१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

महरा भर्सेस पोख्रेल: चुनौतीमा दुवै ‘हेभिवेट’

२०७४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा चुनावी सहकार्य गरेर दाङ–२ बाट भिडेका माओवादी नेता कृष्णबहादुर महरा र एमाले नेता शंकर पोख्रेल आगामी निर्वाचनमा यसै क्षेत्रमा एक अर्का विरुद्ध उभिने सम्भावना देखिएको छ। यी दुवै हेभिवेट नेताले आफ्नो रोजाईमा दाङ २ लाई पारेका छन्। 

केहि दिन अघि जिल्ला आएका एमाले महासचिव पोख्रेलले आफू दाङ २ मा लड्नका लागि मात्रै उम्मेदवार नबनेको नभई जित्नका लागि उम्मेदवार बन्ने बताइसकेका छन्।‘म लड्नका लागि मात्रै हैन,जित्नका लागि उम्मेदवार बन्ने हो,’ पोख्रेलले भनेका थिए। उनको यो भनाइले दाङ २ मा एमालेका उम्मेदवार रहेको पुष्टि गरिसकेको छ।

माओवादीका उपाध्यक्ष महराको नाम प्रतिनिधिसभा निर्वाचनका लागि ३ वटा क्षेत्रबाट सिफारिस भएको छ। रोल्पा, दाङ १ र दाङ २ बा ट उम्मेदवार सिफारिसमा परेका महराको रोजाई भने आफ्नो पुरानै निर्वाचन क्षेत्र दाङ २ नै परेको छ। 

‘साथीहरुले मेरो नाम रोल्पा, दाङ १ र दाङ २ बाट सिफारीस गर्नु भएको छ’, महराले केहि दिन अघि नागरिकसँग भनेका थिए ‘मलाई विभिन्न स्थानबाट सिफारिस गर्नु साथीहरुले मलाई गरेको मायाँ हो।’ तथापी यसअघि निर्वाचनमा जित निकालेको दाङ २ नै आफ्नो प्राथमिकतामा रहेको उनले बताएका थिए। ‘म चुनाव लड्छु र दाङ २ बाटै लड्छु,’ उनले भनेका थिए ‘यो मेरो मनसायको कुरा भयो,तर पार्टीको निर्णय के हुन्छ ? त्यसमा पनि भर पर्छ।’

महराका अनुसार दाङ २ गठबन्धनका तर्फबाट माओवादीको भागमा परेको छ। दाङ १ नेकपा एकीकृत समाजवादी,२ मा माओवादी र ३ नम्बर क्षेत्रमा कांग्रेसलाई भागमा पार्ने निर्णय भइसकेको महराले बताएका थिए। दाङ २ माओवादीको मागमा परेको खण्डमा यो क्षेत्रका गठबन्धनका उम्मेदवार महरा निर्विकल्प हुनेछन्।  

प्रतिनिधिसभाका पूर्व सभामुख महरा र लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री पोख्रेल भिड्न सक्ने यो क्षेत्रमा यी दुवै हेभिवेटका लागि सहज जितको पूर्वानुमान भने गर्न सकिने अवस्था छैन। यी दुवै नेताहरुबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ।  

अघिल्लो निर्वाचनमा माओवादीसंगको चुनावी तालमेलको बलमा प्रदेशसभामा सहज जित निकालेका पोख्रेललाई अहिले एकल रुपमा ५ दलीय संयुक्त शक्तिसँग जुध्नु पर्नेछ। फलतः आगामी निर्वाचन पोख्रेलका लागि ठूलो चुनौती बन्न सक्ने छ।  

अघिल्लो निर्वाचनको दोस्रो शक्ति कांग्रेस,त्यो बेला तालमेल गरेको माओवादी, आफ्नो पार्टीबाट अलग भएको शक्ति नेकपा एकीकृत समाजवादीको संयुक्त शक्ति विरुद्ध एकल रुपमा उभिनु पर्ने हुन्छ। यस अलावा अघिल्लो निर्वाचनमा फराकिलो मतान्तरले यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जीत निकालेका महरा पोख्रेलका ठूलै चुनौती बन्ने छन्।  

तथापी गत स्थानीय तह निर्वाचनमा यो क्षेत्रको घोराही उपमहानगरमा एकल जित निकालेको एमालेलाई अब पनि जित निकाल्ने शाहस भने चुलिएको छ। ‘दाङ २ मा हामी निर्वाचित हुन्छौँ, स्थानीय तहको मत परिणामले पनि हाम्रो अबको निर्वाचनमा जित्ने आधार तय गरिदिएको छ,’ एमाले जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतले भने ‘त्यो योगफललाई बढाएर सहज जित निकाल्नका लागि हामी सक्षम हुने छौँ।’ तथापी वडा तहबाटै जीत विहिन बनेको यसै क्षेत्रको बंगलाचुली गाउँपालिकाको जनमतलाई आफ्नो पकडमा पार्न पोख्रेललाई चुनौती छ।    

यता अघिल्लो जीतलाई पुनः दोहोर्याउने रणनीतिमा रहने माओवादी उपाध्यक्ष महराका लागि पनि आगामी निर्वाचन चुनौती बन्ने देखिन्छ। यो क्षेत्रको घोराही उपमहानगरमा गठबन्धनका तर्फबाट मेयर पदका उम्मेदवार हेमराज शर्माको फराकिलो हार महराका लागि ठूलो चुनौतीका रुपमा खडा भईदियो। 

गठबन्धन कायम रहेकै बेला यो क्षेत्रको ठूलो हिस्सा घोराही उपमहानगरमा गुमेको जनमत  आगामी निर्वाचनमा कसरी फर्काउने भन्ने चुनौतीमा महरा हुनेछन्। यसका साथै कांग्रेस र माओवादीको गठबन्धनले ‘क्लिन स्वीप’ गरेको बंगलाचुलीको जनमतलाई जोगाई राख्ने चुनौती पनि महराका सामु रहने छ। कारण – यहाँको जनमतलाई ‘क्यास’ गर्न ठूलै शक्ति खर्चने एमाले रणनीतिलाई महराले बुझेका छन्। ‘हामी बंगलाचुलीको जनमतलाई बाहिर जान दिन्नौँ,’ नागरिकसँगको भेटमा महराले भनेका थिए ‘तथापी हाम्रा लागि चुनौती भनेको यो गाउँपालिकाको जनमत हो, यसलाई जोगाईराख्नु पर्छ।’

तथापी गठबन्धनले स्थानीय तहको निर्वाचनमा आफ्नो जनमत जोगाउन सके महराको जित हुन सक्ने लख यो क्षेत्रमा काट्न सकिने ठाउँ भने छ। 

गठबन्धन र एमालेले निकै चासोका साथ हेरेको जिल्लाको २ नम्बर क्षेत्रको वडागत स्थानीय तहमा प्राप्त मत गठबन्धनको भन्दा एमालेको कमै छ। तर यहाँको मतान्तर भने खासै ठूलो देखिन्न। यो क्षेत्रका वडाहरुमा गठबन्धन भन्दा एमाले झण्डै तीन हजार मतको अन्तरले मात्रै पछाडि देखिएको छ। 

स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा प्राप्त वडागत मत गठबन्धनको ३६ हजार १ सय ४६ छ भने एमालेको ३३ हजार ५ सय ९३ छ।  

यो क्षेत्रको घोराही उपमहानगरका १ नम्बर क्षेत्रमा पर्ने १,२,३ र ५ वडा बाहेक १५ वटा वडाको प्राप्त मत गठबन्धनको २४ हजार ५ सय ४८ छ भने एमालेको २३ हजार ९ सय ८६ छ। यसैगरी २ नम्बर क्षेत्रमा पर्ने तुलसीपुरका १६,१७,१८ र १९ नम्बर गरि ४ वडा वडाको मत गठबन्धनको पक्षमा ५ हजार ३५ र एमालेको पक्षमा ६ हजार २५ देखियो। यसैगरी यो क्षेत्रको बंगलाचुली गाउँपालिकाका कुल ८ वडामा प्राप्त मत गठबन्धनको पक्षमा ६ हजार ५ सय ६३ र एमालेको पक्षमा ३ हजार ५ सय ८३ रह्यो।

प्रकाशित: २ आश्विन २०७९ १०:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App