१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बारा कांग्रेसमा दुई गुटबाट छुट्टाछुट्टै नाम सिफारिस

मंसिर ४ गते गर्न भनिएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा उम्मेदवार छनौटको लागि काँग्रेसका दुई गुटले जिल्लाबाट छुट्टाछुट्टै नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन्।

निर्वाचनको मुखमा एमाले, माओवादी केन्द्र, जनता समाजवादी लगाएतका पार्टीका कार्यकर्ताहरु आफनो पार्टीका उम्मेदवारलाई बिजयी बनाउन अहिले देखि लागे पनि काँग्रेस बारामा अहिले देखिएको गुटबन्दीले टिकट पाउने उम्मेदवारलाई निर्वाचित बन्न समस्या हुने अवस्था आएको छ।

नेपाली काँग्रेसका दुई सह–महामन्त्रीहरु रहेको बारामा एक गुटको नेतृत्व सहमहामन्त्री फरमुल्लाह मंसुरले गरेका छन भने अर्को गुटको नेतृत्व अर्का सह–महमन्त्री  उमाकान्त चौधरीले गरेका छन्।

मन्त्री चौधरीले जिल्ला पार्टी सभापति राजेश राय यादवलाई हाथमा लिएर आफू खुसी उम्मेदवारको नाम सिफारिस गराएका छन् भने पूर्वमन्त्री समेत रहेका मंसुरले उप सभापति मनोज भट्ट, सचिवद्धय भैयाराम यादव, राजेश रौनियारलाई हाथमा लिएर उम्मेदवारहरुको अर्को नाम सिफारिस गराएका बताइएको छ।

खानेपानी मन्त्री एवम् बारा क्षेत्र नं. १ का सांसद समेत रहेका चौधरी पक्षका नेताले गरेको सिफारिसमा जिल्ला सभापति यादवले हस्तारक्षर गरेका छन् भने मंसुर पक्षका नेताले गरेको सिफारिसमा जिल्ला सचिवद्धय भैयाराम यादव र राजेश रौनियारले हस्तारक्षर गरेका छन्।

मंसुर पक्षका जिल्ला पदाधिकारीले भदौ १९ गते सिफारिस गरेका छन् भने र चौधरी पक्षका जिल्ला पदाधिकारीले भदौ २० गते विज्ञप्तीमार्फत नामावली सार्वजनिक गरेका छन्। निर्वाचन क्षेत्र नम्बर १ मा मंसुर पक्षका पदाधिकारीले शम्भुबहादुर बुढाथोकी, विजयशंकर यादव र शैलेन्द्रकुमार फौजदारको नाम सिफारिस गर्दा चौधरी पक्षबाट मन्त्री चौधरीको नाम एकल सिफारिस गरिएको छ।

निर्वाचन क्षेत्र नम्बर २ मा मंसुर पक्षबाट रामअयोध्याप्रसाद यादव र चौधरी पक्षबाट राधेचन्द्र यादवको नाम सिफारिस भएको छ। यस्तै निर्वाचन क्षेत्र नम्बर ३ बाट पूर्वमन्त्री मंसुरको नाम दुवै पक्षबाट सिफारिस भएको छ। मंसुर पक्षका पदाधिकारीले गरेको सिफारिसमा मंसुरसहित रामानन्दप्रसाद यादव र प्रभातकुमार चौरसियाको नाम सिफारिस भएको छ भने चौधरी पक्षबाट मन्सुरको मात्रै नाम सिफारिस गरिएको जिल्ला सचिव भैयाराम यादवले बताएका छन।

यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा मंसुर पक्षबाट लालबाबु सिंह भूमिहार, ईच्छाबहादुर वाग्ले, कृष्णव्रत सिंह, कपिलदेव प्रसाद यादव र राजेश्वर चौरसियाको नाम सिफारिस भएको छ भने चौधरी समुहबाट डा. शोभाकर पराजुली, सुनिलकुमार गुप्ता कलवार, लालबाबु सिंह भूमिहार, इच्छाबहादुर वाग्ले र राजेश्वर प्रसाद चौरसियाको नाम सिफारिस भएको यादवले बताए।

जनताको साथमा नेपाली काँग्रेस अभियानको लागि केन्द्रीय प्रतिनिधी बनेर बारा आएका रमेश रिजालले दुई गुटलाई मिलाउन प्रयास गरे पनि सभापति राजेश राय यादवले नै एकलौटी हिडेर पार्टी भित्र बिवाद गराउने काम गरेको जिल्ला सचिव भैयाराम यादवले आरोप लगाए। केन्द्रीय सदस्य समेत रहेका रमेश रिजालसँग गुट अन्तय गर्नको लागि सभापतिले  एउटा कुरा गर्ने बाहिर अर्कै काम गर्ने कार्यले हामीले पनि बाध्य भएर टिकटको लागि नाम सिफारिस गरेको यादवले बताए।

नेपला प्रेस यूनियन बाराका अध्यक्ष श्यामबाबु यादवले अहिले नेपाली काँग्रेस बारामा देखिएको बिवादले आउने निर्वाचनमा काँग्रेस पार्टीको टिकटबाट चुनाव लडने कुनै पनि उम्मेदवारलाई निर्वाचित नहुने अवस्था बारामा आएको गुनासो गरेका छन्। जिल्लामा गुट बनाएर पार्टीलाई कमजोर बनाउने कार्य गर्नेलाई समयमै कारवाही गर्न जरुरी समेत देखिएको अध्यक्ष यादवले बताए।

प्रकाशित: २६ भाद्र २०७९ ११:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App