्मी पुजन सिहं बताउँछन्। ‘यादव ०६४ सालदेखि सांसद बन्दै दुईपटक मन्त्रीसमेत बनिसकेका छन्। कार्की अघिल्लो निर्वाचनमा पराजित भए। उनी दोस्रोपटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका हुन्। जनताले नयाँ अनुहार खोजेको हो त्यसैले स्थानीय तहमा दलको उम्मेदवारले प्राप्त गरेको मत प्रदेश तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवारले सोही अनुसार मत नपाउने त्यसमा घटीबढी हुने  सिंहको बुझाइ छ।’ धनुषा निर्वाचन क्षेत्र–१ मा ७ वटा स्थानीय तह रहेको छ। काँग्रेसले जितेको गणेशमान चारनाथ नगरपालिका–११ वटा, धनुषाधाम नगरपालिका–९ वटा, हंसपुर नगरपालिका–५ वटा ,मिथिला बिहारी नगरपालिका–४ वटा र  मिथिला नगरपालिका–१ वटा वडा पर्छ। त्यस्तै माओवादीले जितेको सबैला नगरपालिका–१३ वटा र एमालेले जितेको क्षिरेश्वरनाथ नगरपालिकाको एउटा वडा पर्छ।

धनुषा–२ मा लोसपा र काँग्रेस गठबन्धन

धनुषा निर्वाचन क्षेत्र–२ मा तीनजना पूर्वमन्त्री प्रतिस्पर्धामा उत्रेका छन्। काँग्रेसका रामकृष्ण यादव, एकीकृत समाजवादीका रामचन्द्र झा र एमालेका उमांशकर अरगरिया चुनावी मैदानमा होमिएका छन्। ०५६ सालको निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएर पराजित गंगाराम यादव ( आनन्द) यसपटक जसपा प्रवेश गरी दोस्रोपटक चुनावी मैदानमा उत्रेका हुन्।  

अरगरिया ०७४ सालको आम निर्वाचनमा यस क्षेत्रबाट उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका थिए। अरगरियाले ३२ हजार ४४ मत ल्याएर निर्वाचित भएका थिए भने अघिल्लो निर्वाचनमा एमाले र माओवादीको साझा उम्मेदवार रहेका झाले १८ हजार ७१५ मत ल्याएर दोस्रो बनको थिए। काँग्रेसका यादव १५ हजार ४४२ मत ल्याएर तेस्रो भए।  

अघिल्लो निर्वाचनमा प्रतिद्धन्द्धी भन्दा झण्डै दोब्बर मत ल्याएर निर्वाचित भएका अरगरियालाई यसपटक चुनाव जित्न त्यति सजिलो छैन। त्यतिबेला मधेश आन्दोलनको रापताप र मधेशवादी दलको एकताले अरगरियाको जितलाई सहज बनाएको थियो तर यसपटक मधेश आन्दोलनको रापताप मात्र सेलाएको छैन। मधेशवादी दल नै चिराचिरा परेको छ भने उनी आफैं पनि कित्ता नै फेरिएको छ। उनी गत असोज ८ गते निर्वाचित भएको दल त्याग गरी एमालेमा प्रवेश गरेका थिए। अहिले एमालेबाटै उम्मेदवारी दिएको छ। यसपटक एमालेबाट चुनाव जित्न उनको लागि निकै चुनौतीपूर्ण बनेको छ। कारण हो उनको विरुद्धमा एमाले पृष्ठभूमीका दुईजना पुराना नेता उम्मेदवारी दिएको छ।

धनुषा दुईमा एमालेको जनअधार राम्रो भएपनि एमाले पृष्ठभूमी भएका हाल एकीकृत समाजवादीका झा, जसपाका यादव र एमालेका अरगरिया उम्मेदवार बनेका छन्। झा र यादव एमालेका पुराना नेता हुन् भने अरगरिया चुनावमा मुखमा एमालेमा प्रवेश गरेका थिए। यसरी हेर्दा एमालेको मत तीन ठाउँमा विभाजन हुने देखिन्छ। काँग्रेसको मत विभाजन हुने कुनै ठोस कारण देखिएको छैन। एकीकृत समाजवादीले केन्द्रमा काँग्रेससँग गठबन्धन गरे पनि धनुषा–२ मा दुबै दलका उम्मेदवार प्रतिस्पर्धामा उत्रेका हुन्। झा ०६४ सालको संविधनासभा सदस्यमा निर्वाचित भएपछि मन्त्री बनेका थिए।

एमालेले प्रतिनिधिसभा सदस्यको लागि धनुषा–२ बाट गंगाराम यादवको नाम सिफारिस गरेका थिए। तर पछि एमालेका अध्यक्ष ओलीले लोसपा प्रमुख सचेतक अरगरियालाई टिकट दिने वचन दिएर पार्टीमा प्रवेश गराएपछि यादव असन्तुष्ट भएर एमाले त्याग गरी जसपामा प्रवेश गरेका थिए। यादवलाई पनि जसपाका अध्यक्ष उपेन्द्र यादवले टिकट दिने वचन दिएका थिए। त्यसकारण अन्य ठाउँमा जसपा र एमालेको गठबन्धन बने पनि धनुषा–२ हुन सकेन।

त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण यादव ०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित भएका थिए। उनी दोस्रो संविधानसभामा निर्वाचित भएपछि मन्त्री बनेका थिए। ०७४ सालको आम निर्वाचनमा तत्कालीन संघीय समाजवादीे फोरम नेपालको उम्मेदवार उमांशकर अगरियासँग पराजित भएको थियो।  

यस क्षेत्रमा सहिदनगर नगरपालिकाको–९ वटा,कमला नगरपालिकाको–९ वटा, विदेह नगरपालिकाको–८ वटा, जनकनन्दिनी गाउँपालिकाको–६ वटा,औरही गाउँपालिकाको–६ वटा, हंसपुर नगरपालिकाको–४ वटा र जनकपुरधाम उपमहानगरपालिकाको–२ गरी जम्मा ४४ वटा वडा रहेको छ। यस क्षेत्रका १९ वडामा काँग्रेसले जितेको छ।  

स्थानीय चुनावमा काँग्रेसले यहाँ २१ हजार २३२ मत ल्याएर ठूलो दल बनेको छ। जसपाले १३ हजार ८८९, एमालेले ११ हजार ५८३, माओवादी केन्द्रले १० हजार ७९४,एकीकृत समाजवादीले ८ हजार ९१७ र लोकतान्त्रिक समाजवादी पार्टीले ६ हजार ७०० मत पाएका छन्। यस क्षेत्रमा लोसपा र काँग्रेसको चुनावी तालमेल भएको छ। दुबै दलको मत जोड्दा झण्डै २८ हजार पुग्ने भएकाले काँग्रेसको उम्मेदवार रामकृष्ण नै बलियो उम्मेदवार देखिन्छ।

त्यस्तै धनुषा–३ मा पनि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ। सत्तारुढ गठबन्धनबाट लोसपाका अनिल झा र एमाले जसपा गठबन्धनबाट एमालेका नेतृ जुली महतोबीच प्रतिस्पर्धा हुँदैछ। एमाले–जसपाको साझा उम्मेदवार जुली महतो र पाँच दलीय गठबन्धनका अनिल झा पहिलो चोटि आमुने–सामुने हुँदैछन्। यसअघि झा रौतहट–१ बाट निर्वाचित भएका थिए। रौतहट–१ सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीको नेता माधव नेपाल उम्मेदवार बनेपछि झा धनुषा–३ मा आएका हुन्। यसअघि जसपाकै राजेन्द्र महतो काँग्रेस नेता विमलेन्द्र निधिलाई पराजित गरी यस क्षेत्रबाट निर्वाचित भएका थिए।  

०७४ सालको निर्वाचनमा एमालेले माओवादीसँग गरेको चुनावी तालमेल धनुषा–३ मा माओवादी केन्द्रबाट रामसाय यादवलाई उम्मेदवार बनाए पनि निधि हराउन अघोषित रुपमा महतोलाई सघाएको थियो।  

एमालेकी जुली महतो दोस्रोपटक प्रत्यक्ष चुनावी मैदानमा उत्रेकी हुन्। दोस्रो संविधानसभाको निर्वाचन उनी एमालेबाट उम्मेदवारी दिएर चुनाव लडेका थिइन्। तर नेपाली काँग्रेसका विमलेन्द्र निधिसँग पराजित भएकी थिइन्। ०७४ सालको निर्वाचनमा जुली समानुपातिक सांसद बनेर केपी शर्मा ओली नेतृत्वको सरकारमा महिला बालबलिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेका थिइन्।

यस क्षेत्रमा पाँच वटा पालिका पर्छ। काँग्रेसले नगराइन नगरपालिका र धनौजी गाउँपालिका,जसपाले मुखियापट्टी मुसहरनिया गाउँपालिका र जनकपुरधाम उपमहानगरपालिका स्वतन्त्रले जितेको छ। यद्दपी जनकपुरधाम उपमहानगरपालिका–१७ वटा वडा पर्ने यस पालिकाका मेयर काँग्रेस समर्थक हुन्। उनले सत्तारुढ गठबन्धनको उम्मेदवारलाई सघाउने अनुमान गरिएको छ।  

स्थानीय तहको मत परिणाम अनुसार सत्तारुढ गठबन्धनका उम्मेदवार अनिल झा नै बलियो उम्मेदवारको रुपमा देखिन्छ। यद्दपी काँग्रेसको साथ पाए पनि झा यस क्षेत्रको लागि नयाँ उम्मेदवार हुन् भने जुली दोस्रो संविधानसभाको निर्वाचनमा होमिएर कार्याकर्तासँग भिजेका नेता हुन्।

धनुषा निर्वाचन क्षेत्र चारमा पनि दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा हुने भएको छ। सत्तारुढ पाँदलीय गठबन्धनको तर्फबाट नेपाली काँग्रेसको सहमहामन्त्री महेन्द्र यादव र एमालेको केन्द्रीय सचिव रघुवीर महासेठ्ठ चुनावी प्रतिस्र्धामा उत्रेका हुन्। दुईजना पूर्वमन्त्रीको पुरानै प्रतिस्पर्धी हुन्। यादव ०७४ सालको निर्वाचनमा पनि यी दुबैजनासँग प्रतिस्पर्धा गरेका थिए। एमाले माओवादीका साझा उम्मेदवार महासेठ २२ हजार ५३२ मत ल्याएर निर्वाचित भएका थिए भने काँग्रेसका महेन्द्रले १९ हजार ९९१ र मधेशी मोर्चाका उम्मेदवार महाजनले १९ हजार ६६२ मत ल्याएका थिए।

महासेठले यसअघि निर्वाचनमा पाएको माओवादीको साथ गुमाएका छन्। महाजनले तत्कालीन राजपा हालको लोसपाको साथ नपाउने भएको छ। काँग्रेसका महेन्द्रले यसअघि एक्लै चुनाव लडेका यसपालि थप तीन दलको साथ पाउने भएको छ। महेन्द्रको साथमा एकीकृत समाजवादी,माओवादी केन्द्र र लोसपाको समर्थन छ।  

गएको स्थानीय निर्वाचनको मत परिणामले काँग्रेसका उम्मेदवार नै बलियो देखिएको छ। धनुषा–४ मा पर्ने पाँच वटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनियाँ गाउँपालिका, मिथिला विहारी नगरपालिका र क्षिरेश्वरनाथ नगरपालिका–१० वटामध्ये ८ वटासहित उप्रमुख पनि काँग्रेसले जितेको छ।

क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा एमालेले जितेको छ भने मिथिला नगरपालिका उपप्रमुखसहित बहुत वडामा एमालेले विजयी भएका हुन्। गएको स्थानीय निर्वाचनमा काँग्रेसका वडाध्यक्षको उम्मेदवारले २६ हजार १५९, एमालेको २४ हजार ३९४, जसपाको ८ हजार २८८, एकीकृत समाजवादीको ८ हजार १६४, माओवादी केन्द्रको ४ हजार ४८५ लोसपाको २ हजार २८४ र सिके राउत नेतृत्वको जनमत पार्टीको उम्मेदवारले १ हजार ९५० मत पाएका थिए।  

स्थानीय निर्वाचनको मत परिणाम अनुसार यस क्षेत्रमा सत्तारुढ गठबन्धनको उम्मेदवार मजबुत देखिएको छ। यद्दपी यहाँ प्रदेशसभाका उम्मेदवारहरुले पार्टी फेरबदल गरेकाले स्थानीय निर्वाचन भन्दा फरक मत परिणाम आउन सकिने आंकलन गरिएको छ। काँग्रेसले जसपाका मधेश प्रदेशका उपाध्यक्ष शेषनरायण यादवलाई प्रवेश गराएर (क) को उम्मेदवार बनाएको छ भने एमालले धनुषा काँग्रेस पूर्व उपसभापति संन्तोष यादवालाई एमालेमा प्रवेश गराएर प्रदेशसभा सदस्यको लागि उम्मेदवार बनाएको छ।  

प्रकाशित: १ कार्तिक २०७९ ०८:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App