२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

जसपाका मन्त्री हटाउने पक्षमा प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा) का चार मन्त्रीलाई बर्खास्त गर्ने तयारी गरेका छन्। तर जसपाले भने सरकारमै रहेर चुनावमा सहभागी हुने रणनीति बनाएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकअगाडि नै यस विषयमा टुंगो लगाउने प्रधानमन्त्रीको तयारी छ। स्रोतले भन्यो, ‘जसपाले सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग चुनावी तालमेल गरेपछि देउवा असन्तुष्ट छन्।’  

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार सत्तारूढ गठबन्धन छाडेर प्रतिपक्षी दल नेकपा एमालेसँग सहकार्य गर्न गएका जसपाका चार मन्त्रीलाई सकभर बर्खास्त गर्ने त्यसो गर्न नमिले बिनाविभागीयमा राख्ने तयारी प्रधानमन्त्री देउवाको छ। स्रोतले भन्यो, ‘जसपाका मन्त्रीहरूले आफैं राजीनामा गरून् भन्ने प्रधानमन्त्रीको चाहना हो। यसका लागि प्रधानमन्त्रीज्यूले बुधबारसम्म पर्खनुहुनेछ। बिहीबारसम्म जसपाका मन्त्रीहरूले राजीनामा गरेनन् भने केही कदम चाल्ने प्रधानमन्त्रीको सोच छ।’

प्रधानमन्त्री देउवाले यसका लागि सोमबार नै मुख्य सचिवलाई आवश्यक कानुनी प्रक्रिया बुझ्न निर्देशन दिएका थिए। ‘प्रधानमन्त्रीले मुख्य सचिवलाई कानुनविद्, महान्याधिवक्ताको कार्यालय र निर्वाचन आयोगसँग तत्काल परामर्श गर्न निर्देशन दिनुभएको छ,’ प्रधानमन्त्री कार्यालय स्रोतले नागरिकसँग भन्यो। स्रोतका अनुसार बिहीबारभित्र यो विषय टुंग्याउन प्रधानमन्त्री देउवा आतुर छन्।

‘सकभर बर्खास्त गर्ने तर निर्वाचन आयोगले हटाउन हुँदैन भन्यो भने बर्खास्त नगरेर बिनाविभागीय मन्त्री बनाएर राख्ने प्रधानमन्त्रीको तयारी छ,’ स्रोतले भन्यो। मंगलबार सत्तारूढ गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले यस विषयमा पनि छलफल गरेका थिए। जसपाबाट सरकारमा गएका मन्त्रीहरूमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, वन तथा वातावरणमन्त्री प्रदीप यादव, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई र कृषि तथा पशुपन्छी मन्त्री मृगेन्द्रकुमार सिंह छन्। आफ्नो दल सत्तारूढ गठबन्धनबाट बाहिरिए पनि यी मन्त्रीहरू भने सरकारमै बस्न खोजिरहेका छन्। निर्वाचन आयोगको आचारसंहिताअनुसार यी मन्त्री हटाइए भने पनि प्रधानमन्त्रीले नयाँ मन्त्री नियुक्ति गर्न पाउने सम्भावना छैन। नयाँ नियुक्तिमा आचारसंहिता आकर्षित हुने आयोगको ठहर छ। यस्तै स्थिति २०७४ सालको प्रतिनिधिसभाको निर्वाचनका बेला पनि भएको थियो। त्यसबेला सरकारमा रहेको दल माओवादी केन्द्रले नेपाली कांग्रेससँगको सहकार्य छाडेर एमालेसँग गठबन्धन गरेको थियो। त्यतिबेला प्रधानमन्त्री देउवाले माओवादीका सबै मन्त्रीलाई जिम्मेवारीबाट हटाएर बिनाविभागीय बनाएका थिए। स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू अहिले जिम्मेवारीबाट नहटाई मन्त्री पदबाटै बर्खास्त गर्ने सोचमा हुनुहुन्छ।’ स्रोतका अनुसार जसपाका मन्त्रीहरूलाई सरकारबाट बर्खास्त गरेर बहालवाला मन्त्रीहरूलाई थप जिम्मेवारी दिने प्रधानमन्त्रीको सोच छ। स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यू जसपाका मन्त्रीहरूको कार्यशैलीसँग सन्तुष्ट हुनुहुन्न। यसअघिसम्म उहाँहरूलाई सरकारमै राख्ने प्रधानमन्त्रीको बाध्यता थियो तर अहिले त्यो बाध्यता प्रधानमन्त्रीसँग छैन। स्रोतका अनुसार प्रधामन्त्री खासगरी संघीय मामिला मन्त्रीसँग प्रधानमन्त्री असन्तुष्ट छन्। संघीय मामिला मन्त्रीको अडानकै कारण कर्मचारीहरूको मूल कानुन संघीय निजामती सेवा ऐन अड्किएको प्रधानमन्त्रीको बुझाइ छ, प्रधानमन्त्री कार्यालयनिकट स्रोतले भन्यो।  

यता जसपा सरकार नछाड्ने अडानमा छ। जसपाका अध्यक्ष उपेन्द्र यादवले जसपाले सरकार नछाड्ने प्रस्ट पारे। यसबारेमा प्रधानमन्त्री देउवासँग कुराकानी गर्ने उनले बताए। ‘हामीले सरकार छाड्ने प्रश्न हुँदैन,’ यादवले भने, ‘चुनावी तालमेल एउटा विषय हो। सरकार अर्को विषय हो। चुनाव गराउने जिम्मेवारी हाम्रो पनि हो।’

स्रोतका अनुसार जसपाले एमालेसँग तालमेल गरेलगत्तै जसपाका चारजना मन्त्रीले पार्टी अध्यक्ष यादवसँग भेट गरेका थिए। तत्काल सरकार छाड्न उपयुक्त नहुने सुझाव उनीहरूले यादवलाई दिएका थिए। ‘यसका लागि प्रधानमन्त्रीसँग कुराकानी गर्न उनीहरूको आग्रह थियो,’ स्रोतले भन्यो। कृषिमन्त्री मृगेन्द्रसिंह यादवले आफूलाई राजीनामा गर्न कसैले नभनेको प्रस्ट पारे। ‘हामीले किन सरकार छाड्ने ? यो सरकार गठन गर्ने बेला हामीले पनि हस्ताक्षर गरेका छौं। त्यसैले यो सरकार गठनमा हाम्रो पनि भूमिका छ,’ यादवले भने।

प्रकाशित: २७ आश्विन २०७९ ०१:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App