२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीको सम्बोधनः कांग्रेस, मधेसवादीप्रति आक्रामक, एमाअोवादीप्रति माैन (अडियो)

काठमाडौं–बिहीबार व्यवस्थापिका संसदलाई प्रधानमन्त्रीले पाैने २ घण्टा लामो सम्बोधन गरे। सम्बोधनको सुरूमा प्रधानमन्त्रीले संयमित शैली र नरम शब्द चयनमा ख्याल राखेका महसुस हुन्थ्यो। सम्बोधनको प्रारम्भ गम्भीरतासाथ गरेका प्रधानमन्त्री विस्तारै आक्रामक रुपमा प्रस्तुत भए।सम्बोधनको अन्त्यतिर प्रधानमन्त्री साविक शैलीमै घोचपेचमै उत्रिए।

उनको व्यंग्य प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र असन्तुष्ट मधेसवादी दलप्रति थियो। प्रधानमन्त्रीले एमाअोवादी र त्यसका अध्यक्ष पुष्पकमल दाहालप्रति कुनै नकारात्मक टिप्पणी गरेनन्। एमाअोवादी अध्यक्ष दाहाल सरकार परिवर्तनको खेलमा लागेको प्रशंगमा प्रधानमन्त्रीले पर्दा हालिदिए, कुनै प्रशंग कोट्याएनन्। सरकारै ढाल्न तम्सेको एमाअोवादीसँग भएका सहमति र सम्झाैताबारे उनले केही खुलाएनन्। एमाअोवादीले नाटकीय ढंगले गरेका पछिल्ला निर्णयबारे प्रधानमन्त्रीले कुनै व्यंग्य कसेनन्। सरकार ढाल्ने उद्घोष गरेको एमाअोवादीले २४ घण्टा भित्रै निर्णय फेरेर सरकारकै कित्तामा फर्केको प्रशंगमा उनी जान चाहेनन्।

उनले सरकार फेर्नुपर्ने कुनै कारण नरहेको बताए।

संसदमा उठेका सवालको मात्रै प्रधानमन्त्रीले जवाफ दिएनन, त्योभन्दा अगाडि बढेर उनले संचार माध्यम र सार्वजनिकरूपमा हुनेगरेका चर्चा र टिकाटिप्पणीको पनि जवाफ दिने र प्रतिवाद गर्ने प्रयास गरे।

प्रधानमन्त्रीका उखान टुक्का र भाषण शैलीबारे हुनेगरेका आलोचना, हसिमजाक र टिप्पणीबारे प्रधानमन्त्रीले समय लिएरै सफाइ दिए। 'उखान टुक्काले देश चल्दैन भनेको पनि मैले सुने,' प्रधानमन्त्रीले भने 'चीनसँगको सम्भझाैता उखान टुक्का हो?, विशाखापट्नम मजाक हो?' उनले चुनाैती दिए 'यसअघि पटकपटक प्रधानमन्त्री हुनेले के गरेर देखाए?'

प्रधानमन्त्रीले पुनर्निमाण प्राधिकरणका सिइअोलाई कनिष्ठ भनिएकोमा प्रतिवाद गरे। यसअघि नेपाली कांग्रेसले नियुक्त गरेका सिइअोसँग तुलना गर्नसम्म उनले भ्याए र ती भन्दा कमजोर नरहेका दावी गरे।

खडेरी र आगलागीका घटना जोडेर सरकारले केही गरेन भन्दै दवाव दिने गरिएको प्रशंगमा उनले माैषमले सरकारलाइ साथ दिएर बुधबार पानी परेको ठट्टा गरे।

चुल्हो-चुल्होमा ग्याँस जोड्ने, हावाबाट विजुली निकाल्ने, लोडसेडिङ अन्त्य गर्ने, रेल संचालन गर्ने लगायत आफ्न महत्वकांक्षी योजनाप्रति व्यंग्य गरिएकोमा उनले एकएक गरेर सप्रसंग ति काम संभव रहेको भन्दै बचाउ गरे।

सुनाैं प्रधानमन्त्रीको सम्बोधनको पूर्ण अंशः

प्रकाशित: २३ वैशाख २०७३ ०८:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App