८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेदवारी दर्तासँगै सम्पत्ति विवरण बुझाउनुपर्ने

चुनाव आचारसंहिता लागु

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता, २०७९ लागु गर्ने भएको छ। आयोगको मंगलबार बसेको बैठकले बुधबारदेखि निर्वाचन आचारसंहिता लागु गर्ने निर्णय गरेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए।

‘आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि बुधबारदेखि आचारसंहिता लागु हुन्छ,’ उनले भने, ‘आचारसंहिता पालनामा सबैको सहयोगको अपेक्षा गरेका छौं।’ प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ, नेकपा माओवादी केन्द्रका नेता लीलामणि पोखरेलसहित १३ राजनीतिक दलका प्रतिनिधिले आइतबार आयोगमा उपस्थित भई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका थिए।

आचारसंहितामा संघीय सरकारका प्रधानमन्त्री, मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री तथा स्थानीय तहका कार्यपालिका सदस्य निर्वाचन प्रचारप्रसार गर्न आफ्नोबाहेक अन्य क्षेत्रमा जान नपाउने व्यवस्था गरिएको छ। निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारले उम्मेदवारी दिँदा सिलबन्दी गरी सम्पत्ति विवरण पेस गर्नुपर्नेदेखि आफूले खर्च गर्ने अनुमानित रकम खुलाउनुपर्ने र बैंक वा वित्तीय संस्थामा खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था आचारसंहितामा उल्लेख छ।  

आचारसंहिताअनुसार उम्मेदवारले २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंकमार्फत कारोबार गर्नुपर्नेछ। आचारसंहिता संघीय सरकार, संघीय सरकारका मन्त्री, प्रदेश सरकार, प्रदेश सरकारका मन्त्री, नेपाल सरकार वा प्रदेश सरकारका निकाय तथा पदाधिकारी, स्थानीय कार्यपालिका, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, राजनीतिक दल तथा तिनका भ्रातृ संगठन, उम्मेदवार, सार्वजनिक पद धारण गरेका व्यक्ति, शिक्षक, विकास साझेदार र पर्यवेक्षकलगायतलाई लागु हुनेछ।  

आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्नअंकित ज्याकेट, कमिज, भेस्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क र लकेटजस्ता सामग्रीको प्रयोग गर्न नहुने उल्लेख छ। निर्वाचन प्रचारसँग सम्बन्धित स्टिकर, लोगो, झोला, ब्याच, ट्याटुजस्ता सांकेतिक सामग्री उत्पादन गर्न, प्रयोग गर्न, बिक्रीवितरण गर्न वा प्रदर्शन गर्न आयोगले रोक लगाएको छ।  

आचारसंहिताअनुसार ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय र अपांगता भएका व्यक्तिको भावनामा आँच आउने वा चरित्र हत्या हुनेगरी निर्वाचन प्रचारप्रसार गर्न पाइनेछैन। यसैगरी बालबालिकालाई निर्वाचन प्रचारप्रसारमा प्रयोग गर्न वा गराउन नहुने, प्रचलित कानुनबमोजिम निषेध गरिएको समय र स्थानमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने र सामाजिक सञ्जालमा गलत, भ्रामक वा द्वेषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभावित पार्नेगरी सामाजिक सञ्जाल सञ्चालन गर्न, फेक साइट खोल्न नहुने आचारसंहितामा उल्लेख छ। त्यस्तै, सामाजिक सञ्जालमा सेयर, ट्याग, कमेन्ट वा प्रतिकमेन्ट गर्न वा गराउन, कसैको चरित्र हत्या गर्न, व्यक्तिगत लाञ्छना लगाउन, मानहानि गर्न पनि आचारसंहिताले निषेध गरेको छ।

आचारसंहिताअनुसार पदाधिकारी, कर्मचारी तथा निकायले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न पाइनेछैन। तर निर्वाचमा उम्मेदवार भएका मन्त्रीले आफ्नो क्षेत्रमा भने प्रचारप्रसार गर्न पाउनेछन्। आफ्नोबाहेक अरूको निर्वाचन क्षेत्रमा प्रचार गर्न जान उनीहरूलाई निषेध गरिएको छ। आचारसंहिता लागु भएपछि कुनै राजनीतिक नियुक्तिको पद सिर्जना गर्न वा त्यस्तो पदमा नियुक्ति गर्न नहुने, नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्नेलगायत कुनै पनि आर्थिक सुविधा वा पुरस्कार प्रदान गर्न पाइनेछैन। तर, आयोगलाई जानकारी गराएर वा उसको स्वीकृति लिएर लोकसेवा आयोग, प्रदेश लोकसेवा आयोग, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेनाको नियमित रूपमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नपर्ने आचारसंहितामा उल्लेख छ।

सुरक्षा निकाय, संवैधानिक निकाय र तिनका पदाधिकारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने, राजनीतिक दल वा उम्मेदवारले आयोजना गरेका बैठक, सभा, कार्यशाला, गोष्ठी, सम्मेलन र अन्तरक्रियाजस्ता कार्यक्रममा भाग लिन नहुने, सामाजिक सञ्जालमा राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोस्ट, सेयर वा सामाजिक सञ्जालमार्फत मत माग्न नहुने आचारसंहितामा उल्लेख छ।

राजनीतिक दल, उम्मेदवार र दलका भ्रातृ संगठनले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्दा आचारसंहिताको परिधिमा रही सभ्य, अनुशासित तरिकाले गर्नुपर्नेछ। कसैको घरको आसपासमा गई निज वा निजको परिवारको सदस्यको सम्बन्धमा विरोध वा प्रदर्शन गर्न, स्थानीय प्रशासनको अनुमति नलिई सार्वजनिक स्थलमा कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न, जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डाअंकित लोगो, स्टिकर, कपडा, टोपी, क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न पाइनेछैन। एकभन्दा बढी राजनीतिक दल, उम्मेदवार वा भ्रातृ संगठनले एकै ठाउँमा जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला गर्न नहुने र त्यस्तो अवस्थामा स्थानीय प्रशासनले कार्यक्रम गर्ने स्थल वा मार्ग परिवर्तन गर्न दिएको निर्देशन पालना गर्नुपर्नेछ।  

आचारसंहिताअनुसार जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा प्रचारप्रसारका कार्यक्रम बिहान ७ देखि साझँ ७ बजेसम्म मात्र गर्नुपर्नेछ। निर्वाचन प्रयोजनका लागि ७५ ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रङ र मुद्रकको नामसहित पर्चा मात्र प्रयोग गर्न पाइनेछ। उम्मेदवार वा दलले आफ्नो कार्यक्रमबाहेक स्थानमा दलको झण्डा, निर्वाचन चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइड बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न रोक लगाएको छ। दल वा उम्मेदवारले आयोजना गर्ने जुलुस, आमसभा, कोणसभा वा घरदैलो कार्यक्रममा दस/दसवटासम्म झण्डा र निर्वाचन चिह्न प्रयोग गर्न तथा दल वा उम्मेदवारको नाम र चिह्न भएको एउटासम्म तुल वा फ्लेक्स राख्न भने पाइनेछ। 

प्रकाशित: १२ आश्विन २०७९ ०१:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App