१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एनआरबी सर्वेक्षण : नागरिक वर्ष नायक

काठमाडौं- भूकम्प, संविधान निर्माण र नाकाबन्दीको कहर – वर्ष २०७२ का प्रमुख घटनावली यिनै तीन भए पनि बितेका ३६५ दिनले राष्ट्रिय जीवनका विभिन्न आयाममा अनेक आरोह–अवरोह बेहोरे। वर्षको सुरुमै (वैशाख १२) गएको शक्तिशाली भूकम्प र त्यसका कैयौं अनुकम्पनको पेरिफेरिमा देशले संविधानसभामार्फत जनता आफैंले आफ्नो संविधान बनाउने ७० वर्षदेखिको सपना पूरा मात्र गरेन, राजनीति, समाज र अर्थतन्त्रमा यहीबीच थुप्रै उल्लेख्य संकट र सफलताका घटना व्यतीत गरे।यस वर्ष विभिन्न क्षेत्रमा देशका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नेहरू को–को हुन् त? कसले कुन क्षेत्रको नेतृत्व गर्यो्? अर्थात् वर्ष ०७२ का 'नागरिक नायक' को–को हुन्?

नेपाल रिसर्च ब्युरो (एनआरबी) ले नेपाल रिपब्लिक मिडियाका लागि मुलुकभर गरेको ताजा सर्वेक्षणले यही वर्ष संविधान जारी हुनुको प्रमुख श्रेय तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति दिवंगत नेता सुशील कोइरालालाई दिएको छ।

यो वर्षभरि मुलुकको राजनीति एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको कब्जामा रहेको सर्वेक्षण नतिजाले देखाएको छ। उद्यम–व्यापारमा भने विनोद चौधरी अग्रस्थानमा देखिएका छन्। सामाजिक आन्दोलनको नेतृत्व डा. गोविन्द केसी लिएको देखिन्छ भने क्रिकेटर पारस खड्का खेल क्षेत्रका नायक ठहरिएका छन्।

युवा विद्यार्थी, विश्वविद्यालयका प्राध्यापक, बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारी र नागरिक समाजका अगुवासहित एक हजार ३४ जनामाथि गरिएको यस सर्वेक्षणमा भाग लिनेहरूले संविधान निर्माणमा भूमिका खेल्ने नायकका रुपमा सबैभन्दा बढी सुशील कोइरालाको नाम लिए।

संविधान निर्माणका क्रममा संविधानसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका सभापति तथा मुलुकको प्रधानमन्त्री हैसियतमा कोइरालाले खेलेको भूमिकालाई सर्वेक्षणमा सहभागी अधिकांश युवाले अत्यधिक नम्बर दिँदै नेतृत्यदायी भूमिकाको स्थान दिएका हुन्। दोस्रो संविधानसभाले २०७२ असोज ३ गते नेपालको संविधान जारी गरेको हो।

'संविधान जारी गर्न महत्वपूर्ण भूमिका खेल्ने पाँच जना को–को हुन्?' भन्ने प्रश्नमा सर्वेक्षणमा सहभागी १ एजार ३४ जना मध्ये ९ सय ४० जना अर्थात् ९० प्रतिशतले सुशील कोइरालाको नाम लिएका छन्। संविधान जारी हुनुमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको भूमिकालाई नाागरिकले दोस्रो स्थानमा राखेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई तेस्रो। संविधानसभाअन्तर्गतको राजनीतिक संवाद समितिका सभापति डा. बाबुराम भट्टराईलाई चौथौ स्थानमा तथा संविधानसभाका तत्कालीन अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पाँचौं।

दाहाललाई ८२ प्रतिशतले रोजेका छन् भने ओलीको भूमिकाको मूल्यांकन गर्नेहरू ७९ प्रतिशत छन्। त्यस्तै, भट्टराईलाई ४१ प्रतिशत र नेम्वाङलाई ३१ प्रतिशतले संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको भनेका छन्।

सर्वेक्षणमा भाग लिनेहरूले कोइरालालाई सबैभन्दा बढी ९४० अंक दिएका थिए। आफूखुसी चुनेका ४० भन्न्दा बढी नामको लामो सूचीमा सबैभन्दा बढी अंक पाउनेको नाम पनि छ।

संविधान जारी गर्ने महत्वपूर्ण भूमिका खेल्ने १० जनाको सूची तयार गर्दा छैठौं नम्बरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, सातौं तत्कालीन राष्ट्रपति डा. रामवरण यादव, आठौं कांग्रेसका तत्कालीन वरिष्ठ नेता शेरबहादुर देउवा, नवौं मधेसी जनाधिकार फोरम अध्यक्ष विजयकुमार गच्छदार र दसौं नम्बरमा राप्रपा नेपालका अध्यक्ष कमल थापा छन्।

राजनीतिमा ओलीको बोलवाला

२०७२ सालको राजनीतिमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलवाला रहेको सर्वेक्षणले देखाएको छ। ।

'२०७२ सालको राजनीतिमा प्रभावकारी भूमिका निर्वाह गर्ने पाँच जना को–को हुन्?' भन्ने प्रश्न सोधिएकामा ओली पहिलो नम्बरमा आएका छन् भने दोस्रो स्थानमा कांग्रेस दिवंगत सभापति सुशील कोइराला र तेस्रोमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल छन्। बाबुराम भट्टराई संविधान जारी गर्नेमा जस्तै राजनीतिक भूमिकामा चौथौ नम्बरमा परेका छन्।

राजनीतिक भूमिकामा कांग्रेस सभापति शेरबहादुर देउवाको नाम पाँचौं स्थानमा छ। सर्वेक्षणमा भाग लिने १ हजार ३४ जना मध्ये ओलीलाई रोज्ने ७ सय १८ जना अर्थात् ६९ प्रतिशत छन् भने कोइरालालालाई ६७ प्रतिशत, दाहाललाई ६५, बाबुरामलाई ३९ र देउवालाई २७ प्रतिशतले रोजे। संविधान जारी गर्नेभन्दा राजनीतिक भूमिका खेल्नेको सूची लामो छ। मधेस आन्दोलनका सबैजसो नेताको नाम सर्वेक्षणमा सहभागी औंल्याएको पाइन्छ।

सर्वेक्षणमा भाग लिनेले राजनीतिमा प्रमुख भूमिका खेल्नेहरू ५० बढी रहेको औंल्याएका छन्। लामो सूचीमा १४ जनाले मात्र नाम लिएका नेतादेखि सबैभन्दा धेरै ७ सय १८ जनाले रोजेका ओलीसम्म छन्। प्रमुख १० जनाको सूचीमा छैठौं नम्बरमा राप्रपा अध्यक्ष कमल परेका छन् भने पूर्वराष्ट्रपति रामवरण यादव सातौं, आठौं स्थानमा एमाले नेता माधवकुमार नेपाल, नवौंमा सुवास नेम्वाङ तथा दसौं स्थानमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव छन्।

संविधान जारी गर्ने राजनीतिमा छैठौं स्थानमा रहेका नेपाल मुलुकको राजनीतिमा भने १० स्थानमा ओर्लिएका छन्। उता, संविधान जारी गर्नेमा दसौं स्थानमा रहेका थापा राजनीतिक भूमिकामा भने छैठौ स्थानमा उकालिए। त्यस्तै, संविधान जारी गर्नेमा आठौं स्थानको भूमिका खेलेका देउवा राजनीतिक माहोलमा भने पाँचौं स्थानमा उक्लिएको देखिन्छ। यसबीच देउवा कांग्रेस सभापति र संसदीय दलको नेता निर्वाचित भइसकेका छन्।

उद्यम–व्यवसायमा विनोद

'२०७२ सालमा महत्वपूर्ण भूमिका खेल्ने पाँच उद्यमी–व्यापारी को–को हुन्?' भनेर सोधिएको प्रश्नमा धेरैको रोजाइमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी परे। सर्वेक्षणमा भाग लिनेमध्ये ८ सय ४९ जना अर्थात् ८२ प्रतिशतले चौधरीलाई पहिलो नम्बरमा राखे। दोस्रो स्थानमा उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुररका रहे भने तेस्रोमा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले, चौथोमा उद्योग वाणिज्य महासंघ वरिष्ठ उपाध्यक्ष भवानी राणा र सार्क चेम्बर अफ कमर्सका अध्यक्ष सुरज वैद्य पाँचौं स्थानमा परे।

मुररकालाई ३८ प्रतिशत, घलेलाई २३, राणा र वैद्यलाई १९ प्रतिशतले महत्वपूर्ण भूमिका खेल्ने उद्यमी–व्यापारी भने। पाँच जना महत्वपूर्ण भूमिका खेल्नेको नाम सोधिए पनि सर्वेक्षणमा भाग लिनेले उल्लेख गरेका ५० जनाको सूचीमा जम्मा ५ नम्बर पाउने उद्यमीदेखि ८ सय ४९ जनाले रोजेका चौधरीसम्म छन्। १० जना प्रमुख भूमिका खेल्ने उद्यमी व्यापारीमा खेतान ग्रुपका अध्यक्ष राजेन्द्र खेतान छैठौं, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो सातौं, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी आठौं स्थानमा, उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं गोल्छा अर्गनाइजेसनका निर्देशक शेखर गोल्छा नवौं तथा सञ्चार उद्यमी भास्करराज राजकर्णिकार १० औं स्थानमा छन्।

सामाजिक अभियानका नेता डाक्टर

२०७२ मा चलेका सामाजिक अभियान नेतृत्व गर्ने पाँच जना महत्वपूर्ण व्यक्तित्व को–को हुन् भन्ने प्रश्नमा अधिकांशले मेडिकल शिक्षामा शुद्धीकरण र मेडिकल माफियाकरणविरुद्ध अनशन र अभियान चलाउँदै आएका डा. गोविन्द केसीलाई रोजेका छन्। केसीलाई ३ सय १५ जना अर्थात् ३० प्रतिशतले महत्वपूर्ण भूमिका खेलेको भनेका छन्। दोस्रो स्थानमा लामो समयदेखि चेलिबेटी बेचविखनविरुद्ध अभियान र कार्यक्रम चलाउँदै आएकी समाजसेवी अनुराधा कोइरालाको नाम लिएका छन्। हास्य कलाकारदम्पती सीताराम कट्टेल 'धुर्मुस' र कुन्जना घिमिरे 'सुन्तली' ले क्रमशः तेस्रो र चौथो स्थान पाएका छन्।

भूकम्पपीडित पुनर्स्थापनामा योगदान गरेर कहलिएको यो जोडी कलाकारिताका साथसाथै सामाजिक क्षेत्रमा २०७२ मा चर्चामा आएको हो। सर्वेक्षणमा भाग लिनेमध्ये १९ प्रतिशतले महत्वपूर्ण भूमिका खेलेको भन्दै यो जोडीलाई चयन गरे।

सामाजिक अभियानमा भूमिका खेल्ने पाँचौं स्थानमा अनाथ बालबालिकाको आरक्षण गरेर समाजसेवीको भूमिका निर्वाह गर्दै आएकी सिएनएन हिरो पुष्पा बस्नेत छिन्।

सर्वेक्षणमा भाग लिएका मध्ये एकतिहाइले मात्र '२०७२ मा चलेका सामाजिक आन्दोलन वा अभियानका पाँच जना महत्वपूर्ण व्यक्तित्व को–को हुन् भन्ने प्रश्नको उत्तर दिन चाहे। सवर्ेेक्षणमा भाग लिनेले सामाजिक अभियानमा ५० जना बढीको महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। मधेस आन्दोलनका अगुवा सबैजसो नेता, मधेसी अधिकारवादी क्षेत्रमा कार्यरत चर्चित अनुहारका साथसाथै मधेस अधिकारबारे बेग्लै खाले अभियान चलाइरहेका सिके राउत लगायत व्यक्तिले सामाजिक क्षेत्रमा भूमिका खेलेको भन्दै उनीहरूको समेत नाम उल्लेख गरिएको छ। ५० जना भन्दा बढीको लिस्टमा छ जनाले मात्र सामाजिक अभियानमा महत्वपूर्ण योगदान गरेको भन्दै नाम उल्ल्ोख गरेकादेखि सबैभन्दा बढी डा. केसीलाई रोज्ने ३ सय १५ जनासम्म छन्।

सामाजिक आन्दोलन वा अभियानका १० जना छनोट गर्दा छैठांै नम्बरमा बागमती सफाइ अभियानका अगुवा पूर्व मुख्यसचिव लीलामणि पौडेल, सातौं र आठांैमा हास्य कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ छन्। त्यस्तै, मानवअधिकारवादी कृष्ण पहाडीले नवौं र नेपाल सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतो दसौं स्थानमा छन्।

पारसलाई सात सेन्चुरी

आइसिसी क्रिकेट च्याम्पियनसिप लिगमा नेपालविरुद्ध नामिबियाको खेलमा सेन्चुरी हानेर चर्चा कमाइरहेका नेपाल क्रिकेटका कप्तान पारस खड्काले सर्वेक्षणमा सात सेन्चुरी बराबरको अंक पाएर पहिलो भएका छन्। सर्वेक्षणमा भाग लिएका हजार ३४ मध्ये पारसलाई रोज्नेहरू ७ सय ५ अर्थात् ६८ प्रतिशत छन्। '२०७२ सालमा खेलकुद क्षेत्रमा उल्ल्ोखनीय रुपमा नाम कमाउने खेलाडी पाँच जना को–को हुन्?' भन्ने प्रश्नमा दोस्रो नम्बरमा फुटबलका चर्चित खेलाडी नवयुग श्रेष्ठ र तेस्रो नम्बरमा उदीयमान फुटबलर बिमल घर्तीमगर छन्। चौथो स्थानमा नेपाली क्रिकेटका सशक्त खम्बा सोमपाल कामी छन्। पाँचौं स्थानमा साउथ एसियन गेममा जुडोमा स्वर्णविजेता फूपूल्हामु उदाएकी छन्। नवयुगलाई ६१ प्रतिशत, विमललाई ५९ प्रतिशतले महत्वपूर्ण खेलाडीको संज्ञा दिएका छन् भने सोमपाल र फूपूलाई क्रमश १८ र १६ प्रतिशतले रोजेका छन्।

पाँच जना महत्वपूर्ण खेलाडी छनोट गर्नेे भनिए पनि ५२ जनाको लामो सूचीमा सबैभन्दा कम अंक ९ ल्याउनेदेखि हाइ स्कोरर खड्कासम्म छन्। लामो सूचीबाट कहलिएका १० जना खेलाडीको नाममा छैठौं नम्बरमा उसुकी उदीयमान खेलाडी निमा घर्तीमगर, सातौं र आठौंमा क्रिकेटर सन्दीप लामिछाने तथा अञ्जन बिस्ट छन्। पौडीकी खेलाडी गौरिका सिंह नवौं स्थान तथा क्रिकेटर शक्ति गौचन दसौं स्थानमा छन्।

सर्वेक्षणका सीमितता

सर्वेक्षणमा भाग लिने अधिकांश युवा विद्यार्थी रहेका भए पनि उनीहरूमा मुलुकको राजनीति, आर्थिक र सामाजिक अभियानबारे अपेक्षा गरेजस्तो जानकारी रहेको देखिएन। त्यसबाहेक पाँच जना भन्दा कमको नाम लेख्न पाइने व्यवस्थाका कारण कतिपयले पूरा उत्तर दिएका छैनन्। सर्वेक्षक नागरिककर्मीका अनुसार विद्यार्थीमा विभिन्न पेसामा महत्वपूर्ण भूमिका खेल्नेबारे जानकारी र विश्लेषण गर्ने क्षमता अभाव देखियो। बितेको वर्ष योगदान पुर्यामएको आधारमा भन्दा वषर्ौंदेखि चर्चामा रहेका स्थापित नाम उनीहरूले सहजै रोजेको देखियो।

सर्वेक्षणमा आफूखुसी नाम भर्ने व्यवस्थाका कारण कतिपय नाम आफ्नो क्षेत्र र पेसासँग नजिकको मानिस, आफूले मानेका नेता, आफ्नो धारणासँग मिल्ने अभियन्ता, चिनजानका आधार र राजनीतिक, सामाजिक मुद्दामा सामीप्यजस्ता आधारमा छानेको समेत पाइएको छ। जस्तो– संविधान जारी हुनुमा भूमिका खेल्ने पाँच राजनीतिक नेतामा कतिपयले तमलोपा अध्यक्ष महन्थ ठाकुर, सदभावना अध्यक्ष राजेन्द्र महतो, समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवलगायत नामसमेत लिएको देखिन्छ, जब कि यी राजनीतिकर्मी संविधान निर्माणमा संलग्नै थिएनन्। उनीहरूले बहिष्कारको नीति अख्तियार गरेका थिए।

त्यस्तै, राजनीतिमा भूमिका खेल्नेहरूबारे धारणाामा पनि त्यस्तै आधार बनाएर जवाफ दिइएको छ। राजनीतिक प्रश्नमा धेरै जना सक्रिय सहभागी रहे पनि सामाजिक, आर्थिक क्षेत्रमा उत्तर लेख्न त्यस्तो सक्रियता पाइएन। सामाजिक अभियान वा आन्दोलनबारे धेरै कमले मात्र आफ्नो धारणा राखे। यस आधारमा सर्वेक्षणमा भाग लिनेहरू सामाजिक अभियानबारे अनभिज्ञ वा रुचिबाहिर रहेको देखिन्छ।

सर्वेक्षणमा भाग लिनेहरूले क्षेत्रीयताका आधारमा कतिपय नाम दिएको देखिन्छ। जस्तो– उद्यम व्यापार क्षेत्रमा योगदान गर्नेहरूको नाम लिँदा विराटनगरका विद्यार्थीले त्यहीमा चर्चित र स्थापित नाम लेखेका छन् भने वीरगन्जबाट सर्वेक्षणमा भाग लिनेले त्यहीँका उद्यमी, व्यापारीलाई रोजेका छन्। यस्तो प्रवृत्ति जताततै देखिन्छ। त्यस्त्ौ अवस्था सामाजिक क्षेत्रमा योगदान गर्नेहरूको मूल्यांकन क्रममा पनि देखिएको छ।

मधेस आन्दोलन : राजनीतिक कि सामाजिक?

'मधेस आन्दोलन राजनीतिक कि सामाजिक?' भन्ने जिज्ञासामा सर्वेक्षणमा भाग लिनेहरूले व्यक्त गरेका धारणाका आधारमा मधेस आन्दोलनलाई उनीहरूले दुवै अर्थमा लिएको पाइन्छ। संविधान जारी भएपछिको पाँच महिना लामो मधेस आन्दोलनले मुलुकको राजनीति प्रभावित पारेको थियो।

'राजनीतिमा भूमिका खेल्ने पाँच जना को–को हुन्' भन्ने प्रश्नको दसौं नम्बरमा संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवको नाम आएको अवस्थाले राजनीतिक रंग दिन्छ। उता मधेस आन्दोलन सामाजिक हो भन्दै उल्लेख्य संख्याका सहभागीले मधेसवादी दलका नेतालाई सामाजिक अभियन्ता भनेका छन्। सामाजिक आन्दोलन/अभियानमा महत्वपूर्ण भूमिका खेल्नेहरूमध्ये १०औं स्थानमा सदभावना अध्यक्ष राजेन्द्र महतोको आगमनले मधेस आन्दोलनको सामाजिक रुप देखाउँछ। जनकपुर र वीरगन्जबाट सहभागीमध्ये अधिकांशले मधेसकेन्द्रित दलका नेता तथा मधेस अधिकारवादीलाई सामाजिक आन्दोलन वा अभियानअन्तर्गत उल्लेख गरेको पाइन्छ। मधेस आन्दोलनलाई सामाजिक आन्दोलनको भन्दै त्यस आन्दोलनका नेतालाई सामाजिक आन्दोलनमा उल्लेख गराउने प्रवृत्ति काठमाडौमा समेत देखिन्छ।

क्षेत्रीयता, स्थानीय सामीप्यका आधारमा मुलुकको राजनीतिक सामाजिक, आर्थिक र खेलकुद क्षेत्रमा समेत योगदान गर्नेहरूको नाम उल्लेख गर्ने प्रवृत्तिले युवाहरू संघीय ढाँचाबाट प्रभावित भएको विश्लेषण गर्न सकिन्छ।

सर्वेक्षणमा संलग्न अधिकांश युवा

सर्वेक्षणमा विभिन्न विश्वविद्यालयका आंगिक तथा अनुबन्ध कलेजहरूमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीलाई केन्द्रमा राखिएको थियो। त्यसबाहेक नागरिक समाज, बैंक तथा वित्तीय संस्थाका प्रमुख, प्राध्यापन पेसामा आबद्ध सर्वेक्षणमा सहभागी थिए।

सर्वेक्षणमा भाग लिनेमध्ये ७२ प्रतिशत उच्च शिक्षा अध्ययनरत छन्। युवा बाहुल्य रहेको विद्यार्थी जमातमा २० देखि ३० वर्ष उमेर समूहका नागरिकको संख्या सर्वेक्षणमा संलग्न छ। नागरिक समाजमा विभिन्न क्षेत्र र पेसामा आबद्ध नागरिक समाजका अगुवा, वकिल, पत्रकारजस्ता पेसाकर्मीको संख्या १२ प्रतिशत छ।

बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारी, प्रमुख कार्यकारीको संख्या ८ प्रतिशत र प्राध्यापन पेसाका नागरिकको संख्या पनि ८ प्रतिशत छ। सर्वेक्षणमा भाग लिनेमध्ये ६५ प्रतिशत पुरुष र ३५ प्रतिशत महिला छन्।

सर्वेक्षणको क्षेत्र

सर्वेक्षण काठमाडौं उपत्यकामा रहेका विभिन्न कलेज जस्तै– त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, नेपाल ल कलेज, त्रिचन्द्र कलेज, शंकरदेव, नेपाल कमर्श क्याम्पस, पाटन संयुक्त कलेज, पद्मकन्या कलेज, नेपाल इन्जिनियरिङ कलेज, चिकित्साशास्त्र अध्ययन संस्थान, जनप्रशासन कलेजमा अध्ययनरत विद्यार्थी, लिटिल एन्जेल्स कलेज, काठमाडौं विश्वविद्यालयअन्तर्गत धुलिखेल र त्यसअन्तर्गतको व्यवस्थापन कलेजमा संलग्न विद्यार्थी सहभागी थिए।

यस्तै, झापा, मोरङ, धनुषा, पर्सा, चितवन, कास्की, रुपन्देही, बाँके, दाङ, सुर्खेत, धनगढीका विभिन्न कलेजमा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थी र तिनै कलेजमा प्राध्यापन गर्दै आएकाहरु सर्वेक्षणमा सहभागी थिए। इलाम, सुनसरीको इटहरी र सिरहाको लहानबाट नागरिक समाजका सदस्य, बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारी संलग्न थिए नागरिक सर्वेक्षणमा।

सर्वेक्षण विधि

एनआरबीले २०७२ सालमा विभिन्न पाँच क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने नागरिक को–को हुन् भन्ने जानकारी लिन विभिन्न कलेजमा अध्ययनरत विद्यार्थी, बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारी, नागरिक समाजका अगुवाबाट उनीहरूको धारणा संकलन गरेको हो। एनआरबीले तयार गरेको सर्वेक्षण फारम नेपाल रिपब्लिक मिडियामा आबद्ध काठमाडौं र जिल्लास्थित सञ्चारकर्मीले भरेका हुन्।

सर्वेक्षणमा भाग लिनेहरूले सोधिएका पाँच प्रश्नको जवाफमा आफूखुसी भरेका नामलाई सुरुमा एक्सएलमा प्लट गरी, एसपिएसएस सप्टवेयरको प्रयोग गरेर तथ्यांकहरूको विश्लेषण गरिएको हो। सर्वेक्षणमा भाग लिनेले आफूलाई लागेका पाँच जना महत्वपूर्ण व्यक्तिको नाम लेख्नुपर्ने व्यवस्था गरिएको थियो। 


प्रकाशित: १० वैशाख २०७३ २०:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App