५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

घोषणापत्र निर्माणमा ओलीको तामझाम

घोषणापत्र निर्माणका क्रममा जनताले पठाएका सुझाव हेर्दै एमाले अध्यक्ष केपी ओली। तस्बिर: केपी ओलीको फेसबुक

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका केही तस्बिर शनिबार सामाजिक सञ्जालमा सार्वजनिक भए। ललितपुरको लाँकुरी भन्ज्याङस्थित ‘द टेरेसस रिसोर्ट’मा रमाइरहेका बेलाका तस्बिर थिए ती। जसमा ओलीले दूरबिनबाट टाढाको दृश्य नियालिरहेको, पिङ खेलिरहेको, नेताहरूसँग उभिएर मोबाइलमा हेरिरहेको र समूहमा बसेर छलफल गरिरहेको जस्ता तस्बिर छन्।

यसरी तामझामसहित लाँकुरी भन्ज्याङमा देखिएका अध्यक्ष ओली प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीको घोषणापत्र मस्यौदा लेखनका लागि त्यहाँ पुगेको बताइएको छ।  

ती तस्बिरमा अध्यक्ष ओलीसहित महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वकार्यकारी निर्देशक सुशील ज्ञवालीलगायत देखिन्छन्। उनीहरूबाहेक केही विषयविज्ञ समेत टोलीमा रहेको एमाले स्रोतले जनाएको छ।

ओलीको सचिवालय स्रोतका अनुसार टोलीले लाँकुरी भन्ज्याङगमा बसेर घोषणापत्रको मस्यौदा तयार पारिरहेको छ। प्रारम्भिक रूपमा घोषणापत्रका लागि जनस्तरबाट प्राप्त सुझावको अध्ययन, विश्लेषणसहित मस्यौदा लेखन भइरहेको छ। अध्यक्ष ओलीले घोषणापत्र निर्माणका क्रममा व्यस्त भएको देखाउन पहिलोपटक यसरी सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका होइनन्। यसअघि पनि उनी पटकपटक सार्वजनिक चर्चा बटुल्नेगरी घोषणापत्रबारे प्रस्तुत भएका छन्। दुई दिनअघि मात्रै घोषणापत्रकै विषय उल्लेख गर्दै ट्विटर र फेसबुकमा उनले एक तस्बिर सार्वजनिक गरेका थिए। कुर्सीमा बसेर रातो कलमले लेखनमा ध्यानमग्न आफ्नो तस्बिर उनले सार्वजनिक गरेका थिए। जसको क्याप्सनमा उनले लेखेका थिए, आउँदो चुनावका लागि घोषणापत्रमा राख्न तपाईंले पठाएका सुझावहरू हेर्नतिर लागियो।

भदौ २७ गते पनि ओलीले घोषणापत्रका सन्दर्भमा एक भिडिओ सामग्री सार्वजनिक गरेका थिए। ५७ सेकेन्डको उक्त भिडिओको प्रारम्भमा कम्युटरमा बसेर आफ्नै पेजमा आएका टिप्पणीहरू पढिरहेको दृश्य देखाइएको छ। त्यसपछि उनले आफ्नो धारणा राखेका छन्। ‘सामाजिक सञ्जालमा जोडिनुभएका साथीहरू सबैलाई नमस्कार,’ उनले भनेका छन्, ‘समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्ने सन्दर्भमा कृषि क्षेत्रको महत्वलाई दृष्टिगत गरी लिनुपर्ने नीतिहरू, कार्यक्रम र योजनाहरूका सन्दर्भमा यहाँहरूका सुझावहरू मागेको थिएँ। यहाँहरूले सुझावहरू पठाउनुभएको छ। त्यसका लागि धेरैधेरै धन्यावाद। अरु विषयमा पनि मैले यहाँहरूका महत्वपूर्ण सुझावहरू माग्नेछु। यहाँहरूले सहयोग पु¥याउनुहुनेछ मैले विश्वास लिएको छु। हामी संवादमा रहिरहनेछौं।’

त्यसको केही दिनअघि सामाजिक सञ्जालमा आफ्नो तस्बिरसहित ओलीले ‘तपाईंहरूको सुझाव चाहन्छु’ भन्दै एक पोस्टर सार्वजनिक गरेका थिए। जसमा लेखिएको थियो, ‘राष्ट्रको समृद्धिका लागि व्यापक रूपमा आयात प्रतिस्थापन र निर्माण प्रवद्र्धन उद्योगहरूको विकास गर्ने नेकपा एमालेको नीति छ। यसका लागि उत्पादकत्व र उत्पादन वृद्धि, रोजगारी सिर्जना गर्दै आर्थिक परनिर्भरता र व्यापार घाटा अन्त्य गरिनुपर्छ। यसका उपायहरूबारे तपाईंहरूको सुझाव के छ?’ यसमा ७ सय बढी सुझाव आएका छन्।  

यसबाहेक ओलीले युवा, विद्यार्थी, उद्योगी, व्यवसायी, विभिन्न क्षेत्रका विज्ञ, वैज्ञानिकसँग अन्तक्र्रिया, अन्तरसंवादका माध्यमबाट पनि घोषणापत्रका लागि सुझाव संकलन गरेको एमाले स्रोत बताउँछ। जसमा उनी निकै तामझामसहित प्रस्तुत हुने गरेका दृश्य देखिएका छन्।  

‘घोषणापत्र ओलीको प्राथमिकता’

यसपटक एमाले अध्यक्ष ओलीले घोषणापत्रलाई बढी महत्व दिएको ‘भान’ हुनेगरी आफूलाई प्रस्तुत गरिरहेका छन्। घोषणापत्र तयारी समितिको संयोजक उनै छन्। समितिमा पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य र विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाललाई सदस्य राखेर घोषणापत्रलाई पार्टीले बढी महत्व दिएको सन्देश ओलीले दिन खोजेका छन्। ‘घोषणापत्रलाई हामी महत्व दिन्छौं। विगतमा पनि महत्व दिएका थियौं,’ घोषणापत्र तयारी समितिका सदस्य ज्ञवालीले भने, ‘यसपटक अध्यक्ष आफै संयोजक रहेपछि झन् महत्व दिएको स्वतः देखिने नै भयो।’

विगतको अनुभव र मुलुकको आवश्यकताको यथोचित खाका तयार पार्न अध्यक्ष ओलीले घोषणापत्रलाई बढी महत्व दिएको ज्ञवाली बताउँछन्। ‘उहाँ आफ्नो समकालीनहरूमा सबैभन्दा भिजनरी, देश बनाउने हुटहुटी भएको नेता हो। उहाँको देश बनाउने सपनालाई घोषणापत्रमा उतारेर जनतासमक्ष जानुपर्छ भन्ने धारणा छ। यसैकारण उहाँ आफैं यसमा लाग्नुभएको हो,’ ज्ञवालीले भने।  

घोषणापत्र निर्माणमा अध्यक्ष ओलीले समय पनि निकै धेरै दिएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले बताए। उनले भने, ‘उहाँ (अध्यक्ष ओली) घोषणापत्र निर्माणमा धेरैभन्दा धेरै समय दिइरहनुभएको छ। केही समय टिकट वितरणमा व्यस्त रहे पनि अहिले उहाँको ध्यान घोषणापत्र निर्माणमै केन्द्रित छ।’  

घोषणापत्रमा एमाले नेतृत्वको सरकार बनेपछि पाँच वर्षमा गर्न सकिने काम र २० वर्षसम्म पुग्न सकिने गन्तव्यको खाका बुझिनेगरी राखिएको ज्ञवालीले बताए। घोषणापत्रमा विकास, समृद्धि, सुशासन र राष्ट्रियताको विषयलाई बढी महत्वका साथ उल्लेख गरिएको स्रोतले जनाएको छ। जसमा अध्यक्ष ओलीले प्रस्तुत गरेका योजना तथा अडान प्रस्ट रूपमा राखिएका छन्। यस्तै विगतमा ओली नेतृत्वको सरकार भएका बेला सुरु गरिएका तर अधुरा योजनालाई अघि बढाउन लगानी बढाउने विषय पनि समेटिएको बताइएको छ। घोषणापत्र निर्माण एक साताभित्र सकिने केन्द्रीय कार्यालयका सचिव अधिकारीले बताए। ‘अध्यक्ष कमरेड ओलीको स्पिड हेर्दा एक सातामा घोषणापत्र आउँछ। अहिले फाइनल टच दिने काम भइरहेको छ,’ उनले भने।

प्रकाशित: ३० आश्विन २०७९ ०१:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App