१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महरा चुनावबाट डराएकै हुन् त?

दाङ २ बाट प्रतिनिधिसभाका लागि माओवादीले उम्मेदवार सिफारिस गर्दा चुनाव लड्ने मनस्थितीमा रहेका उपाध्यक्ष कृष्णबहादुर महरा एकाएक ‘टर्न’ भए। आफूलाई समानुपातिक सूचीमा ‘बन्द’ राखेर महरा प्रत्यक्ष निर्वाचनको ‘दौड’ बाट बाहिरिए। अघिल्लोपटक निर्वाचन लडेको क्षेत्रबाट पुनः निर्वाचन लड्न नखोजेर महराले दुई सन्देश दिए। पहिलो, एमाले महासचिव शंकर पोखरेलसँगको ‘जुधाइ’ महंगो बन्ने खतरादेखि महराले उन्मुक्ति चाहे। अनि दोस्रो, आफू धेरै ठाउँबाट सिफारिस भएका कारण ‘तानातान’ मा पर्न नचाहेर समानुपातिक सूचीमा पर्न चाहेको उनी आफैले बोले। तर उनी निर्वाचन लड्न नखोज्नुको एक मात्रै कारण भने ‘निर्वाचन हार्न सक्ने’ त्रासदी नै रहेको चर्चा छ।  

२६ भदौमा महराले आफू निर्वाचन लड्न चाहेको र दाङ–२ बाटै निर्वाचन लड्ने बताएका थिए। यो घोषणा गर्दा महरामा निर्वाचन लड्ने ठूलो साहस देखिएको थियो। यती सम्मकी उनले आफूले प्राप्त गर्न सक्ने मत र जीत्न सक्ने आधारसमेत केलाएर बनिसकेका थिए।  

माओवादी स्रोतका अनुसार अर्को दिन बिहानै महराको यात्रा काठमाडौं तय भयो। माओवादी अध्यक्ष पुष्पकमल दाहालले महरालाई फोन गरेर तत्काल काठमाडौं फर्कन भनेका थिए। ‘मिलाउनुपर्ने भयो, तपाईं तुरुन्त काठमाडौं आउनुस् भनेर अध्यक्षले बोलाउनुभयो,’ स्रोतले भन्यो ‘अनि हतारमा काठमाडौं जानुभयो।’ उम्मेदवारी छलफलका लागि काठमाडौं पुगेका महराको नाम समानुपातिकको बन्द सूचीमा समावेश भयो, अर्थात् उनले प्रत्यक्ष चुनावी दौड छोडिदिए।  

क्षेत्र नम्बर २ मा आफ्नो सहज जित खोजिरहेका एमाले महासचिव शंकर पोखरेलले ‘महरा–तगारो’ पञ्छाउन खोजिरहेका थिए। गठबन्धनका तर्फबाट साझा उम्मेदवार महरा बन्दा आफूलाई घाटा लाग्न सक्ने ठूलो जोखिमदेखि उनी अबुझ थिएनन्। अनि त पोखरेलले महरालाई रोक्न माओवादीभित्र लबिङ थालिरहेका थिए। पोखरेलले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीमार्फत महरालाई निर्वाचनमा नभिड्न सन्देश दिइरहेका थिए। ‘मुख्यमन्त्रीलाई शंकर जिले महरालाई नउठाइदिनुप¥यो, मिलेर जानुप¥यो भन्नु भएको रहेछ,’ महराले भनेका थिए, ‘तर मलाई सिधै उहाँ (पोखरेल) ले भन्ने हिम्मत गर्नुभएको त छैन।’

त्यसो त, महरा स्वयं निर्वाचनदेखि झस्किएका भने थिए नै। उनले सुरुमा आफू समानुपातिक उम्मेदवार नै बन्ने भन्दै पार्टी अध्यक्ष दाहालसँग भनेका थिए। तर दाहालले ‘तपाईंजत्तिको मान्छे नलडेर को लड्छ त पार्टीबाट चुनाव?’ भनेका थिए। अनि महरा चुनाव लड्ने मनस्थितिमा पुगेका थिए। सुरुदेखि नै आफू समानुपातिक सूचीमा पर्ने योजनाले महराका लागि चुनाव जित्न सक्ने आधार ‘कमजोर’ देखिइरहेका थिए।  

०७४ को निर्वाचनमा एमालेसँगको तालमेलको बलमा प्रतिनिधिसभा सदस्य चुनिएका महराको प्रतिनिधिसभा यात्रा सुखद बनेन। प्रतिनिधिसभा सभामुखको ‘ओहदा’ मा पुगेका महरा यौन दुराचार जस्तो गम्भीर मुद्दामा मुछिए। संसद् सचिवालयकी एक कर्मचारीले महराविरुद्ध बलात्कार मुद्दा दर्ता गरेपछि महराको सभामुख पद मात्रै खोसिएन उनको राजनीतिक यात्रा एकाएक ओरालो लाग्यो। उनले यो मुद्दामा सफाइ भने पाए तर उनको सक्रिय राजनीति ‘शिथिल’ बन्दै गयो। कार्यकर्ता पंक्तिसामु ‘निरास’ देखिने महराले आफूलाई पहिला जस्तो ‘भद्र’ नेताका रूपमा प्रस्तुत गर्न सहज मान्दै मानेनन्। उनको राजनीतिक यात्रालाई ठूलो धक्का लगाएको यो मुद्दादेखि शिथिल बनेका महरा आगामी निर्वाचनमा भिड्ने वा नभिड्ने भन्नेमा अनिश्चित देखिए। ‘त्यो घटनापछि आफ्नो पक्षमा जनमत रहने वा नरहने भन्नेमा ठूलो द्धिविधा थप्यो,’ एक नेता भन्छन्, ‘यसर्थ निर्वाचनमा मतदातासामु फेस गर्दा हारिने त्रासदी भएको पनि हो।’

महराले आफ्नो जनमत बुझ्ने माध्यम गत स्थानीय तहको निर्वाचनलाई बनाए। आफ्नो क्षेत्र दाङ २ मा रहेको ठूलो स्थानीय तह घोराही उपमहानगरको जनमत बुझ्न खोजेका उनले यहाँको मेयर पदको उम्मेदवार आफू निकटस्त नेता माओवादीका हेमराज शर्मालाई बनाए। उनले प्राप्त गर्ने जनमतका आधारमा आफ्नो उम्मेदवारी रहने वा नरहने भन्ने विषयको निक्र्योल गर्नेमा महरा थिए। यो स्थानीय तहमा आफू निकटस्थ शर्मा पराजित बने, त्यो पनि वर्तमान गठबन्धन कायमै रहेको अवस्थामा।  

यो उपमहानगरको जनमतले गठबन्धन कार्यान्वयन फितलो भएको महसुस महराले पक्कै गरेको हुनुपर्छ। आफ्नो पार्टीको मतले मात्रै जित्नसक्ने सम्भावना नरहने तर कांग्रेसका मतदाताहरूले माओवादीलाई मत हाल्न नमान्ने सन्देश दिएको स्थानीय तहको निर्वाचनपछि अब हुने निर्वाचनमा पनि उही स्थिति दोहोरिने खतरादेखि महरा सचेत बने। तर महराले भने गठबन्धन कार्यान्वयनमा कांग्रेसभित्र मात्रै समस्या नभई आफ्नै पार्टी माओवादीभित्र पनि समस्या रहेको बुझेका छन्। ‘समस्या कांग्रेसभित्र मात्रै हैन, हाम्रै भित्र पनि समस्या छन्,’ महराले भनेका थिए ‘गठबन्धनप्रतिको बलियो धारणा बनाउनका लागि सबै लाग्नु पर्ने देखिन्छ।’

एकाएक निर्वाचनबाट भाग्दा कार्यकर्ता पंक्तिमा राम्रो सन्देश नजाने देखेका महराले आफू निर्वाचन लड्ने उद्घोष भने गरेकै थिए। रोल्पा, दाङ १ र दाङ २ बाट उम्मेदवार सिफारिस परेका महराले आफ्नो रोजाइ दाङ २ नै रहेको बताएका थिए। आफूलाई तीन स्थानबाट नाम आफ्नो नाम आफंै सिफारिस गर्न लगाएका महराले यसलाई आफू समानुपातिक उम्मेदवार बन्ने सहज बाटोका रूपमा प्रयोग गरिदिए। उनले आफू तानातानमा पर्दा राम्रो नहुने भन्दै समानुपातिक रोज्नु परेको बताएका थिए। त्यसो त दाङ २ बाहेक अन्यत्र गएको भए ‘पाहुना’ नेता भनेर अघिल्लो निर्वाचनमा ‘ट्याग’ भिरेका महरालाई यो ट्याग लागिरहने रहने थियो।  

फलतः दाङ २ मा सहज नदेखेपछि महरा समानुपातिक सूचीमा समावेश भएको यथार्थतालाई नकार्न सकिन्न। अघिल्लो पटकको सभामुखको कार्यकालका क्रममा लागेको गम्भीर अपराधको मुद्दाले गुमाईदिएको लोकप्रियता अनि गत स्थानीय तहको निर्वाचनमा घोराही उपमहानगरमा बेहोर्नु परेको गठबन्धनको पराजयले महरालाई आगामी निर्वाचनमा आफ्नो जितको ‘पक्कापक्की’ देख्न सहज बनेन। फलतः प्रतिनिधिसभा सदस्यका लागि आफ्नो ‘सुरक्षित अवतरण’ महराले समानुपातिक उम्मेदवारबाट खोजे।

प्रकाशित: १२ आश्विन २०७९ ०१:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App