३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

जो निरन्तर चुनाव लड्दै आए

२०१५ सालको पहिलो संसदीय शासन व्यवस्थामा राजनीतिक दलहरूले सामान्य अभ्यास गर्न नपाउँदै तत्कालीन राजा महेन्द्रले आफ्नो हातमा शासन लिए। जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालासहित धेरै नेता जेल परे। त्यसबाट मुक्ति पाउन नेपाली जनता र दलहरूले ३० वर्ष लामो संघर्ष गरे। २०४६ को जनआन्दोलनसँगै मुलुकमा प्रजातन्त्र पुनस्र्थापना भयो। २०४८ सालमा फेरि संसदीय निर्वाचन भयो। त्यसयता निरन्तर चुनावी प्रतिस्पर्धा गर्ने कांग्रेस र एमालेसहित विभिन्न दलका नेताहरूको संख्या उल्लेख्य छ। कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विजयकुमार गच्छदारसहितका नेताहरू त्यसपछिका संसदीय र दुई संविधानसभा निर्वाचनमा निरन्तर उम्मेदवार बन्दै आएका छन्। देउवा र गच्छदारले यसअघिका सबै निर्वाचन जित्दै आएका छन् भने पौडेल २०७४ को निर्वाचनमा पराजित भए।  

त्यस्तै, एमाले अध्यक्ष केपी ओली, लालबाबु पण्डित ०४८ सालमै निर्वाचित भएका थिए। कांग्रेस नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, सुरेन्द्रप्रसाद चौधरी, रमेश रिजाल, बालकृष्ण खाँण, पूर्णबहादुर खड्का, दिलेन्द्रप्रसाद बडु पनि २०४८ मै निर्वाचित भएका थिए। उनीहरूले अहिले पनि प्रतिनिधिसभाका विभिन्न क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै ०४८ मा कांग्रेसबाट निर्वाचन जितेका गोविन्दराज जोशीले अहिले स्वतन्त्र उम्मेदवारी दिएका छन्।  

कतिपय नेताका दल र क्षेत्र फेरिएको छ तर उनीहरूले उम्मेदवारी भने निरन्तर दिँदै आएका छन्। अहिले नेकपा एसमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाल, राजेन्द्रप्रसाद पाण्डे, विरोध खतिवडासहितका नेताहरू पनि निरन्तर उम्मेदवार बन्ने नेताको सूचीमा पर्दछन्। ०४८ मा एमालेबाट चुनाव जितेका अशोक राई अहिले जसपाबाट उम्मेदवार छन्।

जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी अर्का एक नेता हुन्। उनले २०४८ सालयता लगातार चुनाव लडिरहेका छन्। यस अवधिमा उनले पटकपटक पार्टी परिवर्तन गरे तर चुनाव लड्न भने छाडेनन्। २०४८ सालमा उनी नेपाल स्दभावना पार्टीबाट चुनाव लडे। यसपटक उनले जप्रपाबाट नवलपरासी (पश्चिम) १ बाट उम्मेदवारी दिएका छन्। २०७० सालको संविधानसभा निर्वाचनमा उनी पराजित भए। त्यसबाहेक उनले पराजय भोग्नुपरेको छैन। २०४८, २०५१ र २०५६ उनले नेपाल सद्भावना पार्टीबाट उम्मेदवारी दिएका थिए। २०६४ र २०७० मा उनले तराई–मधेस लोकतान्त्रिक पार्टीबाट चुनाव लडे। २०७४ मा भने उनले नेकपा एमालेको सूर्य चिन्ह लिएर चुनाव लडे।

यसैगरी तमलोपाका अध्यक्ष महन्थ ठाकुर पनि २०४८ सालयता सबै चुनावमा लगातार उम्मेदवारी दिँदै आएका छन्। २०४८, २०५१ र २०५६ सालसम्म उनले कांग्रेसबाट चुनाव लडे। २०६४ मा उनले आफ्नै अध्यक्षतामा तमलोपा गठन गरे। त्यसपछि २०६४ र २०७० मा तमलोपाबाट चुनाव लडे। २०७४ को निर्वाचनअगाडि तत्कालीन तराई–मधेसकेन्द्रित ६ दलबीच एकीकरण भई राष्ट्रिय जनता पार्टी गठन गरियो। २०७४ को निर्वाचनमा ठाकुरले तत्कालीन राजपाबाट चुनाव लडे। २०४८, २०५१ र २०५६ मा सालमा उनको निर्वाचन क्षेत्र सर्लाही थियो। २०७४ बाट उनको निर्वाचन क्षेत्र फेरियो। २०७४ मा उनले महोत्तरी ३ मा उम्मेदवारी दिए। यसपटक पनि उनले महोत्तरी ३ मै उममेदवारी दिएका छन् तर यसपटक उनको पार्टी फेरिएको छ। अहिले उनले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट उम्मेदवारी दिएका छन्।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग पनि २०४८ सालदेखि चुनाव लडेको अनुभव छ। २०४८ सालमा उनले नेकपा एमालेबाट सुनसरी २ मा उम्मेदवारी दिएका थिए। त्यसपछि २०४८, २०५१ र २०५६ मा उम्मेदवारी दिएनन्। २०६४ यता उनले निरन्तर उम्मेदवारी दिँदै आएका छन्। यसपटक उनले सप्तरी २ बाट उम्मेदवारी दिएका छन्।

लोसपाका अर्का नेता शरतसिंह भण्डारी पनि २०४८ सालयता निरन्तर उम्मेदवारी दिँदै आएका छन्। २०४८ र २०५१ मा उनले कांग्रेसबाट उम्मेदवारी दिए। २०५६ मा स्वतन्त्रबाट चुनाव लडे। २०६४, २०७० र २०७४ को निर्वाचनमा उनले महोत्तरी २ बाटै चुनाव लडे। २०७० को निर्वाचनमा उनी पराजित भएका थिए। यसपटक उनले लोसपाबाट महोत्तरी २ बाट उम्मेदवारी दिएका छन्। यसैगरी लोसपाका नेता लक्षमणलाल कर्णसँग पनि २०४८ मा चुनाव लडेको अनुभव छ। २०४८ सालमा उनले पर्सा १ बाट उम्मेदवारी दिएका थिए। २०४८, २०५१ र २०५६ मा उनले नेपाल सद्भावना पार्टीबाट उम्मेदवार दिए। २०७० को निर्वाचनमा उनी समानुपातिकतर्फ सांसद भए। यसपटक उनले पर्सा १ बाट उम्मेदवारी दिएका छन्।

लोसपका नेताद्वय राजेन्द्र महतो र अनिल झा भने २०५१ सालको निर्वाचनदेखि हालसम्म निरन्तर चुनाव लड्दै आएका छन्। २०५१ र २०५६ को निर्वाचनमा महतो र झाले नेपाल सद्भावना पार्टीबाट चुनाव लडे। झाले रौतहट र महतोले सर्लाहीबाट चुनाव लडे। २०७४ को निर्वाचनमा महतोले धनुषाबाट उम्मेदवारी दिएका थिए। यसपटक महतोले सर्लाही २ बाट उम्मेदवारी दिएका छन् भने झाले धनुषा ३ बाट उम्मेदवारी दिएका छन्।

प्रकाशित: २४ आश्विन २०७९ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App