१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेशीय रोगको रोकथाममा सबैको प्रयास आवश्यक छः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताइन्। 

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन) को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज उद्घाटन गर्दै उनले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताइन्।

'यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु', उनले भनिन्। राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत  गर्न आवश्यक रहेको बताइन्।

उनले सम्म्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि आवश्यक उपायको  खोजी गर्ने कार्यमा सफल हुुने छ भन्ने विश्वास लिएको बताइन्।

राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिइन्।

'यसमा हामीले उल्लेखनीय सफलतासमेत हासिल गरेका छौँ। अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गर्न नेपाल सफल भएको छ', उनले भनिन्।, 'डब्लुएचओले सन् २०१८ मा यसलाई प्रमाणीकरणसमेत गरिसकेको छ।' नेपाल विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटौँ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा पहिलो देशका रूपमा रहेको कुरा राख्न पाउँदा सन्तोष लागेको बताइन्। 

'यी सबै प्रयास सफल हुनुको पछाडि नेपाल सरकारले अवलम्बन गरेको उपयुक्त जनस्वास्थ्यसम्बन्धी नीति, रणनीति, कार्यक्रम र एकीकृत अभियानका साथै तिनको कार्यान्वयनका लागि आवश्यक स्रोत र साधनको समुचित परिचालन, विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाका साथ दातृ निकायसँगको निरन्तरको सहकार्यको योगदान रहेको छ', उनले भनिन्।  

उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भए पनि हामीसामु अझै पनि थुप्रै चुनौती विद्यमान रहेको उनको भनाइ छ। राष्ट्रपति भण्डारीले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि थप सशक्तीकरण गर्दै सबै नेपालीमा उपेक्षित उष्ण प्रदेशीय रोगसँग सम्बन्धित सेवा पुर्‍याउने प्रयासमा आइपर्ने अवरोधलाई हटाउन सकिन्छ भन्ने आफूलाई लागेको बताइन्।  

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताइन्। उनले पाँच वर्षमुनिका शिशु मृत्युदरमा कमी आएको बताइन्। उनका अनुसार सन् २००५ मा एक हजार शिशुमा ६१ जना मृत्यु हुने गरेकोमा सन् २०१८ मा घटेर ३८ जना पुगेको छ।  

उनले ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाबाट समुदायमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइरहेको बताइन्। उनले प्रत्येक जिल्लामा स्वास्थ्य केन्द्र एवं प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाले हरेक वर्गले स्वास्थ्य सेवा पाइरहेको धारणा राखिन्। मन्त्री खापुङले सबैमा स्वास्थ्य सेवा पहुँच पुगेको हुनाले कोरोना भाइरसविरुद्धको खोप कूल जनसङ्ख्याको ८७ प्रतिशतले आंशिक र पूर्णरूपमा  लगाएको जानकारी दिइन्। उनले ग्रामीण समुदायको स्वास्थ्य सेवा अझै धेरै गर्नु आवश्यक रहेको बताउइन्।

प्रकाशित: २८ भाद्र २०७९ १३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App