९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

औपचारिकतामै सीमित कांग्रेस अभियान

फाइल तस्बिर

मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गरेर नेपाली कांग्रेसले भदौ १० गतेदेखि सञ्चालन गरेको १५ दिने अभियान शुक्रबार सम्पन्न भएको छ। जनतालाई आफ्ना कुरा सुनाउने र जनताका कुरा सुन्ने भन्दै सुरु गरिएको अभियान औपचारिकतामै सीमित बन्न पुगेको छ। नेताहरूको ध्यान जनताको कुरा सुन्नेभन्दा पनि निर्वाचनमा कसरी उम्मेदवार बन्ने भन्नेतिर केन्द्रित हुँदा कांग्रेस अभियान औपचारिकतामै सीमित बन्न पुगेको हो।  

पार्टीका कार्यक्रम र अजेन्डा लिएर जनतामाझ जानुपर्ने कांग्रेसका जिल्ला र प्रदेश तहका नेताहरू यसबीचको अधिकांश समय केन्द्रीय कार्यालयको निर्देशनअनुसार प्रदेश र प्रतिनिधिसभामा आआफ्ना जिल्ला र क्षेत्रबाट प्रत्यक्ष र समानुपातिकको नाम सिफारिसमै केन्द्रित बने। आआफ्ना तहबाट नाम सिफारिस भएपछि जिल्ला तहका धैरैजसो नेताहरू केन्द्रीय नेता मिलाउन काठमाडौंमा सक्रिय छन्। जिल्ला तहका प्रभावशाली नेता राजधानीमै केन्द्रित भएपछि धादिङ कांग्रेससहित कतिपय जिल्ला र क्षेत्रीय समितिले अभियानको समापन कार्यक्रम पनि काठमाडौंमै गरे।  

कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि धेरैजसो जिल्लामै नपुगेको र गएका पनि सदरमुकामबाटै फर्किएको भन्दै यसपटक कम्तीमा पाँच दिन तोकिएको ठाउँमा बस्नुपर्ने भनेको थियो। केन्द्रीय प्रतिनिधिलाई निर्वाचन क्षेत्रका कार्यक्रममा सहभागी हुनुका साथै गठबन्धनमा रहेका दलहरूबीच जिल्लामा समन्वय र सहकार्यको स्थिति मूल्यांकन गरी सहजीकरण गर्न पनि भनिएको थियो।  

जनतामाझ जान सञ्चालित अभियान काठमाडौंमा हुँदा पनि पार्टीका पदाधिकारी र केन्द्रीय प्रतिनिधिहरू प्र्रमुख अतिथि बन्दै आएका छन्। उपसभापति धनराज गुरुङसहितका नेताहरू विभिन्न जिल्लाले काठमाडौंमा आयोजना गरेका कार्यक्रममा सहभागी भए। उपसभापति गुरुङ धादिङ कांग्रेसले काठमाडौंको नयाँ बजारमा आयोजना गरेको समापन कार्यक्रममा सामेल भए। महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सुन्दरीजलमा आयोजित कार्यक्रममा सहभागी भए। प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा चितवन र नेता रामचन्द्र पौडेल तनहुँ पुगेर अभियानको समापन कार्यक्रममा सहभागी भए।

निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले ‘जनताका साथमा कांग्रेस’ नाम दिएर तीन चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। कांग्रेसले पहिलो चरणमा भदौ १० देखि २४ गते (बिपी जयन्ती) सम्म, दोस्रो चरणमा समानुपातिक उम्मेदवारी दर्तापछि र तेस्रो तथा निर्णायक चरणमा प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि जनताको घरदैलोमा जाने निर्णय गरेको थियो।  

अभियानका क्रममा टोल कार्यसमितिकै ब्यानरमा कम्तीमा एउटा राजनीतिक, सामाजिक, मतदाता संवाद, विकास संवाद, युवा संवाद, महिला संवाद, दलित समुदाय संवाद कार्यक्रम गर्न कांग्रेसले निर्देशन दिएको थियो।  

प्रकाशित: २५ भाद्र २०७९ ०१:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App