३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

अभ्यासविपरीत बोलिन् राष्ट्रपति

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले कूटनीतिक अभ्यासविपरीत आफ्नो आशन्न भारत भ्रमणबारे सार्वजनिक अभिव्यक्ति दिएकी छन्। सरकारले औपचारिक घोषणा गर्नुअगावै राष्ट्रपति भण्डारीले वैशाख २७ गतेबाट हुने आफ्नो भारत भ्रमणबारे सार्वजनिक गरेकी हुन्।शीतल निवासमा बुधबार केही पत्रकारमाझ उनले आफ्नो भ्रमण नेपाल–भारतबीचको आपसी सम्बन्ध सुदृढ गर्न र असमझदारी हटाउन केन्द्रित हुने बताइन्। त्यति मात्र होइन, भ्रमणले दुई देशबीचको सद्भाव बढाउने दाबीसमेत गरिन्।

'मेरो भ्रमणको मुख्य उद्देश्य नेपाल र भारतबीचको सम्बन्ध सुदृढ बनाउनु र असमझदारी हटाउनु हो,' उनले भनिन्, 'यही उद्देश्यअनुसार भ्रमण तयारी भइरहेको छ। भ्रमणको औपचारिक निर्णय र घोषणा हुन भने बाँकी छ।'

राष्ट्रप्रमुख र सरकारप्रमुखले गर्ने विदेश भ्रमणको सम्बन्धित देशका सरकारले औपचारिक घोषणा गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। यस्तो भ्रमणको दुवै देशले आपसी समझदारीमा मिति तय गरेपछि त्यसलाई मन्त्रिपरिषदले स्वीकृत गर्नुपर्ने हुन्छ। त्यसपछि मात्र सरकारले राष्ट्रप्रमुख तथा सरकारप्रमुखको आधिकारिक भ्रमण घोषणा गर्छ। तर, राष्ट्रपतिको आशन्न भारत भ्रमण सम्बन्धमा भने सरकारले औपचारिक निर्णय गरिसकेको छैन।

'सरकारले औपचारिक घोषणा नगरेसम्म राष्ट्रपतिले आफ्नै भ्रमणको विषयमा बोल्नु हुँदैनथ्यो, अहिलेजस्तो राजनीतिक अवस्था तरल रहेका बेला त झनै बोल्नु हुँदैनथ्यो,' परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले टिप्पणी गरे, 'त्यस्तो नहोस् तर कुनै कारणवश भ्रमण हुन सकेन भने राष्ट्रपतिज्यूले के जवाफ दिने? यो राष्ट्रपति कार्यालयको अपरिपक्व व्यवहार हो।'

राष्ट्रपति भण्डारीले वैशाख २७ बाट हुने भारतको पाँचदिने भ्रमणलाई 'सद्भाव भ्रमण' जनाइन्। उनले भनिन्, 'भ्रमणका बेला नेपाल र भारतबीच मित्रता र सद्भाव अभिवृद्धि गर्नमा मेरो ध्यान हुनेछ। दुई देशबीचको सम्बन्ध घनिष्ट बनाउनु मुख्य कुरा हो।'

उनले भ्रमणका बेला राजनीतिक कुराकानी नगर्ने बताइन्। राष्ट्रको सबैभन्दा उच्च ओहदा 'राष्ट्रपति पद' लाई संवैधानिक राजनीतिक पदका रूपमा व्याख्या गर्दै उनले भनिन्, 'राष्ट्रपति भनेको संवैधानिक राजनीतिक पद हो, संविधान कार्यन्वयन गर्नु पनि राजनीतिक काम हो।'

अहिले भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणमा ल्याउन खोजिएको भए पनि विविध कारणले सम्भव हुन नसकेको उनले जनाइन्। भारतीय राष्ट्रपति नेपाल आउन नसकेपछि आफू भारत भ्रमणमा निस्कन लागेको उनको स्पष्टोक्ति थियो।

'खासमा अहिले भारतीय राष्ट्रपतिज्यूलाई नेपाल ल्याउन खोजिएको थियो, अलि मिलेन, उहाँ अलि पछि नेपाल भ्रमणमा आउनुहुन्छ,' भण्डारीले भनिन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले पनि राष्ट्रपति भण्डारीले राष्ट्रपतिका रूपमा पहिलो विदेश भ्रमण छिमेकी भारतबाट गर्ने बताए। भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक निमन्त्रणामा वैशाख २७ गतेबाट उनले भारतको भ्रमण गर्ने कार्यक्रम तय भएको उनले जानकारी दिए।

'भ्रमणका बेला धेरैभन्दा धेरै राजनीतिक भेटवार्ता गर्ने प्रस्ताव गरेका छौं, हामी अन्तिम तयारीमा छौं,' राष्ट्रपतिको विदेश मामिला सल्लाहकार मदन भट्टराईले भने, 'भ्रमण कुनै एजेन्डा लिएर हुनेछैन। हामी खुला रूपमा जानेछौं। भ्रमणले दुई देशबीचको सद्भाव र समझदारी बढाउँछ भन्ने ठानेका छौं।'

हालसम्म तय भएको भ्रमण कार्यक्रमअनुसार राष्ट्रपति भण्डारी वैशाख २७ गते अपराह्न भारतको नयाँदिल्ली पुग्नेछिन्। भोलिपल्ट वैशाख २८ गते उनले नयाँदिल्लीमा महत्वपूर्ण राजनीतिक भेटवघाट गर्ने कार्यक्रम छ। उनले भारतीय समकक्षी प्रणव मुखर्जीसँग राष्ट्रपति भवनमा वैशाख २८ गते भेटवार्ता गर्ने जनाइएको छ। सोही दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, अन्य मन्त्री तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताले उनीसँग शिष्टाचार भेट गर्नेछन्।

नयाँदिल्लीमा राजनीतिक भेटघाट सकेर उनी मध्यप्रदेश प्रस्थान गर्ने कार्यक्रम छ। त्यहाँ उनले महिला सशक्तीकरणसम्बन्धी एक सेमिनारलाई सम्बोधन गर्नेछिन्। 'नेपाल र भारतको सम्बन्ध व्यापक छ। हामीले राष्ट्रपतिज्यूको भ्रमण गराएर राजनीतिक तहमा सम्पर्क बढाउन खोजेका हौं,' भट्टराईले भने।

राजनीतिक उतारचढाबले राष्ट्रपतिको भारत भ्रमण नरोकिने भनाइ उनको छ। 'सरकार परिवर्तन भए पनि फरक पर्दैन, भ्रमण हुन्छ,' उनले भने। राष्ट्रपति भण्डारी मध्यप्रदेशमा आयोजना हुने कुम्भ मेलामा सहभागी हुनेछिन्। त्यहीं मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले उनीसँग शिष्टाचार भेट गर्नेछन्। मध्यप्रदेशबाट नयाँदिल्ली हुँदै उनी स्वदेश फर्कने कार्यक्रम छ।

प्रकाशित: २२ वैशाख २०७३ २०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App