१० मंसिर २०८१ सोमबार
image/svg+xml
राजनीति

ओलीका लागि सहज बन्दै मधेस

धनुषाको सहिदनगर नगरपालिका–६ हरबारामा एमाले अध्यक्ष केपी ओली सहिद परिवारका साथ । तस्बिर: नागरिक

संसद्ले दोहोर्‍याएर पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरिदिनुमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दोषी करार गर्ने मधेसमा अभियान चलिरहेको छ। अभियानलाई पाखा लगाँउँदै केपी ओली मधेसका गाउँगाउँ पुगेर मधेस केन्द्रित दलकै नेतालाई आफ्नो पार्टीमा भिœयाउँदै गरेको दृश्यले मधेस राजनीतिलाई रोमाञ्चित बनारहेको छ।  

शनिबार हावाई मार्गबाट मधेस प्रदेशको राजनधानी जनकपुरधाम आई विमानस्थलबाट बाहिरिने क्रममा केही युवाले उनलाई कालो झण्डा देखाएका थिए। तर, उनी रेल्वे स्टेसन पुगेर रेल चढ्दा सर्वसाधारणको भिड उर्लिएको थियो। भिड देखेर उत्साहित ओली रेलको झ्यालबाट लिकको छेउछाउ उभिएकालाई हात हल्लाउँदै अगाडि बढेका थिए।

जनकपुरमा रेल चढेर मैनाधपुर स्टेसनमा ओर्लिएर अध्यक्ष ओली त्यहाँबाट गाडीमै कार्यक्रम स्थलमा पुगेका थिए। कार्यक्रम स्थलमा पुग्नुअघि अध्यक्ष ओलीले जेल जीवनमा सँगै बसेका धनुषा सहिदनगर नगरपालिका–६ हरबाराका मुर्बल भनिने रामनारायण मण्डलको घरमा पुगेर चिया पनि खाएका थिए। मुर्बलको निधन भइसकेको छ।

मुर्बलका छोरा अपराजित मण्डल स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको टिकटमा सो वडाका वडाध्यक्षमा चुनाव लडेर पराजित भएका हुन्। अध्यक्ष ओलीले मण्डललाई फूलमाला लगाई पार्टीमा प्रवेश गराएका थिए।

ओलीको यो पहिलो मधेस यात्रा भने होइन। तर ओलीका लागि उत्साहजनक यात्रा भने ०७२ पछिको पहिलो हो। ०७२ को संविधान जारी भएपछि मधेसमा बलिदानीपूर्ण आन्दोलन चलिरहेको थियो। मधेस आन्दोलित रहेको बेला फागुन २३ गते सप्तरीको मलेठस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको एमालेको मेची–महाकाली यात्रा कार्यक्रमको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले चलाएको गोली लागी मलेठका पाँचजना सर्वसाधारणले ज्यान गुमाएपछि आन्दोलनले उग्र रूप लिएको थियो। एमालेले यस घटनापछि मेची–महाकाली यात्रा केही दिनका लागि स्थगित गरेको थियो। ०७२ असोज १४ मा हुलाकी राजमार्गभरि बाँधिएको मानवसाङ्लोलाई ओलीले ‘माखेसाङ्लो’ भनी कटाक्ष गरेका थिए। मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मीको गोलीबाट आन्दोलनकारी मारिँदा ‘बोटबाट २–३ वटा आँप झर्दैमा केही हुन्न’ भन्ने ओलीको भनाइले मधेसको मनमा गहिरो घाउ बनायो। त्यसपछि एमाले र खासगरी ओलीसित मधेस झन् बिच्कियो। त्यसयता ओली भित्री मधेस छिर्न सकेका थिएनन्।  

०७५ वैशाख २८ गते रामायण सर्किटको उद्घाटन गर्न जनकपुरधाम आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकी मन्दिरमा स्वागत गरेर ओली सिधै काठमाडौं फर्किएका थिए।

०७५ भदौ २ गते ओलीको पुनः आगमन भयो, नेपालको प्रधानमन्त्रीको हैसियतमा र यो आगमन भने मधेसी दल नेतृत्वको सरकारले प्रदेशसभाको बैठकमा विशेष सम्बोधनका लागि निम्तो गरेको थियो। प्रदेशसभा बैठकको सम्बोधनलाई भरपूर उपयोग गर्दै उनले बिच्किएको मधेससँग सम्बन्ध गाँस्न पूरापूर प्रयास गरे। १ घन्टा ३८ मिनेटको त्यो मन्तव्यमा ओलीले मधेसमा हिँड्न बाटो सुल्झाएर फर्के।

अहिले अवस्था झन् सहज छ। न आन्दोलनको रापताप छ न त मधेसी दलबीच मिलाप । मधेसी दल आपसमा भिडेर चिराचिरा परेका छन्। जसपा र लोसपामा अन्तरविरोध व्याप्त छ। ओली यसैलाई ‘क्यास’ गर्न ‘मिसन मधेस’ सुरु गरेका छन्।  

अहिले मधेसमा ओलीलाई स्वागत गर्न मधेसी दलकै नेताहरू तछारमछार गरिरहेका छन्। एमाले प्रवेश गर्ने लिष्टमा मधेसी दलकै नेताहरू बढी देखिन्छन्। स्थानीय तह निर्वाचन ०७९ को मत परिणामले पनि मधेसमा एमालेको सिट बढेको देखाउँछ। र एमाले प्रवेश गरेकाहरूको विवरणले अहिले मधेसमा एमालेप्रति एक हिसाबको आकर्षण बढेको पाइन्छ। त्यसैले ओली अहिले हौसिएर मधेस दौडाहा गरिरहेका छन्।

एमाले अध्यक्ष ओली १० दिनको अन्तरालमा तीनपटक मधेस प्रदेशको दौडाहा गरिसकेका छन्। तीनैपटक यहाँका १० जना प्रभावशाली नेताहरूलाई एमालेमा प्रवेश गराएर फर्केका छन्। जसमध्ये पाँचजना त सांसद मात्रै छन्। ओलीले मधेस प्रदेशबाट प्रतिनिधिसभाका दुई र प्रदेशसभाका तीन सांसद एमालेमा भिœयाएका छन्।  

भदौ २७ गते नेपाल समाजवादी पार्टी (नेसपा)की प्रतिनिधिसभा सदस्य रुही नाजलाई एमालेमा प्रवेश गराएका थिए। सर्लाहीकी रुही नाज जनता समाजवादी पार्टी (जसपा) छोडेर डा. बाबुराम भट्टराई नेतृत्वको नेसपातर्फ लागेकी थिइन्।

शनिबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रतिनिधिसभा सदस्य उमाशंकर अरगरिया शनिबार एमालेमा प्रवेश गरे। ०७४ सालको निर्वाचनमा अरगरिया तत्कालीन संघीय समाजवादी फोरमबाट धनुषा निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए। पछि जसपाको संसदीय दलका सचेतक बने। जसपा विभाजनका बेला उनले महन्थ ठाकुर नेतृत्वको लोसपा रोजे।  

आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोही क्षेत्रबाट लोसपामा अरगरियाको एकल नाम सिफारिस गरिएको थियो। उनी ओली नेतृत्वको सरकारमा लोसपाबाट मन्त्री थिए।  

असोज १ गते ओलीले जसपाकी प्रदेश सांसद डा. रिना यादवलाई एमालेमा भित्र्याए। तत्कालीन राजपाबाट समानुपातिकतर्फ प्रदेश सांसद बनेकी उनले दल विभाजपछि उपेन्द्र यादव नेतृत्वको जसपा रोजेकी थिइन्। उनी जसपा केन्द्रीय सदस्यसमेत थिइन्। भदौ १ गते जसपाको कोटाबाट उनी प्रदेशसभाको विकास समितिको सभापतिमा चयन भएकी थिइन्।  

भदौ २७ गते जसपाकै अर्का सांसद अञ्जुकुमारी यादव एमालेमा प्रवेश गरिन्। उनी तत्कालीन राजपाबाट निर्वाचित सांसद हुन्। जसपाबाट अलग्गिएर लोसपा गठन गरिँदा उनले जसपा नै रोजिन्। तर, पार्टीको गतिविधिभन्दा अलग थिइन्।  

मधेसका अर्का सांसद प्रल्हाद गिरी पनि एमालेमा प्रवेश गरिसकेका छन्। गिरी तत्कालीन राजपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। उनी पर्सा निर्वाचन क्षेत्र नम्बर–३ ‘ख’बाट विजयी भएका हुन्। दल विभाजन हुँदा उनले लोसपा रोजेका थिए।

जसपाका केन्द्रीय सदस्य रामउदित राम, शम्भु साह र नेपाली कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव पनि निर्वाचनको मुखमै एमालेमा प्रवेश गरेका छन्। आफ्नो पार्टीका नेतालाई तटस्थ राखेर बाँकी पार्टीका नेतालाई आफ्नो पार्टीमा तान्ने नीतिमा ओलीको मधेस दौडाहा आक्रमक ढंगले अगाडि बढिरहेको देखेर सबभन्दा बढ्ता मधेसी दलमा हलचल पैदा भएको देखिन्छ।

प्रकाशित: १० आश्विन २०७९ ०१:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App