१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डोटी काँग्रेसका स्थानीय समितिको एक स्वर–गठबन्धन भए मत दिँदैनौं

नेपाली काँग्रेस, डोटीका स्थानीय समितिहरूले जिल्लामा गठबन्धनको भारी नलाद्न केन्द्रीय समितिलाई दबाव दिएका छन्। आज सदरमूकाम सिलगढीमा जिल्लाका नौं वटै स्थानीय समितिका पदाधिकारीहरूको संयुक्त बैठकले एक साझा धारणा सार्वजनिक गर्दै जिल्लामा एक्लै जित्न सकिने भन्दै गठबन्धनको भारी नलाद्न दबाव सिर्जना गरेका हुन्।

प्रतिनिधिसभाको एक सीट रहेको डोटीमा सत्तारूढ गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का पूर्वमन्त्री प्रेम आलेलाई उम्मेदवार बनाउने चर्चा छ। यस्तै दुई प्रदेशसभा सीटमा पनि काँग्रेसलाई एउटामात्रै दिने चर्चा छ। यहीकारण काँग्रेसका स्थानीय समितिले दबावस्वरुप एक निर्णय गरी केन्द्रीय समितिलाई पठाएका छन्।

जसमा स्थानीय तह निर्वाचनमा केन्द्रको निर्णयको अवज्ञा गरी एक्लै लड्दा नौं पालिकामध्ये ७ मा बहुमतसहित जीत र एकमा उपाध्यक्ष जितेको कारण देखाउँदै डोटीको परिवेश हेरेर गठबन्धन नलाद्न आग्रह गरिएको छ। यत्ती हुँदाहुँदै गठबन्धन लादिए आफूहरू चुनाव प्रचारप्रसारमा नजाने र मतदानमा पनि सहभागी नहुने चेतावनी दिइएको छ।

स्थानीय तह निर्वाचनमा डोटीमा कांग्रेसले देशभरकै सर्वोत्कृष्ट नतिजा हासिल गरेको छ। यही कारण एक्लै निर्वाचन जित्न सक्ने भन्दै कांग्रेस नेताकार्यकर्ता डोटीमा गठबन्धन गर्न नहुने अडानमा छन्। जिल्ला कार्यसमितिले पनि यसअघि गठबन्धन नगर्ने निर्णय गरिसकेको छ। उता प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसका तर्फबाट प्रतिनिधिसभामा जिल्लामा बलियो दाबेदार मानिएका प्रदेश सभापति एवम् पूर्वमन्त्री वीरबहादुर बलायरलाई कैलाली–४ मा निर्वाचन लड्न आग्रह गरेका छन्।

यस्तो अवस्था देखिएपछि आक्रोशित स्थानीय समितिले दबाव सिर्जना गर्न संयुक्त बैठकको आयोजना गरेका थिए। जसमा स्थानीय तहका कार्यसमितिका सभापतिसहित पदाधिकारीको सहभागीता थियो। ‘देशभरमै पहिलो भएको र एक्लै जित्न सकिने जिल्ला अर्को पार्टीको हातमा सुम्पने कुरा हामीलाई कदापी स्वीकार्य हुन्न,’ काँग्रेस केआइसिंह गाउँपालिकाका सभापति अर्जुन बलायरले भने,‘यस्तो हुँदाहुँदै पेलेर निर्णय लादे हामी प्रचार त परै जाओस मतदान पनि गर्दैनौं।’

काँग्रेसका स्थानीय नेताकार्यकर्ताको भावना विपरीत पार्टीले निर्णय गरे त्यसको परिणाम उठ्ने उम्मेदवारले नै भोग्नुपर्ने बोगटान फुड्सिल गाउँ कार्यसमितिका सचिव नरेश बमले बताए। उनले भने,‘हामी हाम्रो बलियो जिल्ला उनीहरूलाई उपहार दिन चाहन्नौं। केन्द्रमा भागबण्डा मिलाएर लगे हामी मतदान गर्दैनौं। हारको जिम्मेवारी स्वयम्ले लिनुपर्छ।’

प्रकाशित: ११ आश्विन २०७९ १५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App