१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लोसपाका एक सांसद भित्र्याउन भोलि धनुषा आउँदै ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली धनुषा आउने भएका छन्। भोली (शनिबार) धनुषाको विदेह नगरपालिका तिनकौरिया बजारस्थित जिल्ला कमिटी धनुषाले आयोजना गर्न लागेको आमसभा र पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली धनुषा आउन लागेको एमाले जिल्ला अध्यक्ष राजकिशोर यादवले जानकारी दिए।

भोलि बिहान ११ बजे जनकपुर एयरपोर्टमा आइपुगेपछि त्यहाबाट कार्यक्रम स्थलतर्फ जाने र १२ बजेदेखि कार्यक्रम सुरु हुने अध्यक्ष यादवले बताए। विदेह नगरपालिकास्थित निनकौरिया बजारमा विशाल आमसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको यादवले बताए। 'अन्य दल त्याग गरी एमालेमा प्रवेश गर्ने तयारीमा रहेका नेता कार्याकर्तालाई स्वागत गर्न ओली  धनुषा आउन लाग्नु भएको हो', उनले भने।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रमुख सचेत तथा धनुषा निर्वाचन क्षेत्र दुईका संघीय सासंद उमाशकर अरगरिया लोसपा परित्याग गरी एमालेमा प्रवेश गर्न लागेको यादवले जानकारी दिए। यसअघिनै अरगरिया आफैं लोसपा त्याग गरी असोज ८ गते एमालेमा प्रवेश गर्न लागेको बताइसकेका छन्।

२०७४ सालको आम निर्वाचनको केही महिना अगावै विजय गच्छदार आफैं नेतृत्व गरिरहेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक छाडेर नेपाली काँग्रेसमा प्रवेश गरेपछि अरगरिया चुनावको एक महिना अघिमात्रै उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका थिए। अरगरिया धनुषा निर्वाचन क्षेत्र दुईमा फोरमाबाट उम्मेदवारी दिएर आफ्नो प्रतिद्वन्द्वी भन्दा झण्डै दोब्बर ३२ हजार मत ल्याएर निर्वाचित भएका थिए।

२०७४ सालको निर्वाचनपछि तत्कालीन ओली नेतृत्वको सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशका कारण उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल र महन्थ ठाकुर नेतृत्वको राष्ट्रिय जनता पार्टी रातारात एकीकरण गरी जनता समाजवादी पार्टी बनाइएको थियो। तर आन्तरिक विवादका कारण त्यो पार्टी एकीकरण धेरै दिन टिक्न सकेनन्।

अन्ततः महन्थ ठाकुर उपेन्द्र यादवसँग अलग भइ लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे। अरगरिया पनि आफू निर्वाचित भएको यादवको नेतृत्वको दलबाट अलग भइ ठाकुर नेतृत्वको दल लोसपामा रोजेका थिए।

मधेस दौडाहामा ओली

२०७४ सालको आम निर्वाचनमा मधेस प्रदेशमा २ सिट मात्रै जितेका नेकपा एमाले अगामी निर्वाचनको मत परिणाम आफ्नो पक्षमा पार्न एमाले अध्यक्ष ओली मधेस दौडहामा लागेका छन्।

२०७४ सालको निर्वाचनमा एमालेले मधेस प्रदेशमा रहेको ३२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये दुई वटा क्षेत्रमा मात्र जित्न सफल भएको थियो। प्रतिनिधिसभा निर्वाचन क्षेत्र सिरहा–३ बाट लिलानाथ श्रेष्ठ र धनुषा–४ बाट रघुविर महासेठले चुनाव जितेका थिए।

अगामी मंसिर ४ मा हुने निर्वाचनमा मधेस प्रदेशमा अधिक सिटमा एमालेका उम्मेदवारलाई जिताउन ओली आफैं मधेस दौडाहामा सकृय भएका छन्। उनी मधेस प्रदेशको विभिन्न जिल्लमा आमसभालाई सम्बोधन गर्न र अन्य पार्टीका नेताकार्याकर्तालाई एमालेमा भित्र्याउन जिल्ला जिल्लामा आफैं पुग्ने गरेका छन्।

भदौ २७ गते जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य रुही नाज र (जसपा) कै प्रदेशसभा सदस्य अन्जुकुमारी यादवलाई एमालेमा प्रवेश गराउन ओली जनकपुर आएका थिए। त्यस्तै नेपाली काँग्रेसका धनुषा जिल्ला पूर्वउपसभापति सन्तोष यादव, जसपाका केन्द्रीय सदस्य रामउदिन राम, शम्भु साह र पूर्वराज्यमन्त्री अरबिन्द साहलाई प्रवेश गराएका थिए।

भदौ ३१ गते सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित श्री जनता नमूना माध्यमिक विद्यालयको पठनपाठन बन्द गराएर जिल्ला कमिटी सिरहाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली हेलिकप्टरबाट सिरहा पुगेका थिए। त्यहाँ माओवादी र जसपाका असन्तुष्ट नेतालाई प्रवेश गराउन ओली चोहर्वा पुगेका थिए।

सोही कार्यक्रममा पुगेर ओलीले लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता रामबल्लभ साहसहितका नेता कार्याकर्तालाई एमालेमा प्रवेश गराए। तर अन्तिम समयमा माओवादीबाट प्रवेश गर्ने तयारीमा रहेका असन्तुष्ट नेता कार्याकर्ता भने आएनन्। जसपाले लक्ष्मीपुर गाउँपालिकामा अध्यक्षको टिकट केदार नाथ यादवलाई दिएपछि रामबल्लभ (जसपा) बाट असन्तुष्ट भएर एमालेमा प्रवेश गरेका हुन्।

त्यस्तै भदौ २३ गते ओली रौतहटको सदरमुकाम गौर पुगे। एमाले गौरले आयोजना गरेको वृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी भइ आलीले (लोसपा) नेपालका महासचिव तथा गौर नगरपालिकाका निवर्तमान मेयर अजय गुप्ता, काँग्रेसका जिल्ला सचिव राजेश चौधरी र लोसपा नेता तथा संविधानसभाको सदस्य समेत भइसकेका चन्दन साहलाई एमालेमा प्रवेश गराएका थिए।  

प्रकाशित: ७ आश्विन २०७९ ११:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App