७ वैशाख २०८१ शुक्रबार
राजनीति

रौतहटमा गठबन्धनको टिकटका लागि हानथाप

रौतहटको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा प्रदेश सभाको उम्मेदवार हुन टिकटको लागि हानथाप भइरहेको छ।

पाँच दलीय गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार शीर्ष नेताहरुमध्येबाट नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल हुने व्यापक चर्चा भइरहँदा प्रदेश सभाको उम्मेदवार हुन हानथाप बढेको हो।

नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा गरी पाँच दलको केन्द्रमा गठबन्धन रहे पनि रौतहटको क्षेत्र नम्बर १ मा राष्ट्रिय जनमोर्चा खासै सक्रिय देखिएको छैन।

गत संसदीय निर्वाचनमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद अनिलकुमार झा लोसपामा रहेकाले गठबन्धनबाट शीर्ष नेता माधवकुमार नेपाललाई सबै दलले सघाउने स्थिति बनिसकेको छ। यस क्षेत्रको प्रदेश सभा कबाट बाबुलाल साह निर्वाचित भएकामा साह पनि लोसपा नै रहेका छन् भने खबाट जसपाका योगेन्द्र राय यादव निर्वाचित भएका थिए। यादव मधेस प्रदेश सरकारमा राज्यमन्त्री रहेका छन्।

निर्वाचित प्रदेश सांसद भएकाले आफूले टिकट पाउनुपर्ने आशयले राज्यमन्त्री यादव गठबन्धनका शीर्ष नेता माधवकुमार नेपालसँग बारम्बार भेट गरिरहेका छन्। शनिबार पनि माधव नारायण नगरपालिकामा आयोजित शिलान्यास कार्यक्रमपछि राज्यमन्त्री यादवले प्रहरी चौकी कार्यालय माधोपुरमा शीर्ष नेता नेपाललाई भेट गरेका छन्।

राज्यमन्त्री यादवले गमछा ओढाएर स्वागत सम्मान पनि गरेका छन्। मधेस प्रदेशको मुख्यमन्त्री बन्ने चाहना राखेका नेपाली काँग्रेसका प्रदेश सभापति कृष्णप्रसाद यादव शनिबार माधव नारायण र गढीमाई नगरपालिकाको दुई अलग अलग स्थानमा आयोजित शिलान्यास कार्यक्रममा मञ्च शेयर गरेका छन्। गठबन्धनको तर्फबाट प्रदेश सभापति यादवले पनि उम्मेवार बन्न चाहेको शीर्ष नेता नेपालसमक्ष राखिसकेको बुझिएको छ।

गत निर्वाचनमा नेपाली काँग्रेसबाट प्रदेश सभाको लागि 'ख'बाट उम्मेदवार बनेका नागेन्द्र साहले पनि आफूलाई टिकट दिन शीर्ष नेता माधव नेपाललाई आग्रह गरेको बुझिएको छ। शनिबार नै साहले नेता नेपाललाई रौतहट क्षेत्र नम्बर १ को प्रदेश सभा क र ख दुवैमा नेपाली काँग्रेसलाई टिकट दिए जसरी पनि सबै सिट जित्ने निश्चित रहेको नेता नेपालसमक्ष प्रस्ताव राखेको विशेष स्रोतको दाबी छ।

गठबन्धनका तर्फबाट अन्य दलका आकांक्षीहरु पनि शीर्ष नेता नेपालसमक्ष प्रस्ताव राखिरहेको बुझिएको छ। रौतहट १ को 'ख'मा दुई नगरपालिकामा पूर्ण बहुमतका साथ नेकपा एस नै विजयी भएकोले नेकपा एसकै उम्मेदवार हुनुपर्ने माग पार्टीभित्र पनि रहेको छ।

टिकटका लागि आफूले निर्णय गर्ने नभइ गठबन्धनले गर्ने र जुन पार्टीको भागमा प्रतिनिधि सभा तथा प्रदेश सभाको भाग पर्छ, सोही पार्टीले टिकटको निर्णय गर्नु उचित हुने आफूले बताउने गरेको नेता नेपालले जानकारी गराएका छन्।

प्रकाशित: ८ आश्विन २०७९ १२:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App