२३ भाद्र २०८१ आइतबार
image/svg+xml
राजनीति

‘नेपालमा प्रभाव बढाउन उच्चस्तरीय भ्रमण’

चिनियाँ जनकंग्रेसका अध्यक्ष ली आज आउँदै

चिनियाँ कम्युनिस्ट पार्टीका तेस्रो बरियताका नेता एवं राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली झान्सु तीन दिवसीय भ्रमणका लागि सोमबार काठमाडौं आउँदै छन्।

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा आउन लागेका उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्नेछन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नेछन्।

पछिल्लो ६ महिनाको अवधिमा नेपालमा चिनियाँ राष्ट्रिय जनकंग्रेसका प्रमुखसहित तीन उच्चस्तरीय भ्रमण चीनबाट भएका छन्। चिनियाँ पक्षले नेपाल भ्रमणका क्रममा सरकारी उच्चाधिकारीसहित वामपन्थी दलका शीर्ष नेताहरूसँगको भेटलाई पनि महत्व दिएका छन्। दुई महिनाअघि असार २६ गते नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जिन्चाओले सरकारी उच्चपदस्थ अधिकारीहरूसँग भेटवार्ता गर्नुका साथै वामपन्थी दलका शीर्ष नेतासँग घन्टौं छलफल गरेका थिए। त्यसअघि चैत ११ मा नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले पनि वामपन्थी राजनीतिक दलका नेतासँगको भेटलाई प्राथमिकता दिएका थिए।

चीन नजिकको छिमेकी हुँदाहुँदै पनि कुनै बेला नेपालमा उसको भूमिका शून्यजस्तै थियो। चीनले अरूको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन र चासोसमेत राख्दैन भन्ने गरिन्थ्यो। नेपालमा हुने हरेक राजनीतिक घटनाक्रमलाई भारतीय भूमिकासँग जोडेर हेर्ने गरिन्थ्यो। तर पछिल्ला घटनाक्रमले नेपालमा भारतको भूमिका गौण र चीनको भूमिका प्रभावकारी देखिन थालेको छ। नेपालको बाँकी विश्वसँगको सम्पर्क र सम्बन्धबारेसमेत चीनले चासो र प्रतिक्रिया जनाउन थालेको छ। पछिल्ला उच्चस्तरीय भ्रमण पनि त्यसैको निरन्तरता भएको जानकार बताउँछन्।

चीनका लागि नेपालका पूर्वराजदूत राजेश्वर आचार्य पछिल्लो समय नेपालमा अमेरिकी गतिविधि बढिरहेको र नेपाल सरकारले चीनलाई विश्वासमा लिन नसकेको अवस्थामा उसले पनि आफ्नो प्रभाव बढाउन एकपछि अर्को गर्दै उच्चस्तरीय भ्रमण गरेको हुन सक्ने बताउँछन्। विशेषगरी तत्कालीन माओवादी केन्द्र र एमाले मिलेर बनेको नेकपा विघटनसँगै मुलुकमा कम्युनिस्ट प्रभाव कमजोर हुँदै गइरहेको र वर्तमान सरकार पश्चिमा शक्तिप्रति अनुकूल हुँदै गएको चिनियाँ बुझाइ भएकाले नेपालमा उसको चासो थप बढिरहेको आचार्य बताउँछन्।

‘पहिलो कुरा नेपालले चीनलाई विश्वासमा लिन सकेको देखिँदैन। परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणबाट पनि चीन विश्वस्त हुन सकेको देखिँदैन। चीनको बिआरआईलगायतका परियोजनामा पनि नेपाल सरकार गम्भीर देखिँदैन। अर्कातर्फ नेपालबाट अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पास भएपछि चीन थप सशंकित देखिन्छ’, आचार्यले भने। पछिल्लो समय चीन उसको राष्ट्रिय सुरक्षामा नेपाली भूमिबाट कुनै किसिमको जोखिम हुने हो कि भनेर सचेत छ। यस्तो बेला चीनले नेपालमा निर्वाचनबाट आफूअनुकूल वामपन्थी दललाई सत्तामा ल्याउँदा सहज हुने बुझेकाले पनि उच्चस्तरीय भ्रमण भइरहेको उनी बताउँछन्। वर्तमान सरकार बनेपछि हुम्लामा सीमा विवाद उठाउनेदेखि संसद्बाट एमसिसी अनुमोदनसम्मका काम भएका छन्। अमेरिकाबाट पनि निरन्तर उच्च अधिकारीहरूको भ्रमण भइरहेको छ। अमेरिकी अधिकारीले काठमाडौंस्थित तिब्बती शिविरको समेत भ्रमण गरेका छन्।

एकपछि अर्को गरी यस्ता गतिविधि बढ्दै गएपछि चीन नेपाल सरकारसँग विश्वस्त हुन नसकेको जानकार बताउँछन्। नेपालले ‘एक चीन नीति’ प्रति प्रतिबद्धता जनाए पनि व्यवहारमा चीनको चासो प्रतिकूलका गतिविधि भइरहेको भन्दै उसले कूटनीतिक माध्यमबाट असन्तुष्टिसमेत जनाउने गरेको छ।

चीनले नेपालसँग कुनै सीमा विवाद नभएको दाबी गर्दै आएको छ। केपी ओली नेतृत्वको पूर्ववर्ती सरकारले चीनको दाबीलाई अनुमोदन गर्दै दुई देशबीच कुनै सीमा विवाद नभएको जनाएको थियो। नेपालबाट स्वतन्त्र तिब्बतसम्बन्धी गतिविधि नहोस् भन्ने चिनियाँ चाहनाविपरीत केही समयअघि नेपाल भ्रमणमा आएका एक उच्च अमेरिकी अधिकारीले काठमाडौंस्थित तिब्बती शिविरको भ्रमण गरेका थिए। नेपालबाट एमसिसी पनि अनुमोदन नहोस् भन्ने चिनियाँ चाहना थियो; जुन पूरा हुन सकेन। यसरी आफ्नो स्वार्थप्रतिकूलका गतिविधि बढ्दै गएपछि चीनले नेपालमा आफ्नो प्रभाव र चासो थप बढाउँदै लगेको र पछिल्ला उच्चस्तरीय भ्रमण त्यसैको उपज भएको जानकार बताउँछन्।

प्रकाशित: २७ भाद्र २०७९ ००:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App