१० श्रावण २०८१ बिहीबार
image/svg+xml
राजनीति

विश्व बैंकका लागि नयाँ अवसर

अमेरिकी राष्ट्रपति जो वाइडेन प्रशासनसँग विश्व बैंकको समग्र सुधार गरेर वैदेशिक नीतिमा प्रमुख उपलब्धि हासिल गर्न सक्ने अवसर विद्यमान छ। विश्वका संकट सम्बोधन, द्वन्द्वपश्चातको पुनर्निर्माण तथा दिगो एवं स्वस्थ अन्तर्राष्ट्रिय विकासका लागि बैंकको भूमिका महत्वपूर्ण छ। तर बैंकले यो भूमिका निर्वाह गर्न सकेको छैन।  

विश्व बैंकको वित्तीय मोडलको प्रमुख विशेषता के छ भने अमेरिकाले बैंकलाई छुट्याएकोप्रति अमेरिकी डलरले बैंकले प्रवाह गर्ने सहयोगमा १५ डलरले बढ्ने अवसर सिर्जना हुन्छ। अन्य देशले समेत बैंकलाई वित्तीय सहयोग उपलब्ध गराउने र कैयन् गुणाले चुक्ता पुँजी बढ्दा यो संभव भएको हो।  

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वमा कम खर्चमा धेरै ठूला काम गर्न सक्ने क्षमता राख्छन्। बहुपक्षीय यी निकायका अधिकांश सेयर होल्डरहरूले पश्चिमी मान्यतालाई आत्मसात गर्दछन्। अमेरिकाको वासिङ्गटन डिसीमा बैंकको मुख्यालय छ र परम्परागतरूपमा अमेरिकाका नेतृत्व रहने गरेको छ।  

सेन्टर फर ग्लोबल डेभलपमेन्ट (सिजिडी) का चाल्र्स केनी र अन्य कतिपयले विश्वले विद्यमान संकट सम्बोधन गर्ने दिशामा सामूहिक क्षमता गुमाएको तर्क गर्दै आएका छन्। केनीले गरेको समीक्षात्मक अध्ययनअनुसार विद्यमान नीतिगत संकटले विश्व आर्थिक मन्दीतर्फ उन्मुख छ। खाद्यवस्तु र ऊर्जाको मूल्यमा भएको बढोत्तरी, महामारी तथा जलवायु परिवर्तन यसका लागि प्रमुख कारण देखिएका छन्। यो अवस्थामा पनि आर्थिक वृद्धिको अनुपातमा सन् २०१७ यता विश्व बैंकको लगानी बढ्न सकेको छैन। गत वर्ष त यो झन घटेको थियो। मुद्रा कोषले पनि अपेक्षित काम गर्न सकेको छैन।  

अमेरिका, बैंक र कोषका अन्य साझेदारका लागि यो अवस्था अस्वीकार्य हुनुपर्ने हो। आगामी दशकमा विश्वमा देखिएका चुनौतीहरू सामना गर्न बैंकलाई अर्बौं हाराहारीमा होइन, अर्बौं  डलर आवश्यक पर्छ। जसरी युद्धमा सैनिक जनरलहरूको प्रमुख भूमिका हुन्छ, त्यसरी नै वैश्विक अस्तित्वका लागि वित्तीय सहयोगको भूमिका रहन्छ र यसका लागि अन्तर्राष्ट्रिय कूटनीतिज्ञको भूमिका अहं हुन्छ। यो सन्दर्भमा तत्काल चार प्रमुख काम गर्न आवश्यक देखिएको छ। यी सुझाव अमेरिकाका ट्रेजरी सेक्रेटरी जेनेट ऐलनले हालै जारी गरेका वक्तव्य र थिङ्कट्यांकको एक समूहले जारी गरेको अर्काे वक्तव्यसँग तादात्म्यता राख्छन्।  

पहिलो हो, बैंकले नयाँ मिसन स्टेटमेन्ट तयार गर्नुपर्दछ। यसमा दिगोपना, विश्वव्यापी सार्वजनिक वस्तु तथा गरिबी निवारणलाई प्राथमिकता दिनुपर्छ। दिगो विकासलाई महत्व नदिने हो भने गरिबी निवारणका प्रयासले सार्थकता पाउँदैनन्। विश्वको हरित रूपान्तरणका लागि पनि गरिबी निवारण अपरिहार्य छ तर कार्ययोजनाबिनाका मिसन स्टेटमेन्टको खास अर्थ रहँदैन। त्यसैले बैंकका साझेदारहरूले सन् २०२४ देखि २०३४ सम्मका लागि २ ट्रिलियन अमेरिकी डलर प्रवाह गर्ने लक्ष्य लिनुपर्छ।  

दोस्रो हो, बैंकले अख्तियार गरेको वित्तीय मोडलमा आमूल सुधार गर्नु। पुँजीको लगानी बढाउन, वित्तीय लगानीमा राखिने सर्तहरू तथा समयसीमाको समीक्षा गर्नुपर्ने देखिएको छ। अन्तर्राष्ट्रिय वित्त कर्पोरेसन (आइएफसी) र मल्टिल्याटरल इनभेस्टमेन्ट ग्यारेन्टी  कर्पोरेसनसँग को–फाइनान्सिङ बढाउँदा निजी क्षेत्रसँगको हातेमालो सुदृढ हुन सक्छ। सेन्टर फर ग्लोबल डेभलपमेन्ट (सिजिडी) का मार्क प्लान्टले दिएका सुझावअनुसार विकासका लागि आइएमएफको स्पेसल ड्रइङ राइट्स (एसडिआर) लाई पुँजीका रूपमा उपयोग गर्न सकिन्छ। विश्वको विकासका लागि हाल विनियोजन गरिएको नयाँ एसडिआरको प्रभाव अपेक्षित देखिएको छैन।  

तेस्रो हो, परियोजना कार्यान्वयनको गति बढाउन बैंकका प्रक्रियालाई सहजीकरण गर्न आवश्यक छ। आगामी दिनमा युक्रेनको पुनर्निर्माणका लागि प्राथमिकता दिनुपर्नेछ। तर परियोजना कार्यान्वयन प्रक्रियामा सुधार नगरीकन बैंकको सहयोग युक्रेनलगायत अन्य द्वन्द्वपीडित राष्ट्रसम्म समयमा पुर्‍याउन कठिन छ। त्यसैले बैंकले हाल अख्तियार गरेको विधि र प्रक्रियालाई सहज र चुस्त पार्न आवश्यक छ।  

चौथो हो, हरित वित्तको क्षेत्रमा एक वर्षभित्रै लगानी बढाउनुपर्छ। विश्वको विद्यमान आवश्यकता पूरा गर्न यो वित्तलाई दुई तीन गुणाले बढाउनुपर्ने देखिएको छ। सन् २०१८ मा यो वित्तलाई बढाएर १३ अर्ब अमेरिकी डलर बनाइएको थियो। अब त्यही अनुपातमा यो रकम बढाउन आवश्यक छ। ऊर्जा रूपान्तरणका लागि हरेक वर्ष थप १० अर्ब अमेरिकी डलर लगानी गर्न सकेमा यसले सकारात्मक परिणाम दिन सक्छ। माथि उल्लेख गरिएका सुझाव कार्यान्वयनले नयाँ सोच सुरुवात हुन सक्छ। तर यसका लागि विस्तृत कार्यक्रम आवश्यक रहन्छन्। विश्वमा रहेको तत्कालीन माग सम्बोधन गर्न यी सुझाव महत्वपुर्ण हुन सक्छन्।  

अमेरिका र उसका सहयोगीले विकासोन्मुख देशहरूको विश्वासलाई अक्षुण राख्न आवश्यक छ। यसका लागि यी राष्ट्रलाई ठूलो स्तरमा सहयोग गर्न आवश्यक छ। यो सहयोगका तीव्र हस्तान्तरण र प्रभावकारिताका लागि विश्व बैंक माध्यम हुन सक्छ। यही साता जि–२० समूहका अर्थमन्त्री र केन्द्रीय बैंकका गभर्नरहरूको वासिङ्टन डिसीमा हुन लागेको बैठकमा माथि उठाइएका विषयहरूमा केही प्रगति हुन सकेन भने विश्वलाई उपलब्ध एक ठूलो अवसर गुम्नेछ।  

(लेखक हार्वर्ड विश्वविद्यालयका प्राध्यापक हुन्। उनी सन् १९९१ देखि ९३ सम्म विश्व बैंकका प्रमुख अर्थशास्त्री थिए। प्रोजेक्ट सिन्डिेकेटबाट।)

प्रकाशित: २७ आश्विन २०७९ ००:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App