४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

खोटाङमा ‘बागी’को उम्मेदवारी फिर्ताले गठबन्धनलाई सहज

खोटाङका एमाले र गठबन्धन उम्मेदवार। तस्विरः महेश्वर

खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनविरुद्ध परेको नेपाली काँग्रेसकै नेताको ‘बागी’ उम्मेदवारी फिर्ताले नतिजा ल्याउन सहज देखिएको छ। १ प्रतिनिधिसभा र २ प्रदेशसभा रहेको जिल्लामा दुवै प्रदेशमा गठबन्धनविरुद्ध काँग्रेसकै नेताहरुले बागी हालेका थिए।  

निर्धारित समयभित्र दुईमध्ये एक उम्मेद्ववारले मनोनयन फिर्ता गरेपछि अप्ठेरोमा परेको गठबन्धनलाई सहज हुने आँकलन गरिउको छ। गठबन्धनले प्रतिनिधिसभामा १ नं. प्रदेशका खानेपानी तथा सिंचाईमन्त्री समेत रहेका नेकपा (माओबादी केन्द्र)का पोलिटव्युरो सदस्य रामकुमार राई (पासाङ)लाई उठाएको छ। प्रदेशतर्फ (१) मा एकीकृत समाजबादीका वीरबलकाजी राई र (२) मा काँग्रेसकै भूपेन्द्र राईलाई गठबन्धनले मैदानमा उतारेको छ।  

प्रतिनिधिसभा तर्फ स्वीकार गरे पनि काँग्रेसले प्रदेशसभामा जिल्ला नेतृत्वको निर्णयको अपमान गरेको भन्दै केन्द्रसम्म असन्तुष्टि पोख्दै दुवै क्षेत्रमा बिद्रोही उठाएको थियो। केन्द्रीय गठबन्धनको निर्णयविरुद्ध जिल्ला पार्टी स्वयंले निर्णय गरेर पार्टी केन्द्रलाई जानकारी गराएरै बागी दिएकोमा अन्तिम समयमा (१) का उम्मेदवार सुभाषकुमार पोखरेलको मनोनयन फिर्ता भएको छ।  

केन्द्र, प्रदेश र जिल्लाका सबै प्रयासबाट पोखरेलले मनोनयन फिर्ता गरेका छन्। तर, लामो छलफल, बहस र प्रयासका बाबजुद पनि अर्का नेता धर्मराज पोखरेलले भने मनोनयन फिर्ता लिन नमानेको काँग्रेस खोटाङका सभापति विष्णु राईले बताए। उनका अनुसार लामो प्रयासपछि (२) का बागीले मनोनयन फिर्ता लिएको तर, धर्मराजले लिन नमानेपछि त्यहाँ चर्को प्रतिस्पर्धा हुने देखिएको छ।  

सकेसम्म दुवै स्वतन्त्र उम्मेदवारलाई फिर्ता गराएर गठबन्धनलाई सहज बनाउन आफुले प्रयास गरेको तर, पनि संभव नभएको उनले बताए। राईका अनुसार पोखरेलको उम्मेदवारी फिर्ताले भुपेन्द्र राईलाई भने चुनाव जित्न सहज देखिए छ। (१)मा भने एकीकृत समाजबादीका उम्मेदवार वीरबलकाजीलाई बागीकै कारण निकै कठिन पर्ने देखिएको छ।

प्रतिनिधिसभामा होइन भने प्रदेशका दुवै क्षेत्रमा काँग्रेसलाई टिकट दिनुपर्ने माग जिल्ला पार्टीकै रहेको तर, गठबन्धनले संघमा माओबादीलाई उठाएर प्रदेशमा पनि एउटा मात्र निर्वाचन क्षेत्र दिएपछि सिंगो जिल्ला पार्टी विद्रोहमा उत्रिएको थियो। अनिन्तममा (२) मा काँग्रेसकै उम्मेदवार भएकाले बागी मनोनयन फिर्ता गरेको तर, (१) मा फिर्ता गर्न असफल भएको सभापति राईले बताए।  

यसैबीच प्रदेश (२) का बागी उम्मेदवार धर्मराज पोखरेललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको छ। पार्टीको केन्द्रीय निर्देशन र गठबन्धनको कार्यविधि अनुसार गठबन्धनबिरुद्ध उम्मेदवारी दिएर फिर्ता नलिएपछि पोखरेल स्वतः निस्कासनमा परेको काँग्रेस प्रदेश १ का महामन्त्रीसमेत रहेका (२) उम्मेदवार भुपेन्द्र राईले बताए।  

खोटाङमा मन्त्री राईको प्रतिनिधिसभामा प्रतिपक्षी दल नेकपा (एमाले)का पोलिटव्युरो सदस्य विशाल भट्टराईले कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ। भट्टराई ०७४ को एमाले र माओबादी गठबन्धनबाट चुनाव जितेका हुन्। प्रदेश १ र २ मा क्रमशः एमालेले पाँगकर्ण राई (पिके) र जिल्ला अध्यक्ष रामप्रसाद दंगाललाई उम्मेदवार बनाएको छ।  

त्यसैगरी जनता समाजबादी पार्टीबाट केन्द्रीय सदस्य कृष्णकुमार राई (केके), प्रदेश (१) मा अर्का केन्द्रीय सदस्य राकेश राई र (२) मा प्रेमकुमार राई चुनावी मैदानमा छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले भने प्रतिनिधिसभामा मात्र उम्मेदवार उठाएको छ। राप्रपाबाट सर्जु श्रेष्ठलाई उम्मेदवार बनाइएको हो।  

प्रकाशित: २७ आश्विन २०७९ ०७:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App