१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मधेसमा दल अदलबदल तीव्र

फाइल तस्बिर

चुनावको मिति नजिकिँदै जाँदा दल अदलबदलको क्रम तीव्र भएको छ। खासगरी तराई मधेसमा एउटा दल छाडेर अर्को दलमा प्रवेश गर्ने क्रम तीव्र देखिएको हो। शनिबार जनपकुरमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अगरैया नेकपा (एमाले)मा प्रवेश गरेका छन्। उनलाई एमालेमा प्रवेश गराउन एमाले अध्यक्ष केपी शर्मा ओली आफैं जनकपुर पुगेका थिए। लोसपापहिले उनी जनता समाजवादी पार्टी (जसपा)मा आवद्ध थिए। सुरुमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गरेका उनी २०६४ मा भएको मधेस आन्दोलनपछि तत्कालिन मधेसी जनअधिकार फोरममा प्रवेश गरे। त्यसपछि उनी विजय गच्छेदारसँगै लोकतान्त्रिक फोरममा प्रवेश गरे। लोकतान्त्रिक फोरमपछि उनी उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी पार्टीमा प्रवेश गरे।

२०७४ को निर्वाचनमा उनले धनुषा २बाट तत्कालिन समाजवादी पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए। त्यसकारण उनी उपेन्द्र यादवसँग नजिक थिए। तर जसपा विभाजन हुने बेला उनले उपेन्द्र यादवलाई साथ नदिई महन्थ ठाकुरलाई सहयोग गरेका थिए। ठाकुरलाई सहयोग गरेबापत उन लोसपाको संसदीय दलको प्रमुख सचेतकमा मनोनित भएका थिए। तर उनले भने आफू अहिलेसम्म दुईपटक मात्र पार्टी परिवर्तन गरेको दाबी गर्छन्। ‘सुरुमा म मधेस केन्द्रित दलमा थिए। अहिले एमालेमा प्रवेश गरेको हुँ। त्यसकारण मैले दुईवटा पार्टी मात्र प्रवेश गरे’उनले भने। नेवि संघ पार्टी नभएकाले नेवि संघलाई पार्टीको रूपमा जोड्न नहुने उनको भनाइ छ।  

जनता समाजवादी पार्टी (जसपा)की सांसदद्वय अमृता अग्रहरि र रुही नाथ पनि एमाले पनि प्रवेश गरेका छन्। जसपामा उपेन्द्र यादव र डा. बाबुराम भट्टराईबीच विवाद हुँदा अग्रहरिले भट्टराईलाई खुलेर साथ दिएकी थिइन्। नयाँ पार्टी खोल्न अग्रहरिले भट्टराईलाई उक्साएकी थिइन्। तर भट्टराईले बोलाएको निर्णायक बैठकमा भने अग्रहरी अनुपस्थित भइन्। त्यसपछि उनी यादव र भट्टराई दुवैतिर लागिनन्। केही समय उनी निस्क्रिय झैं बसिन् तर केही दिनअघि मात्र उनी एमालेमा प्रवेश गरेकी छन्।  

यसैगरी, जसपाका उपाध्यक्ष हेमराज राइ पनि एमालेमा प्रवेश गरेका छन्। बाबुराम भट्टराईले खोलेको नेपाल समाजवादी पार्टीका उपाध्यक्ष दानबहादुर चौधरी केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका छन्। तर नेसपाका अर्का नेता नरसिंह चौधरी भने सिके राउतले नेतृत्व गरेको जनमत पार्टीमा प्रवेश गरेका छन्। मधेसमा भइरहेको दल अदलबदलको शृंखलाले मधेस केन्द्रित दुई दल जसपा र लोसपालाई नै नाक्सान पु¥याएको छ। लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाले अवसरकोलागि केही व्यक्तिहरूले दल अदलबदल गरिरहेको बताए। ‘सिद्धान्तका लागि भन्दा पनि आफ्नो व्यक्तिगत अवसरका लागि उहाँहरूले दल अदलबदल गरिरहनुभएको छ,’ झाले भने, ‘केही व्यक्तिहरूको दल अदलबदलले पार्टीलाई खासै नोक्सानी पुग्दैन।’

नागरिकता विधेयक नागरिकता विधेयक प्रमाणिक नगरेको विरोधमा जसपा र लोसपाले आन्दोलतको घोषणा गरेको बेला जसपा र लोसपाबाटै केही व्यक्तिहरू एमालेमा प्रवेश गरेका छन्।

प्रकाशित: ९ आश्विन २०७९ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App