४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

मोरङ-५: पहिलेका प्रतिस्पर्धी अहिलेका सारथी

अमृत अर्याल र शिवकुमार मण्डल

मोरङको क्षेत्र नम्बर ५ मा अघिल्लो निर्वाचनका प्रतिस्पर्धी नै अहिलेको निर्वाचनमा एक अर्काका सारथी बनेका छन्। सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार शिवकुमार मण्डल र प्रदेशसभा (ख)का उमेदवार अमृत अर्याल मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा एक अर्काका सारथी बनेका हुन्।  

अघिल्लो निर्वाचनमा  बाम गठबन्धनबाट मोरङ क्षेत्रनम्बर ५ बाट नेकपा माओवादीका शिवकुमार मण्डल र नेपाली काँग्रेसबाट अमृत अर्याल चुनावी प्रतिश्पर्धामा उत्रिएका थिए। चुनावी परिणाममा मण्डलले बाजी मारेका थिए। तर, यसपटक अवस्था फेरिएको छ। विगतमा एक अर्काका प्रतिस्पर्धी बनेका दुवै नेताहरू यतिबेला एक अर्कालाई भोट माग्दै संयुक्त रुपमा चुनाव प्रचारमा लागेका छन्। विगतमा दुवै नेता प्रतिनिधिसभाका उम्मेदवार थिए भने अहिले मण्डल प्रतिनिधिसभा र अर्याल प्रदेशसभा (ख) तर्फका उम्मेदवार हुन्। क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा तर्फ एमाले–जसपा गठबन्धनबाट जसपा मोरङका अध्यक्ष राजकुमार यादव चुनावी मैदानमा छन्। यस्तै एमालेकै बागी स्वतन्त्रबाट योगेन्द्र मण्डलले पनि उमेदवारी दिएका छन्। विगतको निर्वाचनमा  बाम गठबन्धनका उमेदवार शिवकुमार मण्डल, काँग्रेसका अमृत अर्याल र जसपाका राजकुमार यादववीच त्रिपक्षिय प्रतिस्पर्धा भएको थियो। अहिलेको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार शिवकुमार मण्डल, एमाले–जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादव र एमालेका बागी स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलबीच त्रिपक्षिय नै प्रतिस्पर्धा हुने देखिएको छ। निवर्तमान सांसद शिबकुमार मण्डल, र एमाले जसपा गठबन्धनका उम्मेदवार राजकुमार यादवलाई , स्वतन्त्र उमेदवार योगेन्द्र मण्डलले टक्कर दिने क्षमता राख्छन्। जीवन विकास समाज अघुवित्त संस्था संञ्चालन गर्दै आएका योगेन्द्र मण्डलले   प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिन लामो समयदेखि अभियान चलाउँदै आएका थिए। क्षेत्र नम्बर ५ मा उनी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिसमा परेका थिए।  मोरङ ५ मा एमालेका लोकप्रिय र प्रभावशाली नेताका रुपमा चिनिएका मण्डल पहिलो पटक प्रतिनिधिसभाको चुनावी प्रतिश्पर्धामा उत्रिएका हुन्।  

मोरङको क्षेत्रनम्बर ५ को प्रदेशसभा (ख) तर्फ पनि सत्तारुढ गठबन्धनका उमेदवार नेपाली काँग्रेसका अमृत अर्याल र एमाले–जसपा गठबन्धनका उमेदवार जयराम यादववीच पनि कडा प्रतिस्पर्धा हुने देखिएको छ। अर्याल दोस्रो संविधानसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले तत्कालीन संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पराजित गरेका थिए। यस्तै जयराम यादव अघिल्लो निर्वाचनमा प्रदेशसभा (ख) तर्फबाटै निर्वाचित भएर हाल प्रदेश १ का वहालवाला स्वास्थ्य मन्त्री हुन्।

प्रकाशित: २७ आश्विन २०७९ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App