१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

एमालेमा नरहने घनश्याम भुसालको घोषणा

नेकपा एमालेका स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमालेमा परित्याग गरेको घोषणा गरेका छन्।

रुपन्देही १ बाट प्रतिनिधिसभा सदस्यको टिकट नपाएपछि उनले एमालेमा नरहने घोषणा गरेका हुन्। साथै उनी स्वतन्त्रबाट उम्मेदवार बन्ने तयारीमा छन्। तर रुपन्देही १ मा माओवादीले उनको लागि ठाउँ छाडिदिएको बुझिएको छ।

एमालेमा केपी शर्मा ओलीलेको दम्भ र स्वेच्छाचारिताको कारणले पार्टीमा बस्न नसक्ने निष्कर्ष निकाल्दै उनले पार्टीमा नरहने बताएका छन्।

यस्तो छ उनको विज्ञप्ति

देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ। यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिस्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो।

नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिस्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो। तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती ग¥यो। त्यसपछि पार्टी संस्थागत रुपले गुटबन्दीको मैदान बन्दै गयो।

आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो। र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ।

नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ। तर म स्वयम्ले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमानदार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।

नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरूप्रति सदा मेरो ऐक्यबद्धता रहनेछ। राष्ट्रको सर्वोपरि हितका लागि म उत्तिकै सक्रिय रहने छु। कमरेडहरू १ सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौँ।

घनश्याम भूसाल

मणिग्राम, रुपन्देही

२०७९ असोज २२

 

प्रकाशित: २२ आश्विन २०७९ ०८:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App