१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

जबरामाथिको महाअभियोग प्रस्तावको प्रतिवेदन संसद सचिवालयमा पेश गर्न नसकिने एमालेको अडान

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग प्रस्तावको प्रतिवेदन संसद सचिवालयमा भोली (शनिबार) नै पेश गर्न नसकिने अडान राखेको छ।

जबरामाथि लगाइएको महाअभियोगको पुष्टि हुने कागजात हिजो भदौं ३० गतेमात्रै महाअभियोग सिफारिस समितिले सम्बन्धित निकायसँग मगाएको उल्लेख गर्दै त्यसको अध्ययन नगरी सो प्रतिवेदनलाई संसद सचिवालयमा दर्ता गराउन नसकिने कार्य दलका सदस्य समेत रहेका एमाले सांसद कृष्णभक्त पोखरेलले बताए।

शुक्रबार बसेको समितिको बैठकलगत्तै उनले सञ्चारकर्मीहरुमाझ जबराको सम्पत्ति छानवीनको काम, अदालतमा गरिएको विवादित फैसलाको विषय, सर्वोच्च अदालतको भवन निर्माण ठेक्का प्रकरणको विषयमा विस्तृत अध्ययन गरेर मात्रै सो प्रतिवेदन तयार गर्न सकिने स्पष्ट पारे।

सांसद पोखरेलले भने, ‘हामीले हिजो मात्रै केही कागजातहरु प्रमाणका लागि मगाएका छौं। अब ती तथ्यहरु आउनु पर्‍यो नि। सम्पत्ति शुद्धिकरणमा उहाँको सम्पत्ति छानविन हुँदैछ। कति सम्पत्ति रहेछ? प्रधानन्यायाधीश भएपछि अकूत सम्पत्ति कमाएको कुराहरु आएका छन्। त्यसको पनि अध्ययन गर्नु पर्‍यो। त्यसैगरी केही फैसलाका विवादहरु आएका छन्। सर्वोच्च अदालतको भवन निर्माणको ५ अर्ब भन्दा बढीको ठेक्का फाइल पनि मगाइएको छौं। ती अध्ययन गरेर मात्रै अघि बढ्न सकिन्छ।’

यता, सत्तारुढ नेपाली काँग्रेसका सांसद मिनबहादुर विश्वकर्माले सो प्रतिवेदनलाई भोली (शनिबार)सम्म पूर्णता दिइ संसद सचिवालयमा दर्ता गर्ने बताए। उनले जबरामाथिको महाअभियोगबारे करिब ५ हप्ता छलफल भएको उल्लेख गर्दै अब त्यसलाई संसद सचिवालयमा दर्ता गराउन सकिने बताए। सांसद विश्वकर्माले भने, ‘निष्कर्ष, निर्णय र सुझाव खण्डलाई हामी भोली बिहानसम्म तयार गर्छौं र प्रतिवेदनलाई पूर्णता दिइ भोली नै संसद सचिवालयमा दर्ता गर्र्छौ। संसदमा भोली नै छलफल गर्ने सम्भावना भने देखिएन।’

सांसद विश्वकर्माले महाअभियोग लागेका प्रधानन्यायाधीश जबराले भने आफूमाथिको छानविनलाई लम्ब्याउने प्रयास गरिरहेको आरोप लगाए।

प्रकाशित: ३१ भाद्र २०७९ १३:३० शुक्रबार

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा