१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

गठबन्धनभित्रका दलले हैसियत भन्दा बढी सिट खोजेः पूर्वमन्त्री गिरी

कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी।

नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक गिरीले गठबन्धनमा रहेका दलले हैसियत भन्दा बढी सिट खोजिरहेको बताएका छन्। गठबन्धन दलले हैसियत भन्दा बढी सिट खोज्दा मिलाउन झमेला भइरहेको उनले प्रष्ट्याए।

१०९औं विपी जयन्ती तथा ‘जनताको साथमा काँग्रेस अभियान’ समापन कार्यक्रमलाई शुक्रबार नेपालगन्जमा सम्बोधन गर्दै केन्द्रीय सदस्य गिरीले ठूलो पार्टी भएको नाताले उम्मेदवारको आकांक्षी धेरै हुनु स्वभाविक भएको बताए।

पार्टीको केन्द्रीय समिति बैठकले गठबन्धन गर्ने निर्णय गरिसकेकाले गठबन्धनका विरुद्ध धेरै बोल्न आवश्यक नरहेको बताए। ‘पार्टीको केन्द्रीय समिति बैठकले गठबन्धन गर्ने निर्णय गरिसकेको छ, तर गठबन्धन ठूलो हेडेकका रुपमा रहेको छ,’ उनले भने।

गठबन्धनका कारण पार्टीभित्र ठूलो झमेला उत्पन्न भइरहेको पूर्वमन्त्री गिरीले सुनाए। काँग्रेस कार्यकर्ताले पार्टीको निर्णयलाई मान्ने विश्वास गर्दै उनले थपे, ‘कुनै बेला मेरो घरमा पनि बम पड्काएका हुन्, तर पनि मैले विगतका सबै कुरालाई बिर्सेको छु, राजनीति भनेकै यही हो, विगतलाई बिर्सिनुपर्छ।’

काँग्रेस बलियो हुँदा पनि गठबन्धनका कारण सबै दललाई मिलाएर जानुपर्ने अवस्था रहेको बताए। गठबन्धन दलबीच सिट बाँडफाँटको परिणाम चाडै आउने उनले सुनाए।‘ गठबन्धनको रिजल्ट चाडै आउँदैछ, रिजल्टलाई काँग्रेस कार्यकर्ताले मान्नुपर्छ,’ उनले भने।

अर्का केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य मैकुलाल बाल्मिकीले गठबन्धन गर्दा पार्टीको अवस्थालाई पनि विशेष ख्याल गर्न जरुरी रहेको बताए। काँग्रेस कार्यकर्ता एकतावद्ध नहुँदासम्म गठबन्धन भएपनि कठिन हुने उनको भनाइ छ।

काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेलले गठबन्धन गर्दा पार्टीको हैसियत अनुसार गर्न केन्द्रीय नेतृत्वलाई आग्रह गरे। ‘नत्र रिजल्ट उल्टो आउन सक्छ, हामी पार्टीको निर्णयलाई मान्छौ। केन्द्रले गरेको निर्णय हामी कार्यान्वन गर्छौ,’ उनले भने। काँग्रेसको नेतृत्वले एक मुठी माटो हातमा लिएर निर्णय गर्नुपर्ने सभापति गौडेलले सुझाव दिए।

आफूहरु नेतृत्वमा आएपछि पटक पटक चुनावको तयारी गर्नु परेका कारण जिल्लामा संगठन बनाउन नसकेको उनले स्वीकार गरे। ‘हामी संगठन बनाउन आएका हौँ,  नेपाली काँग्रेस बनाउन आएका हौँ,’ गौडेलले भने।

सो क्रममा संविधान सभा सदस्य बादशाह कुर्मी, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, काँग्रेस बाँकेकी निवर्तमान सभापति किरण कोइराला, महासमिति सदस्य तथा बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही, महासमिति सदस्य चिन्तामणि धिताल, क्षेत्र नम्बर १ का सभापति पोषणराज केसी, क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, जिल्ला उपसभापति गोपालप्रसाद अधिकारी लगायतले पनि बोलेका थिए।

प्रकाशित: २४ भाद्र २०७९ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App